इँटा उद्योगीका पीडा, ‘ऋणको हिसाब गर्दै बसेका छौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2021 | 02:37:17 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग विभागले इँटालाई आत्मनिर्भर बस्तुको सूचीमा राखेको छ । तर, इँटा उद्योग भने धमाधम बन्द हुँदैछन् । कोरोना भाइरसका कारण मूलुक लकडाउनमा जाँदा उद्योगमा कार्यरत भारतीय कामदारहरु घर गए । अहिलेसम्म उनीहरुलाई ल्याउन नसक्दा ४० प्रतिशत इँटा उद्योग बन्द भएका हुन् ।

एक त निर्माणको काम सुस्त हुँदा बजारमा इँटाको माग छैन । सामान्य माग पनि उत्पादन गर्ने मजदूर नहुँदा पूर्ति गर्न सक्ने अवस्थामा उद्योगहरु छैनन् । माग पनि घट्दो क्रममा र कामदार पनि नहुँदा उद्योग सञ्चालनमा समस्या सिर्जना भएको उद्योगीहरु बताउँछन् । 

‘ऋणको लेखाजोखा छैन’

नेपालमा सञ्चालित इँटा उद्योगले कोभिड पश्चात ऋणको भार मात्रै बोक्नु परेको गुनासो गरेका छन् । नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकार अहिले आफूहरुलाई ऋणको हिसाब गर्नै गाह्रो भएका बताउँछन् । अर्बौ रुपैयाँ ऋण पुगिसकेको र यसवर्षको उत्पादन सिजन पनि अन्तिम चरणमा रहेकाले ऋणको भार थेग्नै नसक्ने अवस्था आउने देखिएको उनको भनाई छ ।

‘ऋण कति छ भन्न सकिने अवस्था नै छैन, दैनिक बढेको बढ्यै छ’ अध्यक्ष चित्रकार भन्छन्, ‘हाम्रो उद्योग भनेको यति नै उत्पादन हुन्छ र यति नै बिक्रि हुन्छ भन्न सक्ने खालको उद्योग होइन । मौसममा पनि भर पर्नुपर्छ, श्रमीकको काममा पनि भर पर्नुपर्छ ।’

भट्टामा इँटा पनि भएको र बजारबाट उठ्नुपर्ने पनि अब उठ्न बाँकी रहेका कारण सबै तिरको आश सकिएको अध्यक्ष चित्रकार बताउँछन् । 

गतवर्ष मनसुन चाँडै सुरु भएका कारण स्टकमा राख्ने गरी इँटा उत्पादन हुन सकेन । त्यसमाथि कोरोनाले गर्दा यसवर्ष पनि अवस्था यस्तै रहने हो की भन्ने डरले उद्योगीले भारतबाट कामदार ल्याउन चाहेनन् । त्यसैले घाटा खाएर चलाउन नसक्ने भएपछि हालसम्म ४० प्रतिशत इँटा उद्योग बन्द भएको अध्यक्ष चित्रकारको भनाई छ । उनका अनुसार अहिले चलिरहेका उद्योग पनि पूर्ण क्षमतामा चलेका छैनन् ।

२ लाख कामदार भारतीय

नेपालका इँटा उद्योगमा ३ लाख कामदार छन् । यीमध्ये २ लाख कामदार भारतीय छन् । भारतीय कामदारमा निर्भर हुनुपर्ने बाध्यता र त्यसमा पनि अनौपचारिक क्षेत्रका कामदार भएकाले समस्यै समस्या रहेको अध्यक्ष चित्रकारको गुनासो छ । 

‘२ लाख कामदार भारतीय छन्, यी मध्ये कोही आउन चाहेका छैनन्, कोही चाहेर पनि आउन पाएका छैनन्’ अध्यक्ष चित्रकार भन्छन्, ‘कात्तिक मंसिरमै कामदार व्यवस्थापन गर्न सकिएन भने उद्योग चलाउन सकिँदैन, यसपाली कामदारको जोहो गर्नै नसकिएकाले उद्योगहरु धमाधम बन्द हुँदैछन् ।’

माग ५० प्रतिशत मात्रै

नेपालमा वार्षिक ३ अर्ब वटा इँटा खपत हुने तथ्यांक थियो । तर अहिले यो माग ५० प्रतिशतमा खुम्चिएको छ । १ हजार ८ सय इँटा उद्योगमध्ये ४० प्रतिशत बन्द भएका छन् भने बाँकीले पनि जग्गा भाडा र कामदार पाल्नुबाहेक अर्को काम गर्न सकेका छैनन् । 

एएटा इँटा उद्योग सञ्चालन गर्न २ करोडदेखि १५ करोडसम्म लगानी गरेका उद्योगीहरुले अहिले निकै समस्या खेप्नुपरेको भन्दै सहुलियतपूर्ण कर्जा उपलब्ध हुनुपर्ने लगायत माग राखेका छन् । घरेलु तथा साना उद्योग महासंघले पनि यसमा पहल गरेको जनाएपनि उद्योगीहरुले भने नपाएको गुनासो गर्दै आएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved