डडेल्धुरामा शक्ति प्रदर्शन गर्न देउवाको निर्देशन , कार्यकर्ता ओसार्न ४५ गाडी परिचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2022 | 11:18:41 AM मा प्रकाशित

laxmi  sunrise bank
डडेल्धुरामा वाम-लोकतान्त्रिक गठबन्धनले आफ्नो शक्ति प्रदर्शन गर्ने भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रममा गठबन्धनले शक्ति प्रदर्शन गर्ने भएको हो।

गठबन्धनले आज दिउँसो साढे १२ बजे जिल्ला सदरमुकामको बसपार्कमा चुनावी आमसभा आयोजना गरेको छ। जसलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। शक्त प्रदर्शन गर्न गठबन्धनले गाउँगाउँबाट आफ्ना नेताकार्यकर्ता र समर्थकलाई जिल्ला सदरमुकाम ल्याउने भएको छ। मान्छेहरूलाई जिल्ला सदरमुकाममा उतार्न ४५ वटा गाडीको प्रयोग गर्ने भएको छ। सातै स्थानीय तहबाट आफ्ना नेताकार्यकर्ता र समर्थकका लागि गाडीको व्यवस्था मिलाइएको लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जनाएको छ।

प्रधानमन्त्री गृहजिल्ला आउने भएपछि डडेल्धुराको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। बिहानैदेखि ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ। देउवा चार दिन जिल्लाका विभिन्न चुनावी सभामा सहभागी हुने कार्यक्रम छ। देउवाले कात्तिक १८ गते बिहान नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र सोही दिनको दिउँसो गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जनाएको छ।

यसैगरी देउवाले १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने छन्। कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाममा तथा सोही दिन दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

देउवासँगै ती चुनावी आमसभालाई प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार खगराज भट्ट र प्रदेशसभा २ का उम्मेदवार गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने जनाइएको छ। देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन्। यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेल्धुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि विजयी भएका थिए।

२०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका उनी २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी अहिले पाँचपटक देशको प्रधानमन्त्री छन्। यसटकको चुनावमा देउवालाई पहिलोपटक कम्युनिस्ट पाटीले पनि साथ दिएका छन्।

अहिले देउवाविरुद्ध लामोसमय देउवाकै स्वकीय सचिव रहेका नेपाली कांग्रेस (बीपी) वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायतका ८ जना उमेदवार चुनावी मैदानमा छन्

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved