अब एक घण्टा मै जारी हुनेछ श्रम स्वीकृति, २ सिफ्टमा काम गरेर यसरी भयो सम्भव

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Mar 27, 2024 | 07:17:14 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलले एक घण्टा भित्र श्रम स्वीकृति दिने व्यवस्था अबको एक दुई दिन मै सुरु हुने जनाएको छ। कार्यालय प्रमुख दिपक राज नेपालका अनुसार सम्पूर्ण तयारी पुरा हुने चरणमा रहेकोले अबको एक दुई दिन भित्रमा नै एक घण्टामा श्रम स्वीकृति जारी गरिने व्यवस्था सुरु हुनेछ।

 एक घण्टा भित्र श्रम स्वीकृति दिने व्यवस्थाको लागि कार्यालयले वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०७९ संशोधन गर्नु पर्ने जनाएको थियो ।  सोहि अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट कार्यविधिको केहि प्रावधान संशोधन गरिसकेकोकार्यालयका  प्रमुख दिपक राज नेपालले जानकारी दिएका छन् । 

उनका अनुसार अब अन्तिम चरणका केही प्राविधिक कार्य मात्र बाँकि छन्  । त्यसको लागि कर्मचारीहरुले २ सिफ्टमा गरेर काम गरिरहेको बताए । बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म पहिलो सिफ्ट र दिउँसो २ बजेदेखि रातको ९ बजेसम्म दोस्रो सिफ्टमा कर्मचारीहरुले काम गरिरहेको उनले उल्लेख गरे  । छिटो भन्दा छिटो एक घण्टा मै श्रम स्वीकृति जारी गर्ने कार्य सुरु गर्नको लागि गत साता देखि नै दुई सिफ्टमा काम थालिएको उनले जानकारी दिए  । 

दुई सिफ्टमा काम गरे पनि नयाँ कर्मचारी भने थप नगरिएको उनको भनाई छ । कार्यालयमा शाखा अधिकृत, नायब सुब्बा र कम्प्युटर अपरेटर गरेर ४० जना कर्मचारी रहेका छन् । जसमध्ये १० जना अधिकृत र बाँकि ३० जना सुब्बा तथा कम्प्युटर अपरेटर छन् । अफिसको काम गर्ने मुख्य कर्मचारी यिनै हुन् । अधिकृत माथि निर्देशकहरु रहे पनि श्रम स्वीकृति प्रकृयामा काम गर्ने भनेको मूख्य रुपमा अधिकृत, सुब्बा र कम्प्युटर अपरेटर हुन् । 

यस अघि श्रम स्वीकृति प्रदान गर्न करिब १० जना कर्मचारीलाई मात्र अख्तियारी थियो । अब भने २६ कर्मचारीले श्रम स्वीकृति प्रदान गर्ने अख्तियारी पाएका छन् । यस संगै श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियाले गति लिने विश्वास गरिएको छ । 

त्यस्तै अब श्रम स्वीकृति लिने प्रक्रियामा रहेको एउटा चरण हटाईने छ । यस अघि पहिलो चरणमा टोकन लिने र कागजात भेरिफाई गर्ने र दोस्रो चरणमा श्रम स्वीकृति लिने व्यवस्था थियो । अब एकै कर्मचारीले यी सब कार्य गरेर श्रम स्वीकृति जारी गर्ने छन् ।  

 श्रम स्वीकृति प्रक्रिया छिटो बनाउन सबैभन्दा महत्वपूर्ण  भूमिका सफ्टवेयरको हुन्छ । हाल वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को प्रयोग गरिरहेको छ । यो सिस्टममा बेला बेला समस्यमा आउने गरेको छ । श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्री डीपी अर्यालले यसबारे चासो समेत राखेका छन् । उनले यो सिस्टमलाई समस्या नआउने बनाउन निर्देशन दिएका छन् । उनले सिस्टममा समस्या नआउने बनाउन भेण्डर देखि प्रविधिक टिमसँग पनि छलफल गरिसकेका छन् । 

अहिले पनि फेमिस पूर्ण रुपमा समस्य नआउने अवस्थामा छैन । पिक आवरमा फेमिस स्लो हुने गरेको विभागका कर्मचारीहरुले बताउँदै आएका छन् । फेमिस स्लो हुने अवस्थाले गर्दा नै श्रम स्वीकृति प्रकृया नरोकियोस् भनेर  कार्यालयले २ सिफ्टमा श्रम स्वीकृति दिने कार्यालय प्रमुख नेपालले बताए । उनका अनुसार फेमिस स्लो हुने समय भनेको बिहान १० देखि दिउँसो ५ बजेसम्म हो । त्यसलाई छल्न बिहान ७ बजेदेखि नै स्वीकृतिको काम सुरु हुने र राति ९ बजेसम्म काम हुने उनको भनाई छ । 

यसैगरी, अहिले टोकन लिनेहरुको संख्या अनलिमिटेड गरिएको छ । अर्थात अहिले जतिले पनि टोकन लिन सक्छन् । पहिला भने दिनमा ८ सय जनाले टोकन लिने पाउने व्यवस्था थियो । अनलाईनबाट फर्म भरेको ३ दिनपछि मात्र टोकन पाउने व्यवस्था थियो । र टोकन पाएको ३ दिनपछि मात्र श्रम स्वीकृतिको पालो आउँथ्यो । अर्थात फर्म भरेर कागजातमा कुनै त्रुटी  नभएको खण्डमा पनि ६ दिनपछि मात्र श्रम स्वीकृति प्रदान हुन्थ्यो । तर, अब भने श्रमिकले फर्म भरेर समिट गरेको समय देखि १ घण्टामा नै स्वीकृति पाउँछन् । त्यसको म्यासेज मोबाईलमा नै आउँछ ।

अर्थात अब कुनै श्रमिकले श्रम स्वीकृतिका लागि रातको ८ बजे अनलाईनबाट फर्म भर्यो भने उसले भरेको फर्ममा कुनै त्रुटी  नभएको खण्डमा र फेमिस सफ्टवेयरमा कुनै समस्या नआएको खण्डमा एक घण्टा अर्थात रातको ९ बजेसम्म श्रम स्वीकृति जारी हुन्छ । 

 मन्त्री अर्यालले चैत ४ गते एक घण्टामा श्रम स्वीकृति दिने व्यवस्था गर्न निर्देशन दिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved