निषेधाज्ञाकै बीचमा आकाशियो फलामे डण्डीको भाउ, सिमेन्टको मूल्य पनि बढ्दै

निरोज कुमार थापा

निरोज कुमार थापा

May 05, 2021 | 10:56:13 AM मा प्रकाशित

laxmi  sunrise bank

मूलुकका आधाभन्दा बढी जिल्लामा निषेधाज्ञा हुँदा निर्माण सामग्रीको मूल्य भने आकाशिएको छ । बैशाख, जेठ र असार महिनामा विकास बजेटको ३० प्रतिशत रकम खर्च हुने भएपनि बैशाखमै निषेधाज्ञा हुँदा विकास आयोजनाको काममा पनि बाधा पुगेको छ । तर, यही अवधिमा निर्माण सामग्रीको मूल्य भने चुलिएको हो ।

नेपाल निर्माण व्यवसायी महासंघले निर्माणजन्य बस्तुको उत्पादन गर्ने उद्योगीहरुले निषेधाज्ञा नभएका जिल्लामा निर्माण सामग्री पठाउँदा मूल्य बढाएर पठाएको र यसले निर्माण व्यवसायीहरु समस्यामा परेको गुनासो गरेका छन् ।

डण्डीको मूल्य हप्ता दिनमै आकाशियो

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल काठमाडौँमा निषेधाज्ञा हुनासाथ फलामे डण्डीको मूल्य अत्याधिक बढेको बताउँछन् । उनका अनुसार फलामे डण्डीको मूल्य पछिल्लो एक हप्तामै ३५ प्रतिशत सम्मले बढेको छ ।

‘काठमाडौँमा निषेधाज्ञा हुनुभन्दा अघिल्लो दिनसम्म डण्डी ८० देखि ८५ रुपैयाँमा पाइन्थ्यो’ महासचिव दाहाल भन्छन्, ‘अहिले ११० सम्म पुगिसकेको छ, हामीले पाएको सूचना अनुसार मूल्य अझै बढ्छ भन्ने सुन्या छौँ ।’

उद्योगीहरुले उत्पादन हुन छाडेको र बजारमा अभाव रहेको भन्दै निर्माण सामग्रीको मूल्य बढाएको महासचिव दाहालको भनाई छ । 

‘कहिले मजदूर अभाव भयो भनेर, कहिले कच्चा पदार्थको मूल्य बढेको छ भनेर उद्योगीहरुले मूल्य बढाउनु भएको छ, वास्तविक कारण के हो भन्ने अहिलेसम्म थाहा पाउन सकिएन’ दाहालले भने ।

ग्रिल तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल पनि निर्माण सामग्रीको मूल्य पनि बढेको स्वीकार गर्छन् । अन्तराष्ट्रिय बजारबाट आयात गर्नुपर्ने कच्चा पदार्थको मूल्य बढेको भन्दै उद्योगीहरुले स्टिल र डण्डीको भाउ बढाएको उनको भनाई छ ।

अन्तराष्ट्रिय बजारमा बढेको भाउभन्दा दुई गुणा बढी भाउ नेपाली उद्योगीहरुले बढाउँदा प्रत्यक्ष उपभोक्तासँग जोडिने आफूहरुलाई मर्का परेको अध्यक्ष कटुवालको गुनासो छ । 

सिमेन्टको भाउ बढ्ला ?

सिमेन्टको भाउ पनि बढ्ने क्रममा छ । सिमेन्ट उद्योगीहरुले मूल्य बढाएर आफ्ना उत्पादन बजार पठाउने तयारी गरिरहेको निर्माण व्यवसायीहरुको दाबी छ । तर, सिमेन्ट उद्योगीहरुले भने अहिले कुनै पनि फ्याक्ट्रीले मूल्य नबढाएको बताएका छन् । 

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा भन्छन्, ‘अहिले कुनै पनि फ्याक्ट्रीले मूल्य बढाएका छैनन्, ढुवानीका साधनको अभावमा कतै कतै टाढा ढुवानी गर्नुपर्दा पाँच दश रुपैयाँ तलमाथि भएको भए बेग्लै कुरा, नत्र सिमेन्टको भाउ बढेको छैन । अहिले डिमाण्ड पनि घट्दो क्रममा छ, यस्तो अवस्थामा भाउ बढ्ने खासै सम्भावना छैन ।’

अहिले पीपीसी सिमेन्टको उत्पादन लागत प्रति बोरा (५० किलोग्राम) ६ सयभन्दा तल र ओपीसी एक बोराको उत्पादन लागत ७ सयभन्दा तल छ ।

‘अनुगमन गर्न सकेका छैनौँ’

वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पनि निर्माण सामग्रीको बजार मूल्यका सम्बन्धमा अहिले अनुगमन गर्न सकेको छैन । कोरोना भाइरसको माहामारीका कारण निषेधाज्ञा जारी भएकाले अनुगमन गर्न नसकिएको विभागका प्रवक्तासमेत रहेका अनगुगमन शाखा प्रमुख शिवराज सेढाईं स्वीकार गर्छन् । अहिले विभागले निर्माण सामग्रीमा अनुगमन रोकिएको बताए ।

अनुगमन गर्न नसकिएको भएपनि मूल्य बढाएका उद्योगी वा व्यवसायीका बारेमा विभागमा जानकारी आए आफूहरुले कारबाही गर्ने उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved