विनोद चौधरीको उम्मेदवारी राजनीति बिचौलियाको हातमा जान लागेको प्रमाण हो – हृदयेश त्रिपाठी [भिडियो]

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2022 | 11:21:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेको समर्थनसहित नवलपरासी क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका जनता प्रगतीशील पार्टीका नेता हृदयेश त्रिपाठीले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका विवादित डलर अरबपति विनोद चौधरीलाई राजनीतिक विचौलिया भएको आरोप लगाएका छन् ।

ग्राउण्ड जिरो रिपोर्टिङका क्रममा रहेको बिजपाटीको टीमसँग नवलपरासीस्थित आफ्नै निवासमा कुरा गर्दै उनले देशको अर्थतन्त्र विचौलियाको हातमा गइसकेको र राजनीति पनि विचौलियाको हातमा लैजाने प्रयासस्वरूप विनोद चौधरीले उम्मेदवारी दिएको बताएका हुन् ।  

'अर्थतन्त्र विचौलियाको हातमा गइसकेको मैले देखिरहेको छु,' उनले भने, 'मसँग अनगिन्ती प्रमाणहरू छन् । राजनीति पनि विचौलियाको हातमा जानालाग्यो भन्ने प्रमाण चौधरीको उम्मेदवारीले देखाएको छ । उहाँ एउटा उम्मेदवार त हो, नेता चाहिँ होइन । नेपालको कुनै पनि राजनीतिक आन्दोलन र विचारमा उहाँ कहिल्यै पनि अगाडि आउनुभएको छैन । उहाँ खालि एउटा संसद हो, एकपटक एमालेको तर्फबाट एकपटक कांग्रेसको तर्फबाट,' उनले भने ।

उनले सबैभन्दा धनाढ्य व्यक्तिसँग आफू देशभरिका राजनीतिक कार्यकर्ताको तर्फबाट चुनाव लडिरहेको दाबी गरे ।

'उहाँ नेता होइन, अझ भन्ने हो भने उहाँको अहिल्यैको संविधानका मूलभूत सिद्धान्तप्रति विमति रहेको तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा गोकर्ण रिसोर्टमा उहाँहरूको भेटघाट भएको र चौधरीले देश राजाको नेतृत्वमा विकसित हुने भन्दै बाइट दिएको न्यूजहरूमा पढ्न पाइएको थियो,' उनले थपे ।

उनले आफूलाई यो निर्वाचन लड्ने इच्छा नभएको तर चौधरीले उम्मेदवारी दिइसकेपछि आफूमाथि चुनाव लड्नैपर्ने बाध्यता सिर्जना भएको बताए ।

'इमान्दारीपूर्वक भन्ने हो भने मलाई यो निर्वाचन लड्ने इच्छा थिएन,' उनले भने, 'तर जब विनोद चौधरी आए मलाई दुई वटा धार्मिक संकट आइलाग्यो । एउटा चुनाव नलडे जनमानसमा म डराएँ अथवा मलाई उहाँले किन्नुभयो भनेर आरोप आउने, त्यो कलंकको टिका म लिन सकिन । दोस्रो यो निर्वाचन क्षेत्र त्यति पनि अचेतन होइन, धनी हो कि जो सुकै होस्, उसले जितेर छिटै गइहाल्छ भन्ने त्यो मनोविज्ञानलाई पनि चुनौती दिनका लागि यो उम्मेदवारी दिन बाध्य भएँ ।'

उनले नेपालको बैंकिङ नीति उद्योगमैत्री नरहेको आरोप लगाए । 'यो व्यापारमैत्री छ, उद्योगमैत्री छैन । एलसी खोल्नलाई बैंकहरू बढी प्रोत्साहित गर्छन्, उद्योगमा लगानी गर्दैनन् । मैले यो कुरा संसदमा पनि राखेको छु, क्याबिनेटमा पनि राखेको छु,' उनले भने ।

हेर्नुहोस् भिडियो -  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved