सबै कम्पनीले बियरमा ‘अल्कोहल’को मात्रा बढाए, बजारमा ‘कडा’ बियर मात्र

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 22, 2021 | 01:10:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा बियर ‘लाइट ड्रिङ्स’का रुपमा चिनिन्छ । तर, अहिले लाइट बियरले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ । किनकी, ‘स्ट्रङ बियर’ उत्पादन हुन थालेपछि बजारमा माग पनि यसैको बढी छ । 

‘बियर भनेको एकदम सफ्ट ड्रिङ्स हो, यो झुम्म हुन पिईने पदार्थ होइन’ एक जना मदिरा उत्पादक भन्छन्, ‘यो त पिउँदै रमाइलो गर्ने पदार्थ हो, बियर भनेको रिल्याक्स गर्न पिउने हो । झुम्म भएर ढल्न होइन ।’

स्ट्रङ वियरमा के हुन्छ ?

बियरको उत्पादन अनुसार माग पनि ‘लाइट’बाट ‘स्ट्रङ’ तिर गएको छ । बजारमा अहिले बोतलमै ‘स्ट्रङ वियर’ लेखिएका वियर छ्यापछ्याप्ती छन् । सामान्यतया, लाइट एवम् सफ्ट वियरको तुलनामा हार्ड भनिने स्ट्रङ बियर पिउँदा मानिसहरु रक्सी पिए सरह मात्तिने गर्दछन् । 

बियरमा ८ प्रतिशतसम्म अल्कोहलको मात्रा हुन पाउँछ । यो अधिकतम मात्रा पनि हो । ८ बाट ९ प्रतिशत अल्कोहल हुनासाथ त्यो वियर नभई अर्कै पदार्थ बन्छ । 

तर, अन्तःशुल्क निर्देशिकाले वियरमा अधिकतम ८ प्रतिशत अल्कोहल हुन पाउने भनेको भएपनि  अहिले ८ प्रतिशत अल्कोहलको मात्रा सबै वियरमा पाउन थालिएको छ । यसैलाई उत्पादकहरुले स्ट्रङ बियर भन्ने गरेका छन् ।

स्ट्रङ बियर भनेको अल्कोहलको मात्रा बढी भएको बियर भएकाले यसले तुलनात्मक रुपमा मानिसहरुलाई चाँडै र लामो समयसम्म शिथिल बनाईराख्ने गर्छ ।

स्ट्रङ वियर कति ठिक ?

मदिरा भन्नासाथ आफैँमा हानिकारक पेय पदार्थ हो । तर, बियरको हकमा अल्कोहलको मात्रा थोरै हुने भएकाले यो पदार्थ स–परिवार बसेर पिउने गर्दछन् । हार्ड ड्रिङ्सको तुलनामा सफ्ट ड्रिङ्सको रुपमा बियरकै बढी प्रयोग हुने गरेको छ ।

थोरै अल्कोहल र महँगो पनि हुनाले मानिसले थोरै पिउने र यसले समाजमा कुनै हानी नगर्ने उत्पादकहरुको दाबी रहन्थ्यो । तर, अब ८ प्रतिशत अल्कोहलको मात्रा भएको बियर उत्पादन हुन थालेपछि सामाजिक उत्तरदायित्वको दृष्टिकोणले यो ठिक हो वा होइन भन्ने बहस बियर उत्पादकहरु बीचमै सुरु भएको छ ।

समाजमा मदिरा पिएर हुन सक्ने सम्भावित घटनाको जोखिम बढाएको कतिपयको बुझाई छ । तर, कतिपय उत्पादक भने बजारले सफ्ट वियर माग्नै छोडेकाले बाध्य भएर ८ प्रतिशत अल्कोहल भएको बियर उत्पादन गर्नु परेको बताउने गरेका छन् ।

तर, उपभोक्ताको हितमा काम गर्दै आएका विभिन्न संघ संस्थाहरुले भने बियर पनि स्ट्रङ भनेर उत्पादन हुँदा त्यसको असर समाजमा पर्ने भन्दै उत्पादकहरुलाई सचेत गराएका छन् । मदिरा सेवनपछि भएका घरेलु हिंसाका घटनामा अझै पनि कमी नआएको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले समाजमा पर्न सक्ने नकारात्मक असरलाई ध्यानमा राखेर उद्योग चलाउन माग गरेका छन् ।

अहिले नेपाल आईस, माउण्टेन आईस, गोर्खा, नमस्ते, मुस्ताङ लगायतका बियरहरु ‘स्ट्रङ’ बियरका रुपमा बजारमा आईरहेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved