आर्थिक मन्दीको असरः दशैँ तिहारमै घुमफिरका गन्तव्य सुनसान हुने संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2023 | 05:24:15 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ र तिहारका बेला आन्तरिक घुमफिरको सिजन पनि हो । तर, यस वर्ष विगत वर्षहरुको तुलनामा घुमफिरका गन्तव्यमा चहल पहल कम छ भने बुकिङ पनि खासै छैन । पोखरा, चितवनको सौराहा र काठमाडौँ आसपास धुलिखेल र नगरकोट जस्ता गन्तव्यका होटलहरुमा विगत वर्षमा यो सिजनमा उच्च बुकिङ हुन्थ्यो । तर, यसपाली बुकिङ दर न्यून छ ।

व्यवसायीहरु दशैँमा राम्रै आन्तरिक पर्यटकको सेवाका लागि तयार थिए । तर, मानिसहरु आर्थिक मन्दीका कारण घमफिरमा निस्कने मनस्थितिमा नहुँदा होटल तथा पर्यटन व्यवसायीहरु निराश देखिएका छन् । 

चितवनस्थित सौराहा र पोखरास्थित लेकसाइडका होटल व्यवसायीहरु विगत वर्षको तुलनामा यो वर्ष बुकिङ निराशाजनक भएको गुनासो गर्छन् । अहिले विदेशी पर्यटक नेपाल घुम्न आउने सिजन भएपनि उनीहरु कि हिमाल आरोहणमा आएका छन्, कि पदयात्राका लागि आएका छन् । यसरी आउने पर्यटक ९÷१० दिन आफ्नो गन्तव्यमा पुगेर सिँधै आफ्नो देश फर्किने गरेकाले व्यवसायीहरुको आशा आन्तरिक पर्यटकमा थियो । तर, सिजनमै आन्तरिक घुमन्तेहरु पनि मन्दीका कारण यसवर्ष घुमफिरमा निस्कने अवस्था नभएपछि यसपाली बुकिङ कम भएको पोखराका एक जना होटल व्यवसायी बताउँछन् ।

यद्यपी, पोखरा आसपास भने अन्नपूर्ण क्षेत्रमा जाने पर्यटकको चहलपहल बाक्लो देखिएको छ । तर, यसवर्ष आन्तरिक पर्यटकहरु अपेक्षा अनुसार देखिन सम्भावना नरहेको व्यवसायीहरुको गुनासो छ ।

‘यो सिजन पोखरामा आन्तरिकको अकुपेन्सी ७० र विदेशीको ३० हुन्थ्यो, तर यसपाली त्यो ७० प्रतिशत हिस्सा खाली छ’ चितवनमा समेत होटल सञ्चालन गर्दै आएका पोखराका एक जना व्यवसायीले भने, ‘सौराहाको पनि अवस्था यहीँ छ ।’ 

काठमाडौँ नजिकैको धुलिखेल जीपलाइनमा पनि गत वर्षका दशैँताका मानिसहरुको चहलपहल बाक्लो थियो, अग्रिम बुकिङ गर्नेहरु पनि हुन्थे । तर यसपाली विगत वर्षका तुलनामा ५० प्रतिशत ग्राहक घटेको धुलिखेल जिपलाइनका सञ्चालक केदार थापा बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved