बालेनको चुरोट बेच्न नदिने निर्णयप्रति उद्योगीको कटाक्ष, ‘लाइसेन्स खारेज गर्देउ, टन्टै साफ’

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 13, 2023 | 04:17:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार बिहान ७ बजेको समयमा थापाथलीस्थित प्रसुती गृह पछाडी गाडामा व्यवसाय गर्दै आएका एक जना सामान्य मान्छेले हामीलाई भने, ‘आजबाट चुरोट बेच्न नपाइने रे, चुरोट नबेच्ने हो भने चिया पसल चल्दैन, मेयर बालेनले गरिखान नदिने भए ।’ उनको यो बिलौना सुनिरहेका केही युवाहरु भन्दै थिए, ‘बनाउन पाइने, खान पनि पाइने तर, बेच्न चाहिँ नपाइने यो कस्तो नियम हो ?’

बर्दिबासबाट काठमाडौँ आएर यतै सामान्य गुजाराका लागि गाडामा पसल चलाइरहेका ति व्यक्तिले बालेन निर्दयी बनिदिँदा कयौँ गरिबहरुको रोजीरोटी खोसिएको बताउँदै थिए । फुटपाथ व्यवसायीले दैनिक करोडको कारोबार गर्ने भए पनि मेयर बालेन शाहले कुनै विकल्प बिना फुटपाथ हटाउँदा त्यसको गम्भीर असर सहकारीहरुमा देखिएको पनि उनले सुनाए ।

‘कुनैले २० हजार, कुनैले ५० हजार, अलि ठूलाले १ लाखको सामान ल्याएका हुन्थे, सुन्धारादेखि काठमाडौँ मल अगाडीबाट न्यूरोड गेट र रत्नपार्कसम्म सयौँ त्यस्ता मान्छेले साँझ परेपछि ८/९ बजेसम्म व्यवसाय गर्थे, त्यसैबाट उनीहरुको बिहान बेलुकाको छाक टरेको थियो’ चिया पिउँदै गरेका हामीसँग ति व्यक्ति भन्दै थिए, ‘मकै पोल्नेहरुलाई गरिखान नदिने, गाडा हटाउने, अब हुँदाहुँदा चिया पसलमा चुरोट पनि बेच्न नपाइने रे । गरिबहरुमाथि नै यस्तो ज्यादती किन होला ?’

यत्तिकैमा नजिकै ब्याडमिन्टन खेलिरहेकाहरु पनि त्यहाँ आए । उनै वृद्धले आफूले गिलास पखाल्न ल्याएको पानी दिए, ब्याडमिन्टन खेलिसकेर चिया पिउन आएका उनीहरुले यसो हात पखाले । अनि भने, ‘हामीलाई ४ वटा चिया र ४ वटा सूर्य चुरोट दिनु ल बा ।’ उनले हुन्छ भन्ने इशारामा मुन्टो हल्लाउँदै उनीहरुसँग पनि बिलौना गरे, ‘अब चुरोट बेच्न नपाइने रे, आज दिउँसो राजु पाण्डे (महानगर प्रहरी प्रमुख) फौज लिएर आउने होलान्, यसो हाम्रो कुरा पनि सुनिदिए हुन्थ्यो, आउनासाथ सबै सामान उठाएर त लैजाँदैनन् होला नि ?’ यसपछि ति युवाहरुले भने, ‘फ्याक्ट्री बन्द गराए मात्रै हो, नत्र बालेनको यो निर्णय धेरै दिन टिक्नेवाला छैन ।’

लाइसेन्स नै खारेज गरिदेउ, टन्टै साफः उद्योगी व्यवसायी

चुरोट, गुट्खा बिक्रिमा बन्देज लगाउने महानगरपालिकाको निर्णयका सम्बन्धमा उद्योगी व्यवसायीले पनि असन्तुष्टि जनाएका छन् । उद्योगलाई उत्पादन गर्न दिने तर, बजारमा बिक्रि हुन नदिने खेलले उद्योगी व्यवसायीलाई लगानीका लागि निरुत्साहित गर्ने नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका उपाध्यक्ष नवलकिशोर चौधरी बताउँछन् । 

उनले भने, ‘उद्योगलाई उत्पादन गर्न दिने बिक्रि गर्न चाहिँ नदिने, यो के गर्न खोजिएको हो ? बारम्बार विभिन्न कुरा झिकेर अवरोध गर्नुको सट्टा बरु चुरोट गुट्खा उद्योगको लाइसेन्स नै खारेज गरिदिए हुन्छ ।’

उनले उत्पादन अनुमति पाइने, आयात पनि खुला रहने तर उपभोक्ताको माग हुँदाहुँदै पनि बिक्रि गर्न बन्देज लगाइने कुराले अन्ततः देशलाई नै घाटा पर्ने बताए ।

‘अहिले वैदेशिक लगानी आइरहेको छैन, भएका लगानी पनि फिर्ता गइरहेका छन्, यस्तो अवस्थामा अब चुरोटमा भएको लगानी पनि फिर्ता लैजाउ भन्न खोजिएको हो कि ?’ चौधरीले प्रश्न गर्दै भने, ‘देशको सबैभन्दा बढी कर तिर्ने उद्योग चुरोट उद्योग छ, अब यसैको ब्यापार नहुने भएपछि उसको उत्पादन घट्ने नश्चित छ, उत्पादन घटेपछि राजस्व पनि घट्छ । अनि सरकारले कर कहाँबाट पाउँछ ?’

उनले चुरोटको उपभोग विगत वर्षहरुको तुलनामा ३४.१ प्रतिशतले घटेकाले अब महानगरले नै बिक्रिमा बन्देज लगाएपछि थप घट्ने बताए । नाङ्लामा दुइ चार प्याकेट चुरोट राखेर व्यवसाय गरिरहेका र फुटपाथमा व्यवसाय गर्दै आएकाहरुलाई हटाएर महानगरले उनीहरुको पेटमा लात हान्ने काम गरेको भन्दै उनले देशकै सबैभन्दा ठूलो र सम्पन्न महानगरको यो रवैयाको सिको अन्य स्थानीय तहले पनि गर्ने चिन्ता थपिएको बताए ।

‘हामी सडकमा उत्रिएर विरोध गर्न सक्दैनौँ, उद्योगी व्यवसायीको स्वभाव पनि त्यस्तो हुँदैन’ उपाध्यक्ष चौधरीले भने, ‘देशकै ठूलो र सुविधा सम्पन्न महानगरले गर्ने निर्णयहरु अन्य स्थानीय तहले पनि सिको गरेर देशैभरी यस्तै निर्णय हुँदै जाने हुन् कि चिन्ता छ । हामीले यस्तो नहोस् भनेर अनुरोध मात्रै गर्न सक्छौँ ।’

कानुन बमोजिम नै प्रतिबन्ध : काठमाडौँ महानगर 

काठमाडौँ महानगरपालिकाले भने कानुन बमोजिम नै चुरोट प्रतिबन्ध गरेको जनाएको छ। महानगरका सूचना अधिकारी नवीन मानन्धरका अनुसार काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ र सुर्तिजन्य पदार्थ (निरुपण र नियमन) ऐन २०६८ को दफा ११ अनुसार चुरोट प्रतिबन्ध गरिएको हो ।

उनका अनुसार जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, शहरी सौन्दर्यता कायम राख्न, र भूमी तथा वातावरणीय असर न्यूनिकरण गर्न यो निर्णय गरिएको हो। उनका अनुसार कानुन बमोजिम नै सुर्ति सेवनको निमित बनाइएका कच्चा सुर्ति, खैनी, गुट्टका, सुर्ति वा यस्तै प्रकारका सुर्तिजन्य पदार्थ प्रतिबन्ध गरिएको हो । त्यस्तै सार्वजनिक स्थलको एक सय मिटर वरीपरी बेच्न र सेवन गर्ने प्रतिबन्ध गरिएको उनले बताए ।

मानन्धरका अनुसार अब सबै पसलमा अनुगमन हुने र सुर्तिजन्य पदार्थ पाइएमा दुइ पटकसम्म जफत गरिने तेस्रो पटक पाइएमा पसल बन्द गरिने छ । त्यस्तै धुम्रपान गरेमा सार्वजनिक स्थलबाट निकालिने र एक सय रुपैंयासम्म जरिवाना गरिने उनले बताए । सार्वजनिक स्थलको एक सय मिटर वरिपरी वितरण गरेको पाइएमा जफत गरी बन्द गरिने उनले उल्लेख गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved