राज्यमन्त्री दुगडको कम्पनीले रोक्यो ‘सेञ्चुरी नुन’ को बिक्रि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2020 | 10:48:20 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग, वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतिलाल दुगडको दुगड स्पाइस एण्ड फुड्स प्रा.ली. ले उत्पादन गर्दै आएको सेञ्चुरी साल्ट (नुन) बिक्रि नगर्न विभिन्न स्टोरहरुमा खबर पठाएको छ । कम्पनीले सरकारी स्वामित्वको साल्ट ट्रेडिङले पाउँदै आएको एकल अधिकार खोस्ने गरी महँगोमा नुन बेचेको भन्दै प्रधानमन्त्री कार्यालयमै निवेदन परेपछि उद्योगले विभिन्न डिपार्टमेन्ट स्टोरमा ‘स्याम्पल टेष्ट’ को लागि पठाएको ‘टेबल साल्ट’ नबेच्न अनुरोध गरेको हो ।

प्याकेजिङ गरेर मात्रै महँगो मूल्यमा नुन बिक्रि गरेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले उद्योग र उद्योगका मालिक राज्यमन्त्रीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिएको थियो । 

‘मन्त्री दुगडको कम्पनीले बजारमा अत्यन्त गुणस्तरीय आयोडिनयुक्त आयोनून प्रतिकिलो २० रुपैयाँमा पाईरहेको अवस्थामा प्याकेजिङ्ग मात्र गरी प्रति १०० ग्रामको ३२ रुपैयाँ मूल्य निर्धारण गरी हदैसम्मको कालोबजारी तथा नाफाखोरीजन्य काम गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ र ३ बिपरित कृयाकलाप गरी सर्वसाधारण उपभोक्तालाई चरम शोषण गर्ने काम गरेको देखिएको छ’ पत्रमा लेखिएको छ ।

निवेदन परेपछि भाटभटेनी र विराटनगरका केही स्टोरमा रहेको नुन फिर्ता गर्न वा बिक्रि नगर्न खबर गरिएको कम्पनीका मार्केटिङ म्यानेजर श्रीधर बञ्जाडेले जानकारी दिए ।

‘हामीले बेचेको नभई स्याम्पल टेष्टको लागि एक दुई वटा डिपार्टमेन्ट स्टोरमा पठाएका थियौँ’ बञ्जाडेले भने, ‘अब उजुरी नै परेपछि बिक्रि गर्ने कुरा आएन, त्यही भएर फिर्ता गर्न वा नबेच्न भनेका छौँ ।’ 

उद्योग राज्यमन्त्रीसमेत रहेका उद्योगी मोतिलाल दुगडले साल्ट ट्रेडिङबाटै किनेर अहिले काम गरिरहेको भएपनि बजारमा अनावश्यक हल्ला फैलाईएको बताएका छन् ।

‘हामीले साल्ट ट्रेडिङबाटै किनेर त्यसलाई टेवल साल्ट बनाउने गरेका छौँ, साल्ट ट्रेडिङकै अधिकार खोसेर नुन बिक्रि गर्यो भन्नु गलत हो’ राज्यमन्त्री दुगडले भने, ‘टेवलमा राख्ने साल्ट भएको हुनाले यसको मूल्य एउटाको भारतमै १० देखि ११ भारु पर्न जान्छ । यो नयाँ आविष्कार जस्तै हो, तर, यहाँ गलत प्रचार गर्न थालिसकियो ।’

साल्ट ट्रेडिङसँग कोरोना माहामारीका कारण अन्तिम सम्झौता हुन नसकेको कम्पनीको भनाई छ । खाद्यसँग अनुमतिको माग गर्दै निवेदन पनि दिईएको सेञ्चुरीले जनाएको छ । मोरङमा रहेको दुगड स्पाइस एण्ड फुड प्रोडक्टसले प्याकेजिङ्ग गरेर सेञ्चुरी ब्राण्डको स्प्रिंकलर्स टेवल साल्ट (नून) बिक्री गर्दै आइरहेको छ ।

यसअघिः

राज्यमन्त्री दुगडमाथि कालोबजारीको आरोप, भन्छन्, ‘नयाँ काम थाल्दा गलत प्रचार भइहाल्छ’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved