रवि लामिछाने लोकतन्त्रको सुन्दर फूल हो, उहाँप्रति उच्च सम्मान छ – कृष्णभक्त पोखरेल [भिडियो]

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2022 | 09:38:26 AM मा प्रकाशित

laxmi  sunrise bank

चितवन निर्वाचन क्षेत्र नम्बर २ का एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले लोकतन्त्र सुन्दर फूल फुलाउने चौतारी भएकाले रवि लामिछानेलाई पनि एउटा फूलका रूपमा चित्रण गरेका छन् ।

ग्राउण्ड जिरो रिपोर्टिङका लागि चितवनस्थित उनकै घरमा पुगेको बिजपाटी टीमसँग संक्षिप्त भिडियो कुराकानी गर्दै उनले आफ्ना प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई सुन्दर फूलको रूपमा चित्रण गरेका हुन् ।

'रविजी बाहिरबाट चितवन छानेर आउनुभएको छ, म स्वागत गर्छु उहाँलाई,' पोखरेलले भने, 'यो निर्वाचन क्षेत्रका जनताका सुख-दुखमा कति सामेल हुनुहुन्छ, त्यो भने जनताले नै बुझ्ने कुरा हो । लोकतन्त्रको फूलबारीमा धेरै फूलहरू फुल्न पाउँछन । उहाँ पनि एउटा सुन्दर फूलका रूपमा यहाँ आउनुभएको छ ।'

उनले आफूले विगतदेखि नै एउटा कानून व्यवसायीका रूपमा स्थानीय जनतालाई सहयोग गर्दै आइरहेको बताए । माओवादी जनयुद्धका बेलामा पनि धेरैलाई कानूनी सहयोग गरेकाले आफूलाई माओवादीको पनि भोट आउने उनको जिकिर छ ।

'माओवादी केन्द्रका जतिसुकै साथीहरू हुनुहुन्छ, उहाँहरूलाई युद्धकालदेखि नै मैले कानून व्यवसायीका रूपमा सहयोग गरिरहेको छु,' पोखरेलले भने, 'कांग्रेसका पनि राजनीतिक व्यक्तित्वहरूले पनि मलाई भोट हाल्नुहुन्छ भन्ने मलाई विश्वास छ ।'

उनले आफू यो संविधानको मस्यौदाकारका रूपमा काम गरेको र कानून, न्याय मानवाधिकार समितिको सभापतिको रूपमा कानून निर्माण गर्ने प्रक्रियामा सामेल हुँदा अल्पमत बहुमत होइन, सर्वसम्मत ढंगबाट काम गरेको दाबी गरे ।

उनले आफ्नो काम मूलतः नीति निर्माण क्षेत्रमै रहेको तर स्थानीय क्षेत्रको विकास निर्माणमा पनि आफू सामेल रहेको बताए ।

यसअघि दुई पटक सोही क्षेत्रबाट सांसद जितेका पोखरेल आफ्नो अनुभवकै कारण तेस्रोपटक बिजयी भएर काम गर्ने रहर रहेको उनले बताए । 'कतिपटकसम्म सांसद बन्ने भन्ने सन्दर्भ नै होइन । नेपाल वा विश्वमा कहीं कतै कतिपटक चुनाव कति लड्ने भन्ने हुन्न । दुई पटकको अनुभव भनेको अरू थप काम गर्न मजबुत हुन्छ,' उनले भने ।

उनले आफूसँग प्रतिस्पर्धा गर्ने सबैप्रति उच्च सम्मान रहेको बताए । 'जो जो साथीहरू उम्मेदवार बन्नुहुन्छ, उहाँहरू सबैप्रति उच्च सम्मान गर्न चाहन्छु,' उनले भने ।

उनले आफूलाई निर्वाचन जित्न कत्ति पनि कठिनाइ नभएको बताए । 'नेकपा एमाले देशभरिमा नै पहिलो पार्टी हो, त्यसमा पनि यो निर्वाचन क्षेत्रमा गठबन्धन सबै एकातिर र एमाले अर्कोतिर हुँदा पनि हाम्रो नै मत धेरै छ । जनतासँगको नियमित सम्बन्ध र अन्तरघुलन भएका कारण जित्न त्यति अप्ठेरो हुन्छ भन्ने मलाई लाग्दैन,' उनको दाबी छ ।

हेर्नुहोस् भिडियो - 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved