विदेशी सम्बन्धन प्राप्त कलेजको अवैध धन्दा: पैसा बाहिर पठाउने, हुण्डीबाट आफैं ल्याउने खाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2022 | 10:36:24 AM मा प्रकाशित

विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा ८६ वटा कलेजले विद्यार्थी पढाइरहेका छन् । शिक्षा मन्त्रालयको आधिकारिक तथ्यांकअनुसार २०७७ माघदेखि हालसम्म औपचारिक रुपमा डेढ अर्ब सम्बन्धनकै नाममा बाहिरिएको छ । तर अवैध रूपमा त्यसको दशौँ गुणा बढी कारोबार हुने गरेको तथ्य फेला परेको छ ।

शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखाले जनाएअनुसार विदेशमा रहेका विश्वविद्यालयले नेपाललाई सम्बन्धन दिएका कलेजलाई ओरिजिनल इन्भ्वाइस (बिल) पठाउनुपर्छ । प्रत्येक विद्यार्थीका नाममा उनीहरूले बिल पठाउनुपर्ने प्रावधानविपरित थर्ड पार्टी संरचना खडा गरेर कारोबार हुँदै आइरहेको छ ।

'ती विश्वविद्यालयले प्रक्रिया पूरा गरेर नै इन्भ्वाइस पठाएका हुन्छन् तर सिधै कलेजमा आउँदैन,' मन्त्रालयका एक उच्च अधिकारीले भने, 'कतिपय कलेजहरूको आफ्नै एजेन्ट कम्पनी छ । सो कम्पनीमार्फत यहाँबाट भुक्तानी हुन्छ । विदेश लैजानुपर्ने भन्दा कैयौं गुणा बढी पैसा यहाँबाट एजेन्ट कम्पनीले लैजान्छ ।'

यसअघि: 
नेपाल मै बसेर विदेशी शिक्षा मोह: सम्बन्धन कै नाममा बाहिरियो डेढ अर्ब विदेशी मुद्रा

मन्त्रीलाई ‘शुभलाभ’ हुने गरी यसरी फेरिन्छ विदेशी सम्बन्धन प्राप्त कलेजका मापदण्ड

उनले २०७७ माघदेखि हालसम्म डेढ अर्ब बाहिरिएको तथ्यांक कलेजमा आएको ओरिजिनल इन्भ्वाइसको मात्र रहेको बताए ।

'त्यसको दशौँ गुणा पैसा बाहिरिएको छ, एजेन्ट कम्पनीका नाममा,' ती अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बिजपाटीलाई भने ।

विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाली कलेजहरूले विदेश पैसा पठाउन पाँच मापदण्ड पूरा गरेको हुनुपर्छ । पहिलो हो, नेपालमा कलेज संचालन गर्न अनुमति लिनुपर्ने । दोस्रो, सम्बन्धित विदेशी विश्वविद्यालयले विद्यार्थीकै नाममा ओरिजिनल इन्भ्वाइस पठाउनुपर्ने । तेस्रो, नेपालमा संचालित कलेजले करचुक्ता प्रमाणपत्र देखाउनुपर्ने । चौथो, अडिट रिपोर्ट अद्यावधिक भएको हुनुपर्ने । त्यसपछि विदेशी विश्वविद्यालयबाट आएको सक्कली इन्भ्वाइसमा उल्लेखित रकमको ५ प्रतिशत राजश्व बुझाएको हुनुपर्ने ।

सातामा १० हजार डलर भन्दा कमको इन्भ्वाइस आएको भए मन्त्रालयले सोझै विदेशी विश्वविद्यालयको खातामा पैसा राख्ने अनुमति दिन्छ । त्यो भन्दा बढीको इन्भ्वाइस आएको छ भने मन्त्रालयले राष्ट्र बैंकलाई सिफारिस गर्ने गरेको छ ।

कलेजका तर्फबाट पैसा बाहिर लैजाने प्रयोजनका निम्ति खडा गरिएका एजेन्ट कम्पनीहरूले विश्वविद्यालयले मागेको भन्दा कैयौं गुणा बढी रकमको फाइल शिक्षा मन्त्रालयमा पुर्याउने गरेका छन् । शिक्षा मन्त्रालयले आँखा चिम्लेर राष्ट्र बैंक समक्ष पैसा बाहिर पठाउन सिफारिस गर्छ ।

विदेशी मुद्रा अपचलन भएकोबारे गत २०७६ मै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले उक्त उजुरीको छानबिन गर्ने क्रममा शिक्षा मन्त्रालयसँग सहयोग मागेको थियो । मन्त्रालयले नेपालबाट अवैध रूपमा मुद्रा ओसारपसार भएको बारे छानबिन गर्न तत्काल एउटा समिति बनाएको थियो ।

२०७७ मा उक्त समितिले शिक्षा मन्त्रालयलाई प्रतिवेदन त बुझायो तर अहिलेसम्म त्यसलाई गुपचुप राखिएको छ ।

गोप्य स्रोतका अनुसार प्रतिवेदनमा ६ वटा कलेजले गरेको अवैध धन्दाबारे उल्लेख गरिएको छ । तीमध्ये ब्रिटिस कलेजले आफ्नै एजेन्ट कम्पनी खोलेर राखेको छ । 'स्टुडेन्ट फि कलेक्सन सर्भिस लिमिटेड'मार्फत ब्रिटिश कलेजले सम्बन्धित विश्वविद्यालयलाई विदेशी मुद्रा पठाउने गरेको प्रतिवेदनमा उल्लेख छ

रोचक कुरा के भने बेलायतमै रहेको स्टुडेन्ट फी कलेक्सनका संचालक र नेपालका ब्रिटिश कलेजका संचालक एउटै व्यक्ति हुन्, राजेन्द्र कँडेल । उनले आफ्नो एजेन्सीमार्फत कति पैसा विदेश लगे भन्ने जानकारी यतिबेला न शिक्षा मन्त्रालयमै छ, न राष्ट्र बैंकमै छ । उनले पैसा मुद्रा अपचलनकै निम्ति नेपालमा कलेज खोलेको जस्तो देखिएको प्रतिवेदनमा उल्लेख छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved