नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मिति तोकिएपछि अहिले २ समूह चुनावी अभियानमा केन्द्रित छन् । बरिष्ठ उपाध्यक्षका उम्मेद्वार द्वय किशोर प्रधान र चन्द्र प्रसाद ढकालको समूह चुनाव केन्द्रित अभियानमा रहेका बेला काठमाडौँमा कोरोना भाइरसका संक्रमितहरु बढिरहेका छन् । यस्तो अवस्थामा महासंघ निर्वाचनमा मात्रै केन्द्रित देखिनु गलत भएको उम्मेद्वारहरु नै बताउँछन् ।
‘चुनाव नगर्दा हुन्न ?’
महासंघको आगामी अध्यक्ष एवम् वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समूहबाट जिल्ला नगरको केन्द्रीय सदस्यका उम्मेद्वार (मनोनयन दर्ता गर्न बाँकी) अरुणराज सुमार्गी निर्वाचनलाई नै केन्द्रमा राखेर दौडधूप गर्न नहुने पक्षमा छन् । कोरोना भाइरसको माहामारी बढ्दो क्रममा रहेका बेला हतार गरेर चुनाव गर्दा मतदातामार्फत गाउँ गाउँमा कोभिड पुग्न सक्नेतर्फ सचेत हुनेपर्ने उनको भनाई छ । उनले उम्मेद्वार र मतदातालाई सुरक्षित राख्ने गरी ‘प्रोटोकल’ बन्नुपर्ने पनि बताए ।
‘मंसिर ४ गतेसम्म मनोनयन दर्ताको समय छ, यो पर्याप्त समय हो’ सुमार्गीले भने, ‘अनलाइनबाट पनि उम्मेद्वारी दर्ता गर्न सकिने व्यवस्था छ, त्यसैले हतारोमा मनोनयन दर्ता गर्न हुल बाँधेर दौडिने काम राम्रो होइन ।’
‘कोरोना भाइरसले अर्थतन्त्र खस्किँदो छ, यस्तो बेलामा महासंघको नेतृत्वका लागि होडबाडी गर्नुभन्दा सहमतिमा नेतृत्व टुंगो लगाएर महासंघभित्र एकता छ भन्ने सन्देश दिनु बुद्धिमानी हुन्छ’ उनले भने ।
‘एकताको प्रतिकका रुपमा उभिन तयार छु’
महासंघको बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान फुटेर नभई जुटेर अघि बढ्नुपर्ने पक्षमा आफू रहेको र यसका लागि हदैसम्मको त्याग गर्न तयार रहेको बताउँछन् । उनले विश्व नै आर्थिक मन्दीमा धकेलिएको अवस्थामा नेपालको अर्थतन्त्र ‘माइनस’ तिर ओरालो लागिरहेको बताउँदै यस्तो अवस्थामा महासंघको नेतृत्वका लागि तछाडमछाड गर्ने आफ्नो कुनै नियत नरहेको बताए ।
‘नेतृत्वका लागि तछाडमछाड गर्ने पक्षमा म र मेरो टिम छैन’ उनले बिजपाटीसँग भने, ‘असजिलो अवस्थामा एकता प्रदर्शन गरेर हामीले निकास दियौ, मेलमिलापको नीति लियौ भनेर मतदाता र नेपाली दाजुभाई दिदीबहिनीका अगाडी छाती फुलाउने गरी काम गर्नुपर्छ भनेर मैले भनेको भन्यै छु ।’
उनले आफ्ना प्रतिद्वन्दी एवम् बरिष्ठ उपाध्यक्षका अर्का उम्मेद्वार चन्द्र ढकालले ‘अगाडी बढिसकेँ, अब पछाडी फर्किन्न’ भनेर दिने गरेको अभिव्यक्तिप्रति लक्षित गर्दै अगाडी र पछाडी योगदानका आधारमा हुने पनि बताए । आफूले महासंघमा २८ वर्ष लामो योगदान दिएको बताउँदै प्रधानले न्यायमूर्तिका रुपमा पूर्वअध्यक्षहरु र आगामी अध्यक्ष बसेर गर्ने निर्णय आफूलाई मान्य हुने बताए ।
‘न्यायमूर्तिका रुपमा पूर्वअध्यक्षहरु र आगामी अध्यक्ष बसेर कोही कसैलाई अन्याय नहुने गरी निर्णय गर्नुहुन्छ भने त्यो मलाई मान्य हुनेछ’ प्रधान भन्छन्, ‘म पहिल्यैदेखि चुनावमा गइहाल्नुपर्छ भन्ने पक्षमा थिइन, र अहिले पनि छैन । यो असहज परिस्थिती हो, यस्तो बेलामा हदैसम्मको लचिलो भएर म महासंघमा अझै योगदान दिन तयार छु ।’
महासंघको ५४ औँ वार्षिक साधारणसभा आगामी मंसिर ११ र १२ गते हुँदैछ भने निर्वाचन भने मंसिर १३ गते काठमाडौँमा हुने तय भएको छ ।