
नेपाल राष्ट्र बैंकले पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समुहको संयोजक पदको अन्तिम नतिजा सर्वजनिक गरेको छ । राष्ट्र बैंकले कम्पनीको व्यवस्थापन समुहको संयोजक पदमा रोशन कुमार अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनले २०८१ वैशाख २ गतेसम्म नियुक्ति लिन नआएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइने राष्ट्र बैंकले जनाएको छ। वैकल्पिक उम्मेदवारमा प्रकाश घिमिरे र गोबिन्द कुमार शर्मा रहेका छन् ।
नेपाल राष्ट्र बैंकको छनौट समितिले सर्टलिस्टमा परेका ५ जनाबाट आज अन्तिम नतिजा सर्वजनिक गरेको हो । प्रकाश घिमिरे, तारानाथ पाण्डे, पिताम्बर सापकोटा, रोशन कुमार अधिकारी र गोबिन्द प्रसाद शर्मा सर्ट लिस्टमा परेका थिए । उनीहरुले आफ्नो कार्ययोजना प्रस्तुतीकरण गरेपछि राष्ट्र बैंकले त्यसको आधारमा अन्तिम नतिजा सर्वजनिक गरेको हो ।
संयोजकको कार्य अवधि एक वर्षको हुने छ भने आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६ / ६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने छ । संयोजकले मासिक रु.१,२६,३००/- पारिश्रमिक पाउने छन् ।
राष्ट्र बैंकले फागुन १४ गते पहिलो पटक र चैत्र ७ गते दोस्रो पटक सूचना जारी गर्दै समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समुहको संयोजक पदको लागि दरखास्त आह्वान गरेको थियो । व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञले आवेदन दिन सक्ने व्यवस्था थियो।