बैंकमा धितो राखेको सम्पत्ति बेच्न पाइन्छ कि पाइँदैन ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 14, 2021 | 09:56:30 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकबाट कर्जा लिँदा धितो राख्नु अनिवार्य छ । घर तथा जग्गा धितो राखेपछि बैंक तथा तथा वित्तीय संस्थाहरुबाट ऋण पाइन्छ । धितो बन्धक राखेको सम्पत्ति फुकुवा नहुँदासम्म बेच्न पाइँदैन ।

धितो बन्धक राखेको भौतिक सम्पत्ती विशेष कारणबश बिक्री गर्नुपर्ने अवस्था आयो भने बेच्न पाइन्छ कि पाइँदैन ? यसबारे कर्जा लगानी गर्ने बैंकले ऋणीलाई स्पष्ट जानकारी नदिएको पाइन्छ । कारण देखाएर तोकिएका प्रक्रिया पूरा गरी धितो राखेको भौतिक सम्पत्ति बिक्रि गर्न पाउने भएपनि बैंकहरुले ऋणीलाई स्पष्ट नगरीदिँदा ऋणीहरु यसबारे जानकार हुँदैनन् । 

कसरी सकिन्छ बेच्न ?

बैंकबाट लिएको ऋण अग्रिम भुक्तानी गरेर जग्गा फुकुवा गरे पश्चात धितोमा राखेको जग्गा बिक्री गर्न पाइन्छ । घर कर्जा लिँदा बैंकमा धितो राखेको सम्पत्ति बेच्न सकिन्छ । यसो गर्नका लागि तोकिएका केही प्रक्रिया भने पुरा गर्नैपर्ने हुन्छ । 

‘यखि धितो बन्धक राखेको सम्पत्ति बिक्रि गर्नुपर्यो भने बैंकबाट लिएको ऋण अग्रिम रुपमा चुक्ता गर्नुपर्ने हुन्छ, किनकी धितो राखेको सम्पत्ति फुकुवा गर्न ऋण चुक्ता अनिवार्य हो’ रियलस्टेट व्यवसायी अरुण तामाङ भन्छन्, ‘ऋण लिँदा धितो राखेको सम्पत्ति बैंकले मालपोत कार्यालयमा गएर बन्धक गरेको हुन्छ, त्यस्तो सम्पत्ति फुकुवा नभइ बिक्री गर्न मिल्दैन ।’

ऋणको अग्रिम भुक्तानी गरेपछि बैंकले कर्मचारीलाई मालपोत कार्यालयमा पठाएर धितो बन्धक फुकुवा गराउँछ । अहिले जग्गा प्रशासनको काम अनलाइनबाटै हुने व्यवस्था पनि आईसकेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गा प्रशासनको कामलाई अनलाइन प्रविधिमार्फत गर्ने र गराउने उद्देश्यले भूमि सुधार र मालपोत कार्यालयहरुमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एआरआइएमएस), अभिलेख व्यवस्थापन प्रणाली (डीएमएस) तथा पब्लिक एक्सेस मोडल (पाम) कार्यान्वयन ल्याईसकेको छ ।

यसका लागि बैंकहरुलाई विभागले भू–सेवा केन्द्रको अनुमति लिन अनुरोध गरिसकेको छ । यदि अनलाइन प्रणाली लागू नभएका मालपोतबाट जग्गा प्रशासनको काम गर्नु परेको खण्डमा जग्गाधनी पनि बैंकको कर्मचारीसँग मालपोत जानुपर्छ । यसरी धितो बन्धक फुकुवा भएपछि मात्र बैंकले धितो राखेको सम्पत्तिको कागजात दिन्छ । 

अर्को विकल्प

बैंकमा धितो राखेको सम्पत्ति बिक्री गर्न चाहेको खण्डमा खरिदकर्तासँग डिल गरेर पनि बैंकको ऋण तिर्न सकिन्छ । आफ्नो सम्पत्तिको मूल्य कति हो र बैंकमा भएको ऋण कति हो यकिन गरी बैंकमा तिर्नुपर्ने जति पैसा खरिदकर्तासँग अग्रिम (बैनावापत) लिएर पनि सम्पत्ति फुकुवा गर्न सकिन्छ । यो विकल्प भनेको आफूसँग पर्याप्त पैसा नभएको खण्डमा अपनाउन सकिने विकल्प हो ।

त्यस्तो सम्पत्ति किन्न चाहेको व्यक्तिको आम्दानीलगायत तोकिएका कागजात हेरेर जुन बैंकमा धितो भएको सम्पत्ति किन्न खोजेको हो त्यही बैंकबाट ऋण लिएर तिर्न सक्ने व्यवस्था पनि छ । यसरी तिरेपछि पनि धितो फुकुवा गर्न सकिन्छ ।

यदि किन्न चाहेको व्इक्तिले बैंकबाट ऋण लिएर किन्न लागेको हो भने बैंकले दिने ऋण स्वीकृत पत्रको आधारमा पनि सम्पत्ति फुकुवा गरिदिन सक्छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved