बाँचुन्जेल बाँच्ने सहारा हो सामाजिक सुरक्षा कोष: मन्त्री बिष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 09:51:34 PM मा प्रकाशित

श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले लाखौँ श्रमिकको जीवन जोखिममा राखेर समृद्धि कल्पना गर्न नसकिने बताएका छन। योगदानमा आधारित सामाजिक सुरक्षा कोष लाखौँ श्रमिकको हक हित र उनीहरुको सुरक्षित भविष्यका लागि ल्याइएको भन्दै मन्त्री बिष्टले कुनै पनि रोजगारदातालाई कोषमा नआउने छुट नभएको बताएका छन। 

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बिष्टले कोषमा आउनलाई पटक पटक म्याद थप गर्दा पनि कोषमा नआउने रोजगारदातालाई कारबाहीको चेतावनी समेत दिएका छन। मन्त्री बिष्टले कस्तो कारबाही हुन्छ भन्ने सन्दर्भमा केहि नबोलेपनि सम्भावित कारबाहीका बारेमा स्वयम् पत्रकारले खोजेर लेख्नुपर्ने समेत बताए। मन्त्री बिष्टले भने, 'कोषमा नआउने छुट कसैलाई छैन, नआउनेलाई कारबाही हुन्छ'।  

'डाक्टर इन्जिनियर मात्र नभई शारीरिक श्रम गर्ने श्रमिकको जीवन सुरक्षित गर्ने उदेश्यले योगदानमा आधारित सामाजिक सुरक्षा कोष आएको हो' मन्त्री बिष्टले भने, 'श्रमिकलाई तलब सुविधा दिनु नपर्दा काम लगाउनेहरु खुसि हुनु स्वाभाविक हो, तर अप्ठ्यारो र बिपतमा कसले साथ् दिन्छ भन्ने उत्तर खोज्नु पर्छ, त्यहि उत्तर नै सामाजिक सुरक्षा कोष हो।'

मन्त्री बिष्टले उदाहरण दिंदै भने, 'जीवनभर पत्रकारिता गर्नेहरु समेत उपचार खर्चका लागि अरुसमक्ष हात फैलाउन बाध्य भएको मैले देखेको छु, आपत बिपत जसलाई जहाँपनि पर्न सक्छ, बाँचुन्जेल बाच्ने सहारा कसले दिन्छ ? त्यसको उत्तर त चाहिन्छ, त्यहि उत्तर हो योगदानमा आधारित सामाजिक सुरक्षा कोष।'

सामाजिक सुरक्षा कोष आधारभुतरुपमा काम गरेर बाच्ने श्रमजीवि जनताहरु, श्रमिकहरुको सुरक्षाको लागि ल्याइएको कार्यक्रम भएको मन्त्री बिष्टले बताएका छन। लाखौँ श्रमिकको हित हुनेगरि ल्याइएको यो कार्यक्रम चुनौतिपूर्ण भएको भन्दै मन्त्री बिष्टले पचासौ लाख नेपाली श्रमिकलाई सुरक्षा प्रदान गर्ने जिम्मा सरकारको भएकोले कार्यन्वयनको विकल्प नभएको बताए। 

सरकारले २०७५ मङ्सिर ११ गते शुभारम्भ गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना २०७६ साउन १ देखि औपचारिक रुपमा कार्यन्वयनमा आएको हो। नेपालको सन्दर्भमा नयाँ योजना भएकाले पटक पटक म्याद थप गरि असोज मसान्तसम्मलाई रोजगारदाता कम्पनीहरुलाई कार्यक्रममा आउनलाई म्याद दिइएको थियो। यद्दपी सरकारले मङ्सिर १३ गतेसम्मलाई आबद्द हुनलाई म्याद थप गरेको छ। 

यो कार्यक्रम कार्यन्वयनमा आएको एक बर्षमा ८ हजार ८१८ रोजगारदाता आबद्द हुँदा १ लाख ९६८ योगदानकर्ता पुगेका छन। यसबाट कोषले ७ करोड ६५ लाख भन्दा बढी रकम संकलन गरेको कोषका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवालीले जानकारी दिएका छन।   

   


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved