किन तोक्न सकेन अर्थ मन्त्रालयले आर्थिक वृद्धिदरको लक्ष्य ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 11, 2021 | 03:00:51 PM मा प्रकाशित

laxmi  sunrise bank

माघ २७ गते मंगलबार अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समिक्षा गर्दा आर्थिक वृद्धिदर कति प्रतिशत हुन्छ भन्ने अंक राख्न सकेन । कोरोना भाइरसको कहरकै बीचमा गत जेठ १५ गते चालु आर्थिक वर्ष २०७७÷०७८ को बजेट भाषणमार्फत तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य उल्लेख गरेका थिए । तर, ६ महिनापछि भएको बजेटको समिक्षामा आर्थिक वृद्धिदर ‘औसत’ हुने भनियो ।

उता राष्ट्र बैंकले भने ‘औसत’ नभनी ‘न्युन’ हुने भन्ने गरेको छ । आर्थिक वर्षको ६ महिनासम्म आर्थिक वृद्धिदर पहिल्याउन नसकेको अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेटको तयारी थालिसकिएको दाबी गर्छ ।

औसत भनेको कति हो ?

अर्थ मन्त्रालयका प्रवक्ता डा. राम प्रसाद घिमिरे आर्थिक वृद्धिदर औसत हुने भनेको ठिकठिकै हुने भन्न खोजिएको बताउँछन् । उनले कोरोना भाइरसका कारण अर्थतन्त्र तहसनहस नै हुन्छ की भन्ने डर भएपनि अहिलेको आर्थिक क्रियाकलाप हेर्दा त्यस्तो नहुने देखिएकाले औसत शब्द प्रयोग गरिएको बताए ।

‘बजेटमा ७ प्रतिशतको लक्ष्य राखिएको थियो’ प्रवक्ता डा. घिमिरेले भने, ‘अपेक्षा बमोजिम त नपुग्ने नै देखियो, अहिले आर्थिक क्रियाकलाप बढेका छन्, राजश्व संकलन पनि शन्तोषजनक नै छ । त्यसैले औसत हुन्छ भनिएको हो ।’

गत चैतबाट नेपालमा कोरोनाका कारण आर्थिक गतिविधि प्रभावित भएका थिए । चालु आर्थिक वर्षको बजेट आउँदा (जेठ १५) मा पनि कोरोनाको महामारी नै थियो । माहामारीकै बीचमा आएको बजेटले किन ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राख्यो भन्ने जिज्ञासा त्यतिबेलै आएको थियो ।

‘आर्थिक वर्ष सुरु हुँदासम्म कोभिड सकिन्छ भन्ने अनुमान गरेर त्यतिबेला ७ प्रतिशतको लक्ष्य राखियो तर, अहिलेसम्म पनि कोरोना सकिएको छैन’ डा. घिमिरेले भने ।

अंक किन लेखिएन ?

अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समिक्षामा आर्थिक वृद्धिदरको लक्ष्य अंक नै तोकेर लेख्न नसक्नुमा तथ्यांक विभागलाई कारक मानेको छ । तथ्यांक विभागले आर्थिक वृद्धि कति हुन्छ भन्ने अध्ययन गर्ने भएकाले विभागले तथ्यांक नै नलिकालेका कारण बजेटको अर्धवार्षिक समिक्षामा अंक किटान गर्न नसकिएको अर्थका प्रवक्ता डा. घिमिरेले बताएका छन् । तथ्यांक विभागले तयार गर्दै गरेको र बजेटको तयारी सुरु गर्दासम्म आइसक्ने उनको भनाई छ ।

राष्ट्र बैंकले गरेको समिक्षामा पनि अंकको ठाउँमा न्युन भन्ने शब्दावली प्रयोग गरिएको थियो । यस विषयमा राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पनि तथ्यांक विभागले तथ्यांक दिन नसकेका कारण न्युन हुने लेखिएको बताएका छन् ।

तथ्यांक विभाग के भन्छ ?

तथ्यांक विभागले भने आफूले वर्षमा एकपटक मात्रै यस्तो अध्ययन गरेर तथ्यांक सार्वजनिक गर्ने गरेको बताएको छ । हरेक वर्षको फगुन अन्तिम वा चैत्र दोस्रो हप्तासम्म आर्थिक वृद्धिदर कति हुने भन्ने तथ्यांक सार्वजनिक हुने भएकाले बजेटको अर्धवार्षिक समिक्षामा आर्थिक वृद्धिदरको लक्ष्य समावेशका लागि अध्ययन गरिदिन कुनै अनुरोध नआएको विभागको दाबी छ ।

‘हामीले वर्षमा एक पटक मात्रै यस्तो तथ्यांक सार्वजनिक गर्छौ, प्राय चैततिर आउँछ’ तथ्यांक विभागका सूचना अधिकारी तिर्थराज चौलागाईले भने, ‘तथ्यांक विभागले नदिएका कारण बजेटको समिक्षामा आर्थिक वृद्धिदरको लक्ष्य लेख्न पाएनौँ भनेर उहाँहरुले के आधारले भन्नु भयो थाहा भएन । यसरी बीचमा त्यस्तो तथ्यांक आवश्यक पर्ने हुँदा अनुरोध आएको भए विभागले अध्ययन नगर्ने भन्ने कुरै हुँदैन ।’

यस्तो छ विश्व बैंकको प्रक्षेपण 

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । गत महिना ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट’ मा विश्व बैंकले नेपालको निर्यात र पर्यटन तत्काल पुरानै लयमा फर्कने सम्भावना अत्यन्त न्यून रहेको भन्दै यस वर्षका लागि ०.६ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।

आगामी वर्ष भने नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ । गत आ.व.मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा सीमित थियो । 

अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र एशियाली विकास बैंक (एडीबी) ले पनि नेपालको आर्थिक वृद्धिदरका बारेमा बेलाबेलामा अध्ययनमार्फत आफ्नो प्रक्षेपण सार्वजनिक गर्छन् । सामान्यतयाः विश्व बैंक र आईएमएफको प्रक्षेपण उस्तै उस्तै हुने गर्छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved