५८औँ बार्षिक साधारण सभामा चन्द्र ढकालले के भने ?(पूर्णपाठ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 10:16:07 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग वाणिज्य दिवस एवं नेपाल उद्योग वाणिज्य महासंघको यस ५८ औं बार्षिक साधारणसभा आज बुधबार जारी छ ।  सभाको  उदघाटन कार्यक्रममा अध्यक्ष चन्द्र ढकालले आफ्नो मन्तव्य प्रस्तुत गरेका छन् ।

उनको मन्तव्य यसप्रकार छ:

उपस्थित महिला तथा सज्जनवृन्द

उद्योग वाणिज्य दिवस एवं नेपाल उद्योग वाणिज्य महासंघको यस ५८ औं बार्षिक साधारणसभाको उदघाटन कार्यक्रममा   यहाँहरु   सबैलाई   हार्दिक   स्वागत गर्दै उपस्थितिका लागि आभार व्यक्त गर्दछु  ।  

म  लगायत  नयाँ  कार्यकारिणी  समितिले कार्यभार सम्हालेको एक बर्ष पूरा भएको छ । म र यो कार्यसमिति मुलुकको निजी क्षेत्रेको यो छाता संस्थाको नेतृत्वमा आइरहँदा मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा थियो । 

मैले  महासंघको  नेतृत्व गर्नुपूर्व  म  एक्लै, अरु एकदुइ जना साथीभाइ र परिवारबाट शुरु भएको मेरो व्यवसायमा  करिब २० हजारको परिवार  बनेकोे छ । महासंघमा जोडिएसंगै करिब ६ लाख व्यवसायी सहितको परिवार बन्यो । हामीसंग विविध कारणले  सदस्य  नभएका  वा  हुन  नपाएका व्यवसायी  पनि  यो  परिवारका  सदस्य  हुन् । यसको अर्थ महासंघ परिवार  सम्पूर्ण निजी क्षेत्रका सदस्यहरुको हो । 

हाम्रो वृहत परिवार यो सिंगो मुलुक हो । निजी क्षेत्र यो वृहद परिवारको आय आर्जन गर्ने  सदस्यहरु  हुन्  । हामी  निजी  क्षेत्र  र  सर्वसाधारणलाई  आवश्यक  सेवा  र सुरक्षा दिन निर्माण भएको संरचना सरकार हो । सरकारले दिने सेवा र सुरक्षा विना हामी काम  गर्न  सक्दैनौ  ।  हामीलाई  सेवा  र  सुरक्षा  दिए  वापत  हामी राज्यलाई कर  बुझाउँछौं  ।  

अहिले  परिवारमा  आम्दानी  र खर्चबीच  तालमेल मिलेको  छैन  ।  मुलुकको  खर्च  धान्ने निजी क्षेत्र पंखेटा पिंmजाएर थप आर्जन गर्न खोजिरहेको छ तर त्यसका लागि आवश्यक सेवा  र  सुरक्षा  पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट थोरै  मात्र भए पनि प्रोत्साहन चाहेको छ । 

म युवाहरुको सपनाको बारेमा कुरा गर्न चाहन्छु । म उद्यमशीलताको कुरा गर्न चाहन्छु ।  उद्यमशीलता एउटा कठीन तपस्या हो । कुनै पनि नयाँ काम गर्न नवीन सोच र आइडिया चाहिन्छ । त्यसलाई कार्यान्वयन  गर्न रकम चाहिन्छ ।  यस्तो रकमको जोहो घरवार  धितो  राखेर नै गर्नुपर्छ । 

अब  त्यो  आइडियालाई  समाजले  स्वीकार  गर्ने  गरि  तयार  पार्नुपर्यो  ।  राजनीतिक तहबाट  त्यसलाई  अपनत्व  ग्रहण  गरिदिनुपर्यो  ।  कानुनी  अडचन  हुनु  भएन  र वातावरणीय रुपमा दिगो हुनुपर्यो । यी सबै आधारभूत बिषय पुरा गरेपछिमात्रै एउटा परियोजना वा व्यवसाय बन्छ । यति मिहिनेत गरेर तयार पारेको व्यवसाय वा परियोजना एउटा सरकारी नीति, एउटा अधिकारीको लहड अनि भीडले एकैछिनमा भताभुंग पारिदिन सक्छ ।

तर यति हुँदा हुँदै पनि म  आज यहाँ  निराशामात्र व्यक्त गर्न चाहन्न ।  म यो सम्भावना नै सम्भावना भएको मुलुकको रुपमा देख्छु । यी सम्भावनालाई यथार्थमा परिणत गर्न राजनीतिक नेतृत्वको  भूमिकाको  बारेमा पनि कुरा गर्छु । 

सम्भावना पहिल्याउन अहिलेको वास्तविक चित्रण आवश्यक छ । अहिले विदेशी मुद्राको संचिति हालसम्मकै उच्च छ । अर्थात करिब साढे १२ महिनाको वस्तु  तथा  सेवा  आयात  गर्न  पर्याप्त  छ  । बैंकहरुमा  पनि  तत्काल  कर्जाका  रुपमा  दिन सकिने  करिब  ६  खर्ब  रुपैया  छ  ।  उद्यमी  व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्युन छ ।  

भुक्तानी सन्तुलन र चालु खाता समेत बचतमा हुँदा सकारात्मक सन्देश जान्छ । तर यस  अवधिमा  एक  खर्ब  रुपैयाको  निर्यात  हुँदा  ८० अर्ब  रुपैया  त  विद्यार्थीहरु  विदेश जाँदा  बाहिरिएको  छ  ।  नेपाल विश्व व्यापार संगठनको सदस्य बने यता निर्यात तीन गुणासम्म बढेको छ भने आयात १० गुणा बढेको छ ।

वैदेशिक लगानी  कुल  गार्हस्थ्य  उत्पादनको  शुन्य  दशमलब २ प्रतिशत हाराहारीमात्रै छ ।

वैदेशिक अनुदान निरन्तर घट्दो छ । वित्तीय  व्यवस्थापन  खर्च  पूँजीगत  खर्च  भन्दा  झण्डै  दोब्बर  भएको  छ  ।  आन्तरिक स्रोत बढाउन सकिएन भने नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढने सम्भावना देखिएको छ । 

निर्यात लगानी, सहायता सबै कम हुँदा पनि वाह्य क्षेत्र सबल हुनुको कारण रेमिट्यान्स हो । रेमिट्यान्स मात्रै मुलुक धान्न आधार बनेको दशकौँ भैसकेको त हामीलाई विदितै छ । 

रेमिट्यान्सले मात्रै निरन्तर अर्थतन्त्र धान्न सक्ने सम्भावना न्युन हुन्छ ।  विगतमा  बढदो  रेमिट्यान्सले  माग  बढाउँदा  सरकारको  राजश्व  पनि  बढेको  थियो  । राजश्व अपेक्षित रुपमा बढन सकेको छैन् । न्युन पूँजीगत खर्च हुँदा पनि सरकार घाटामा रहनुले आगामी दिन थप जटिल हुने देखिन्छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु

यी माथिका तथ्यांकहरु मैले हाम्रो अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा जानकारीका लागि प्रस्तुत गरेको हुँ । किनभने अर्थतन्त्रमा अझै समस्या छ भन्ने तथ्यलाई स्वीकारेर मात्र यसको निकास खोज्न सजिलो हुन्छ भन्ने मलाई लाग्दछ । 

करिब दुइ बर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान  नगर्दा  समस्या झन् बल्झिँदै गएको हो । निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेकै हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिन नसक्दा हामी आज यो मोडमा आइपुगेका छौँ । 

यसपटकको बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रको साझा सुझाव पेश हुदा पनि सुधारका उपाय अवलम्बन हुन सकेनन् । 

श्रीलंका बन्न सक्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरिए । यसबाट हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ ।  भने यसै अवधिमा श्रीलंकाको आर्थिक वृद्धि माइनस ७.८ प्रतिशतबाट करिब दुइ प्रतिशत सकारात्मक भएको छ । 

नेपालको अर्थतन्त्र कमजोर हुनुमा वाह्य भन्दा आन्तरिक कारण नै प्रमुख हुन ।  किनभने यस अवधिमा भारत बंगलादेश लगायतका मुलुकको वृद्धिदर उच्च छ । विश्व  बैंकले  नेपालको  आर्थिक  वृद्धि  चालु  वर्षमा  ३.३  प्रतिशत  मात्र  हुने  अनुमान सार्वजनिक गरेको छ । जब कि बंगालादेशको ५.६ प्रतिशत र भारतको ७.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ । गत बर्ष पनि नेपालको वृद्धि दुइ प्रतिशत भन्दा कम हुँदा भारत र बंगलादेशको अर्थतन्त्र ६ प्रतिशत भन्दा बढिले विस्तार भएको थियो ।

भारतमात्रै होइन हाल निक्कै उच्च दरमा वृद्धि हासिल गरिरहेका बंगलादेश, क्याम्बोडिया, लाओस, रुवाण्डा र इथियोपिया जस्ता मुलुकको बिकासको मुख्य आधार निजी  क्षेत्रले  डोर्याएको  वृद्धि  नै  हो  ।  कुनै  समयका  द्धन्दग्रस्त  र  निक्कै  गरिब मुलुकहरुको पछिल्लो एक दशकको औसत वृद्धिदर ६ प्रतिशत माथि छ । नेपालको भने औसत ४ प्रतिशत छ ।

पछिल्लो  दुइ बर्षमा  न्युन  आर्थिक  वृद्धि  हुनुको  कारण  निजी क्षेत्रले काम  गर्न नपाउँदा हो । यस बर्ष पनि उत्पादनमुलक क्षेत्रको वृद्धिदर शुन्य दशमलब ४ प्रतिशतले ऋणात्मक छ ।

सम्माननीय   प्रधानमन्त्रीज्यू,   दलका   प्रमुखज्यू   लगायत   उच्च   नेतृत्व   वर्ग   ।   

म व्यक्तिगत रुपमा हरेक क्षेत्र र प्रयासलाई सकारात्मक रुपमा हेर्ने व्यक्ति हुँ । मैले सकेसम्म होइन, छैन र हुँदैन भन्ने शब्द प्रयोग पनि गर्दिन । हामी आफैँमा सम्पन्न र सक्षम छौँ । हाम्रो अर्थतन्त्र सानो भएकाले रिकभर हुन सजिलो पनि छ । त्यसैले हाम्रा रणनीतिहरु कुनै बाहिरी प्रभाव भन्दा पनि हाम्रो माटो र हाम्रो स्थिति परिस्थिति सुहाउँदो हुनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले आज पनि म भन्छु, हामीले लिने साना तर सकारात्मक प्रयासहरुले पनि हामीलाई ठूलो प्रतिफल दिनेछन् । यसका लागि सबैको सकारात्मक सोच र सत्प्रयास आवश्यक छ ।    

हाम्रा युवाहरुका सपना खाडीमा खेर जान नदिऔँ । उद्यमीको मोहरलाई रुपैया बनाउने अवसर दियौँ । रित्तिएका पहाड र बस्तीको माटो हराभरा बन्न सक्छ । यसका लागि पनि नेपालको निजी क्षेत्रलाई थप हौसला प्रदान गर्नुपर्छ । हामी भुकम्पपछि कसरी उठ्यौं ? अनि कोभिड पछि कसरी तंग्रियौं ? यी दुख बाट पनि हामीले प्रेरणा लिन सक्छौँ । मुलुकको निजी क्षेत्र बिकास र समृद्धिको नेतृत्व लिन तयार छ, मात्र वातावरणको खाँचो छ ।

सबै मिलेर यही वातावरण निर्माण गरौँ र आजैदेखि अर्थतन्त्रलाई सबल बनाऔँ भनेर हामीले आजको यस गरिमामय सभामा यहाँहरु सामु पाँच बुँदे प्रतिवद्धतापत्र  पेश  गरेका  छौ  । यसमा हामी यहाँहरुको प्रतिबद्धताको अपेक्षा गरेका छौँ । 

अहिले  निराशा  र  अविस्वास  बढेका  बेला  यहाँहरुले  यी  प्रतिवद्धता  जनाइदिनुभएमात्रै पनि सकारात्मक सन्देश जाने मैले अपेक्षा गरेको छु । यहाँहरु समक्ष यसका लागि हार्दिक अनुरोध गर्दछु ।

नेपाल उद्योग वाणिज्य महासंघले राख्दै आएको द्धिपक्षीय लगानी सम्झौता बीआईए को खाका मन्त्रीपरिषदबाट पारित भएको छ । म यसका लागि सम्माननीय प्रधानमन्त्रीज्यु प्रति आभार व्यक्त गर्दछु ।  अब छिट्टै नै हामीले सुधारका लागि तयार पारेको १२ कानुन एवं नियमावली पनि पारित हुने अपेक्षा गरेका छौ । 

आजको यस कार्यक्रममा मुलुकभरबाट करिब एक हजार भन्दा बढि उद्यमी व्यवसायी भेला भएका छौं । व्यवसायी र आम सर्वसाधारणको मुहारमा मुस्कान छर्न राजनीतिक नेतृत्व र हामीले धेरै काम गर्नुछ । यो निराशालाई आशामा परिणत गर्नुछ ।  अबको दुइ दिनपछि नयाँ बर्ष २०८१ शुरु हुँदैछ । सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु, नेतृत्व वर्ग नयाँ बर्षमा हामी व्यवसायीहरुले यहाँहरुबाट के सन्देश लिएर जाने अब यो यहाँहरुको हातमा छ । 

नयाँ वर्ष २०८१ को शुभकामना ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved