अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्न सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2023 | 09:40:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सुरक्षा कोष र फेदीखोला गाउँपालिका बीच अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्झौता भएको छ । कोषले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनका लागि  सम्झौता गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष केवल प्रसाद भण्डारीको उपस्थितिमा सामाजिक सुरक्षा कोष र फेदीखोला गाउँपालिका बीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यक्रम सहित सम्झौता सम्पन्न भएको कोषले जनाएको छ।  औपचारिक क्षेत्रका निजी संगठित संस्थामा कार्यरत श्रमिकहरुका लागि सामाजिक सुरक्षा योजना र वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरु कार्यान्वयनमा रहेको सन्दर्भमा सम्झौता गरिएको कोषले उल्लेख गरेको छ 

कोषका अनुसार २०७९।०८।२५ मा स्विकृत अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९ बमोजिम अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको तर्फबाट गाउँपालिकाले नेपाल सरकारले तोकेको मासिक न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७% र सम्बन्धित श्रमिकको ११% गरी कुल २०.३७% रकम हाल एक हजार नौ सय बाह्र रुपैया मासिक रुपमा कोषमा योगदान गरी कोषबाट सञ्चालित विभिन्न योजनाहरुमा सहभागी हुने गरी सम्झौता सम्पन्न भएको छ। 

यसैगरी कार्यविधिमा स्वरोजगारमा रहेका व्यक्तिहरुले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३१% देखि सो को तीन गुणासम्म हाल न्यूनतम रु. दुर्इ हजार नौ सय नौ रुपैया पैँतिस पैसाका दरले अधिकतम यसको तीन गुणासम्म कोषमा योगदान गरी कार्यविधि बमोजिमको सुविधा उपभोग गर्न सक्ने व्यवस्था रहेको कोषले जनाएको छ। कार्यविधिले नियमित रुपमा योगदान गर्ने योगदानकर्ताहरुलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजनाहरु सञ्चालनमा ल्याएको छ। अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धि कोष र पालिका बीचको सम्झौताले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबैको लागि हुनेगरी व्यापकता प्राप्त गर्ने विश्वास लिएको कोषले जनाएको छ।

कार्यक्रममा फेदीखोला गाउँपालिकाले हाल निर्माण क्षेत्रमा कार्यरत ७१४ जना श्रमिकहरुलाई कोषमा आबद्ध गर्ने र कोषले कार्यविधि बमोजिमका सुविधाहरु प्रदान गर्नेगरी अघी बढेकोमा पालिकाका अध्यक्ष घनश्याम सुवेदी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले खुशी व्यक्त गरे । मन्त्रालयका सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष केवल प्रसाद भण्डारीले कोषलाई सामाजिक सुरक्षा कार्यक्रमको बिस्तार गरी आम नागरिक सम्म पुर्‍याउने गरी अगाडी बढ्न निर्देशन दिदै अनौपचारिक क्षेत्रको कार्यक्रमको बिस्तारका लागि सबै ७५३ वटा पालिकाहरुलाई आह्वान समेत गरे।

फेदीखोला गाउँपालिकाबाट प्रारम्भ भएको अनौपचारिक क्षेत्रको सामाजिक सुरक्षा योजनाका सम्बन्धमा भएको सम्झौता देश भरिका सम्पूर्ण पालिकाहरुमा बिस्तार भइ सम्पूर्ण अनौपचारिक क्षेत्रका श्रमिकहरु कोषमा आबद्ध हुने र कार्यविधि बमोजिमका सुविधाहरु प्राप्त गर्ने अवस्थाको सिर्जना गरिदिन स्थानीय सरकारका रहेका सम्पूर्ण पालिकाहरुलाई सामाजिक सुरक्षा कोषले अपिल गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved