प्रदेश राजधानीको `बासी एजेण्डा´ लाई तगारो हाल्ने प्रधानमन्त्री देउवा

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Nov 02, 2022 | 12:30:52 PM मा प्रकाशित

laxmi  sunrise bank
झलक दवाडी 

 ‘भौतिक पूर्वाधारको तयारीपछि प्रदेश राजधानी डडेलधुरामा हुन्छ,’ गत स्थानीय निर्वाचनमा डडेलधुरामा आयोजित सार्वजनिक सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका थिए।, ‘स्थानीय चुनावमा कांग्रेसलाई जिताउनुहोस्, राजधानी सार्नका लागि म प्रयत्न गर्छु ।’ देउवाले सुदूरपश्चिम प्रदेश राजधानी डडेलधुरामा राख्न नसकेको भन्दै स्थानीय तह निर्वाचनमा विपक्षीले प्रमुख मुद्दा बनाएपछि देउवाले यस्तो आश्वासन दिएका थिए ।

स्थानीय निर्वाचन सकियो । डडेलधुराका सातमध्ये पाँच पालिका बहुमतसहित कांग्रेसले जित्यो । दुई पालिका गठबन्धनको अर्को दल माओवादीले जित्यो । प्रदेश र संघको निर्वाचन सुरु भएसँगै डडेलधुरा, कैलाली र डोटी तीन जिल्लामा राजधानीको मुद्दा पेचिलो बन्ने देखिएको छ । ६ वर्षअघि डोटीमा प्रदेश राजधानी हुनुपर्छ भनेर लागिपरेका कांग्रेस प्रदेश अध्यक्ष वीरबहादुर बलायर अहिले कैलाली–४ वाट प्रतिनिधिसभामा उम्मेदवार छन् । अहिले उनको बोली फेरिएको छ । उनले प्रदेश राजधानी कैलालीको गोदावरीमै हुनुपर्ने मत राख्न थालेका छन् ।

प्रदेशसभाले तोकेको गोदावरीको तेघरी जंगलमा राजधानी बनाउन प्रदेश सरकारले कुनै पहल गरेन । ५ वर्षसम्म निरन्तर सत्ताको नेतृत्व गरेको माओवादी अहिले पनि गठबन्धनको दोस्रो प्रमुख दल हो तर राजधानीको भौतिक पूर्वाधार तयारीका लागि सरकारले सामान्य कामसमेत गर्न सकेको छैन । केन्द्र र प्रदेश दुवै ठाउँमा वाम गठबन्धनको सरकार हुँदा राजधानी घोषणा भएको कैलालीको गोदावरीस्थित जंगलको भोगाधिकारसमेत प्रदेश सरकारले पाउन सकेको थिएन ।

मुख्यमन्त्री त्रिलोचन भट्टले पटक–पटक केन्द्रको असहयोगका कारण राजधानीको भौतिक पूर्वाधार निर्माण सुरु गर्न नसकेको बताउँदै आएका छन् ।

नेकपाको सरकार हुँदा मन्त्री रहेका लेखराज भट्ट राजधानी भएको क्षेत्रका प्रतिनिधि हुन् । उनी अहिले कांग्रेसका बलायरसँग प्रतिस्पर्धामा छन् । भट्टले आफू निरन्तर शक्तिमा हुँदा राजधानी निर्माणमा प्रदेश सरकारलाई सहयोग नगरेको र बलायरले विगतमा डोटीमा राजधानी लैजान प्रयास गरेको आरोप लागेको छ । बलायर भन्छन्, ‘म डोटीबाट निर्वाचन लड्दा राजधानीका लागि लबिइङ गरेको तर आफू मन्त्री भएकै समयमा अस्थायी राजधानी कैलालीमा घोषणा भएको हो ।’ प्रदेश सरकारले कैलालीको गोदावरीमा राजधानी तोकेपछि अहिलेसम्म केही गर्न नसकेको बताउँदै उनले भने, ‘म निर्वाचित भए, केन्द्र र प्रदेशमा सरकार बन्यो भने ६ महिनाभित्र राजधानीको भौतिक पूर्वाधार निर्माण सुरु हुन्छ ।’

एमाले उम्मेदवार लेखराज भट्ट पनि राजधानी आफ्नै कारणले कैलालीको गोदावरीमा निर्णय भएको बताउँदै प्राविधिक कारणले मात्र भौतिक पूर्वाधार निर्माण सुरु हुन नसकेको बताउँदै आएका छन् । उता एकीकृत समाजवादीका नेता प्रेम आले डोटीबाट गठबन्धनका उम्मेदवार छन् । आले पनि डोटीमा प्रदेश राजधानी बन्नुपर्छ भनेर लबिइङ गर्नेमध्ये एक हुन् । उनी आफूले चुनाव जिते डोटीमै प्रदेश राजधानी ल्याउने वाचा मतदणतासामु गरिरहेका छन् । यसअघि कैलालीमा प्रदेश राजधानीको निर्णय हुँदा आले पनि सत्तामा थिए । पछि ओलीको मन्त्रिमण्डलमा उनी मन्त्री पनि भए । डोटीमा उनको मत प्रभावित गर्ने मुद्दा मात्र राजधानी हो भन्ने आरोप मतदाताको छ । एक जना स्थानीय बुद्धिजीवी भरत खड्का भन्छन्, ‘दुईतिहाइले निर्णय गरेको राजधानी आले, बलायर वा देउवाले कसरी फेर्न सक्छन्   सबै जनता झुक्याउने खेल मात्र हो ।’ उनका अनुसार अर्को निर्णय गर्न फेरि दुईतिहाइ प्रदेशसभा सदस्यले निर्णय गर्नुपर्ने हुन्छ ।

कैलाली र डोटीको निर्वाचनलाई मात्र होइन प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा पनि यो मुद्दाले निर्वाचनलाई प्रभावित पार्न सक्छ । कुनै समय देउवाका प्रिय पात्र कर्ण मल्ल अहिले बीपी कांग्रेसबाट देउवालाई चुनौती दिइरहेका छन् । उनले निरन्तर राजधानी डडेलधुरा बनाउन नसकेको, राजधानी डडेलधुरा बनाउँछु भन्दै जनतालाई झुक्याएको र गत निर्वाचनमा पनि मतदाता प्रभावित पार्न राजधानी डडेलधुरा बनाउँछु भन्दै झुट्टा आश्वासन दिँदै आएको आरोप देउवामाथि लगाउँदै आएका छन् । विपक्षी एमालेले पनि देउवाले डडेलधुरा राजधानी बनाउन गरेको वाचा जनतालाई झुक्याउन खोजेको आरोप लगाउँदै आएको छ ।

प्रदेशसभाको दुईतिहाइ मतले राजधानी कैलालीको गोदावरीमा घोषणा भएको हो । प्रदेश सरकारले पांँच वर्षसम्म राजधानी तोकिएको क्षेत्रको भोगाधिकारसमेत लिन सकेन । प्रदेश सरकारका एक मन्त्री भन्छन्, ‘मुख्यमन्त्री भट्टको आन्तरिक चाहना पनि डोटीमै राजधानी होस् भन्ने हो, त्यसैले भौतिक पूर्वाधार निर्माणमा उनले सामान्य चासो पनि दिएनन् ।’ राजधानी निर्माणको विषय औपचारिकतामा मात्र सीमित भएको ती मन्त्रीको धारणा छ । उनले भने, ‘केन्द्रमा वाम गठबन्धनको सरकार, प्रदेशमा गठबन्धनको सरकार हुँदा समन्वय हुन सकेन भन्नु जनता झुक्याउनु हो ।’

अहिलको वाम लोकतान्त्रिक गठबन्धनवाट प्रदेशमा निर्वाचन लडिरहेका मुख्यमन्त्रीका दाबेदारहरू पनि राजधानीका विषयमा बोल्न चाहँदैनन् । गठबन्धनबाट मुख्यमन्त्रीका प्रमुख दाबेदार देखिएका माओवादी केन्द्रका खगराज भट्ट, कांग्रेसका गोविन्द बोहरा डडेलधुराबाट चुनावी मैदानमा छन् भने कांग्रेसका रणबहादुर रावल कैलाली र बहादुर थापा कञ्चनपुरबाट चुनावी मैदानमा छन् । यी नेतामध्ये कसैले पनि राजधानीका विषयमा बोलेका छैनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved