चुनाव स्थगित भएको बाजुरामा पुग्यो निर्वाचन आयोगको टोली, के हुन्छ अब ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2022 | 03:25:16 PM मा प्रकाशित

laxmi  sunrise bank

मंसिर ४ को निर्वाचनमा धाँधली भएको भन्दै सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारले उजुरी गरेपछि निर्वाचन आयोगको टोली बाजुरा पुगेको छ। जिल्लाको अवस्थाबारे अध्ययन गर्न निर्वाचन आयोगको टोली बाजुरा पुगेको हो। 

आयोगका सहसचिव तुलसी श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोली नेपाली सेनाको हेलिकप्टरमार्फत बाजुरा आएको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताए। मंसिर ४ गते चुनावमा एमाले र कांग्रेसले केही बुथ कब्जा गरेर एकलौटी मतदान गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी परेपछि त्यहाँ मतगणना सुरु हुन सकेको छैन्। कांग्रेसले १६ वटा बुथमा कब्जा गरेको एमालेको आरोप छ। एमालेले पनि ८ वटा बुथ कब्जा गरेको कांग्रेसले आरोप लगाएको छ।

बूढीगंगा नगरपालिका वडा १, २, ३ र ९, गौमुल गाउँपालिका १, बूढीनन्दा नगरपालिका ४ र १० तथा जगन्नाथ गाउँपालिका ५ को मतदान केन्द्र एमालेले कब्जा गरेको उजुरी परेको छ। त्रिवेणी नगरपालिका २, ३, ७ र ८ खप्तड छेडेदह गाउँपालिका २ र ४ बूढीगंगा नगरपालिका ४, ७ र ८ बूढीनन्दा नगरपालिका ७, ५ र ९ हिमाली गाउँपालिका ४, स्वामिकार्तिक खापर गाउँपालिका ३ र जगन्नाथ गाउँपालिका २ र ४ वडा गरी १६ मतदान केन्द्र कांग्रेसले कब्जा गरेको आरोप छ।

टोलीले यी स्थानमा के गर्ने भन्ने बारेमा अध्ययन गरी आयोगमा प्रतिवेदन बुझाउने छ। टोलीले राजनीतिक दल, चुनावमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलगायतसँग छलफल गर्ने भएको छ। बूढीनन्दा ५ मा ४ गते स्थगित भएको मतदान भने मंसिर १० मा हुने छ। मंसिर ४ गते एमाले र कांग्रेसबीच भएको झडपले मतदान स्थगित भएको थियो।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved