तरलता अभावको असरः ५० प्रतिशतले घट्यो निर्माण सामग्रीको बिक्री

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 28, 2021 | 02:51:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुमा देखिएको तरलता अभावको प्रभाव निर्माण क्षेत्रमा परेको छ । एकातिर तरलता अभाव र अर्कोतिर अर्थ मन्त्रालयले विकास बजेट खर्च गर्न नसकी थुपार्दा त्यसको प्रत्यक्ष प्रभाव निर्माण क्षेत्रमा परेको हो ।

अहिले निर्माणको सिजन भएपनि निर्माण सामग्रीहरुको खपत भने ह्वात्तै घटेको छ । व्यक्तिगत आवासीय भवन, व्यावसायिक कम्प्लेक्स तथा विकासे आयोजनाहरूको निर्माण सुस्त हुँदा निर्माण सामग्रीको बिक्रि ५० प्रतिशतले घटेको छ । 

उत्पादनको आधा मात्रै बिक्रि

अहिले बजारमा सिमेन्ट र फलामे डण्डीको माग अत्यन्त कम छ । उद्योगहरुले उत्पादनको ५० प्रतिशत मात्रै बिक्रि गर्न सकिरहेका छन् । 

नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्षसमेत रहेका डण्डी उद्योगी विष्णु न्यौपानेका अनुसार अहिले उद्योगीहरुले मूल्य घटाएर घाटामा बस्तु बेच्नु परेको छ । माग घटेपछि मूल्य निरन्तर घटिरहेको उनको भनाई छ ।

उद्योगीहरुका अनुसार अहिले ओपीसी सिमेन्टको मूल्य बोरामा ५० रुपैयाँसम्म घटेको छ । फलामे डण्डीको भाउ पनि किलोमा ५ रुपैयाँले घटेको छ । 

कति छ मूल्य ?

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाका अनुसार सिमेन्टको मूल्य बोरामा ७ प्रतिशतसम्म घटिसकेको छ । यो क्रम अझै जारी रहने उनको भनाई छ ।

काठमाडौँमा ओपीसी सिमेन्टको मूल्य ६७५ रुपैयाँमा आईपुगेको छ । पीपीसी सिमेन्टको उपभोक्ता मूल्य पनि ५७५ रुपैयाँ प्रतिबोराको वरीपरी छ ।

प्रतिकिलो ११३ रुपैयाँसम्म पुगेको फलामे डण्डीको मूल्य अहिले घटेर ९७ देखि १ सय रुपैयाँको वरपर झरेको छ । 

सिजनमै किन खुम्चियो माग

अहिले बैंकहरुमा तरलता अभाव छ । कुल खपत हुने निर्माण सामग्रीमध्ये ३० प्रतिशत मात्रै विकास आयोजनामा खपत हुन्छ । बाँकी ७० प्रतिशत व्यक्तिगत आवासी घर तथा व्यवसायिक भवनको निर्माणमा खपत हुने गर्दछ ।

तर, अहिले व्यक्तिगत घर र कमर्सियल भवनहरु बन्न सकेका छैनन् । व्यक्तिगत घर र कमर्सियल भवन बनाउन बैंकहरुबाट ऋण पाउन सकिने अवस्था छैन । ऋण नपाएकाले मानिसहरुले घर बनाउन सक्ने अवस्था छैन ।

विकास आयोजनाको काम पनि सुस्त गतीमा चलिरहेका छन् । 

जसका कारण निर्माण सामग्रीको बिक्रि आधाले घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved