कोरिया र इजरायलमा कामदार पठाउने निर्णय नभएको महासंघको स्पष्टिकरण, भ्रममा नपर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2022 | 01:36:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय नगरेको प्रष्टीकरण दिएको छ ।

बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले यसअघि कोरिया र इजरायलमा प्रशिक्षार्थी पठाउने भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका सूचना एवं समाचार सत्य नभएको बताएको हो ।

एक महिना अघि महासंघको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले बिजपाटीसँगै अन्य सञ्चारमाध्यमलाई पनि जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई बलियो बनाउन उनीहरुकै सिफारिसमा ६ सय जनालाई कोरिया र इजरायल पठाउन लागिएको दाबीसहित सूचना दिएका थिए ।

उनले दिएको सूचनाको आधारमा बिजपाटीले पनि '६ सय जनालाई कोरिया र इजरायल पठाउँदै महासंघ,मासिक ४ लाख कमाइ हुने' शीर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशन भएपछि सयौं पाठकले विदेश जान उत्साहित भएको भन्दै सहयोग गर्न अनुरोधसहितको प्रतिक्रिया दिएका थिए ।

तर महासंघको हिजोको विज्ञप्तिले सुमार्गीको दाबीलाई झुटो भन्दै खण्डन गरेको छ ।

यससम्बन्धमा बिजपाटीले झुटो दाबीसहितको समाचार महासंघकै पदाधिकारीबाट किन आयो भनी प्रश्न गरेको थियो । महासंघका एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बिजपाटीसँग भने, 'यसमा ठूलो आर्थिक चलखेल भएको हामीले पाएका छौं । महासंघले निर्णय नै नगरेको विषयलाई कसरी बाहिर ल्याइयो भन्ने विषयमा हामीले आन्तरिक अनुसन्धान अघि बढाएका छौं ।'

उनका अनुसार देशभरिका ७७ वटै जिल्लामा रहेका उद्योग वाणिज्य संघलाई बलियो बनाउने भन्दै प्रशिक्षार्थी कामदार विदेश पठाउने प्रस्ताव महासंघको कार्यसमितिमा आएको थियो । कोरियामा ५ सय र इजरायलमा १ सय गरी ६ सय कामदार पठाउने भन्दै प्रत्येक जिल्लाबाट ८ देखि १० जना छनोट गर्ने, उनीहरूबाट सेवा शुल्कबापत २ लाख ५० हजार लिने र त्यसको केही प्रतिशत रकम जिल्लास्थित संघलाई दिने प्रस्ताव महासंघमा आएपछि अधिकांश सदस्यले यसको विरोध गरेका थिए ।

महासंघमा यस्तो प्रस्ताव आएपछि विदेश जान इच्छा राख्ने कतिपयबाट १० देखि १२ लाखसम्म उठाउन थालिएको थियो । तर महासंघले औपचारिक रूपमा कुनै पनि निर्णय नगरिएको भन्दै स्पष्टिकरण दिएपछि कमाउ धन्दा बन्द भएको छ । महासंघको आगामी निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यका साथ यस्तो प्रस्ताव गरिएको उनको भनाइ छ ।

महासंघले कामदार विदेश पठाउनेबारे कुनै निर्णय नभएकाले यसबारे भ्रम हटाउन भन्दै निकालेको विज्ञप्तिको आधिकारिकता नदेखिएको सुमार्गी बताउँछन् ।

उनले बिजपाटीसँग भने, 'हामीले यसअघि पनि प्रशिक्षार्थी कामदार विदेश पठाएका छौं । अहिले जिल्लास्थित संघलाई आर्थिक रूपमा बलियो बनाउने गरी र प्रशिक्षार्थी कामदार विदेश पठाएर सीप सिक्ने गरी कार्यक्रम प्रस्ताव गर्दा त्यसउपर कुनै छलफल नगरी महासंघ विज्ञप्तिबाजीमा उत्रनु राम्रो होइन ।'

विज्ञप्तिमा हस्ताक्षर पनि नभएकाले आधिकारिकतामा शंका लागेको उनको भनाइ छ । 'प्रस्तावमा छलफल नै नगरी महासंघले बिना हस्ताक्षर निकालेको विज्ञप्तिको आधिकारिकता के हो ?' सुमार्गीले प्रश्न गरे ।


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved