'बजारको भन्दा बढी प्रतिफल दिने मोडलमा ८०-२० म्युचुअल फण्ड योजना डिजाइन गरेका छौं' (अन्तर्वार्ता)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 17, 2023 | 08:18:12 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन क्यापिटलले आज साउन ३२ गतेदेखि ‘हिमालयन ८०–२०’ नामक सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरेको छ । क्यापिटलले हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने गरी हिमालयन ८०–२० नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । 

यसै सन्दर्भमा बिजपाटी डटकमले यस म्युचुअल फण्ड योजनाको विशेषता, बजारमा म्युचुअल फण्डको भूमिकालगायतका विविध विषयमा हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तसँग कुराकानी गरेको छ । सन् २००४ मा तत्कालिन बैंक अफ काठमाण्डुबाट करियर सुरु गरेका पन्त सन् २००९ सम्म बैंकको फाइनान्सियल मार्केट्स एण्ड ट्रेजरीको प्रमुखका रुपमा रहे । सन् २००९ देखि उनले ९ वर्षसम्म कुमारी बैंकमा सेवा गरे । कुमारीमा उनले फाइनान्सियल मार्केट्स एण्ड ट्रेजरी, कर्पोरेट क्रेडिट, सिस्टम माइग्रेसन, इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनन्सिङ लगायतका विभागमा प्रमुखको भूमिकामा रहेर काम गरे ।  सन् २०१९ देखि उनी हिमालयन क्यापिटलमा आवद्ध छन् । 

प्रस्तुत छ प्रमुखकार्यकारी अधिकृत पन्तसँग गरिएको कुराकानी: 

हिमालयन क्यापिटलले निष्काशन गर्न लागेको फण्ड कस्तो खालको हो ?

यो हिमालयन बैंक प्रवर्द्धक रहेको तथा हिमालयन क्यापिटल कोष व्यवस्थापक रहेको पहिलो म्युचुअल फण्ड  योजना हो । यस योजनाको आकार १ अर्ब रहेको छ । प्रतिइकाई १० रुपैयाँका दरले फण्डको १० करोड इकाई निष्काशन हुनेछ । जसमध्ये १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक हिमालयन बैंकलाई छुट्याइएको छ । बाँकी रहेको ८ करोड ५० लाखइ काईका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईका लागि दिन सकिने छ । निष्काशन छिटोमा भदौ ४ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदनन परेमा ढिलोमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ । 

हामीले ३÷४ वर्ष गहन अध्ययन गरेर यो योजना ल्याएकाहौं । सो समयमा हामीले नेपालको पुँजीबजार, बजारको बिहेभियर, बजारमा सहभागी भएका विभिन्न स्टेक होल्डरको बिहेभियर अध्ययन गर्यौँ , साथसाथै बजार बियरिस भएको अवस्थामा पनि कसरी धेरै प्रतिफल प्रदान गर्न सकिन्छ भन्ने अध्ययन गर्यौँ । यस समयमा हामीले करिब ८० करोडको पोर्टफोलियो व्यवस्थापन गरि ग्राहकहरुलाई उचित प्रतिफल पनि प्रदान गर्यौं  । सो अवधिमा बजार बढेको बेलामा बजारको वृद्धि सरहको प्रतिफल र बजार घटेको बेला हाम्रा ग्राहकको घाटा बजारको घाटाभन्दा निक्कै कम राख्न सफलभयौँ । ४ वर्षमा गरिएको यही सिकाई र अध्ययनले अब त्यो मोडललाई म्युचुअल फण्डमार्फत धेरै भन्दा धेरै लगानीकर्ता माझ पुर्याउन हिमालयन ८०–२० योजना ल्याएका हौ ।

८०–२० को अर्थ के हो ? फण्डले लगानी गर्ने विधि के हो ?

हिमालयन ८०–२० तथ्याङ्कमा आधारित भएर  लगानी गर्ने योजना हो । हामीले हिमालयन इक्विटी अप्टिमाइजर भन्ने प्रणाली विकास गरेका छौँ । त्यसमा हामीले आधारभूत, टेक्निकल र अन्य सूचक गरी ६० वटा जति सूचकांहरुको प्रयोग गर्दछौँ । यो प्रणालीले हरेक सूचकलाई अंकभार  प्रदान गर्नेछ र सूचकहरुको आधारमा उत्कृष्ट कम्पनी छनोट गर्नेछ । यसरी छनोट भएका उत्कृष्ट कम्पनीहरुमा योजनाले लगानी गर्नेछ ।

यस योजनाले १०० रुपैयाँ लगानी गर्दा ८० रुपैयाँ दीर्घकालिन लाभ सिर्जना गर्ने नियमित लाभांश दिने शेयर, निश्चित आम्दानी दिने वित्तीय उपकरण र ऋणपत्रहरुमा लगानी गर्नेछ । त्यस्तै बाँकी वीस रुपैयाँ लगानी भने अल्पकालमा उच्च लाभ सिर्जना गर्ने शेयर, निश्चित आम्दानी दिने वित्तीय उपकरण र ऋणपत्रहरुमा गर्नेछ । हामीले यो मोडल हाम्रा ग्राहकहरुको  पोर्टफोलियोको व्यवस्थापन गर्दा प्रयोग गरिसकेको र टेस्ट भएर सफल भएकाले यो मोडल नै हामीले योजना सञ्चालन गर्न प्रयोग गर्नेछौँ । साथै रेटिङ एजेन्सी इक्राले पनि हामीले विकास गरेको यो लगानी रणनीतिद्वारा ग्राहकहरुलाई प्रतिफल प्रदान गर्न सकेको कुरालाई रेटिङसम्बन्धी डक्युमेन्ट उल्लेख गरेको छ  । जुन हाम्रा लागि प्लस प्वाइन्ट हो । 

टेस्ट भइसकेको मोडलमार्फत म्युचुअल फण्ड चलाउने हुँदा लगानीकर्तालाई कति प्रतिफल दिने प्रक्षेपण गर्नुभएको छ ?

हामीले विभिन्न अनुमानमा आधारित रहेर प्रतिफल प्रक्षेपण गर्ने हो । ति सबै आधारहरु पुरा भएमा मात्र प्रक्षेपण अनुसारको प्रतिफल आउन सक्छ, कतिपय समयमा सबै आधारहरु पुरा भए पनि प्रक्षेपण गरिए अनुसारको प्रतिफल नआउन सक्छ । हामीले १० वर्षको अवधिमा कति पटक बुलमार्केट आउला, बैंकहरुको कर्जा प्रवाह कस्तो रहला, तरलताको अवस्था कस्तो रहला भन्ने विषयहरुलाई आधार मानेर प्रतिफल प्रक्षेपण गरेका छौँ । जसबाट हामीले औसतमा वार्षिक २० प्रतिशतको प्रतिफल प्रक्षेपण गरेका छौँ । कमाएको वर्षमा टन्नै लाभांश दिने, अनि कुनै वर्ष हातखाली बनाइदिने पक्षमा हामी छैनाँै । हामीले हाल प्रयोग गरेको प्रक्षेपणमा पहिलो वर्षमा लाभांश दिदैनौँ, पहिलो वर्षको कमाई रिटेन गरेरै राख्छौँ । दोस्रो वर्षदेखि हामीले १० प्रतिशतबाट सुरु गरेर औसतमा २० प्रतिशतसम्म लाभांश दिने प्रक्षेपण गरेका छौँ । लाभांशलाई क्रमिकरुपमा बढाउँदा योजनाको न्याभलाई मेन्टेन गर्नका लागि पनि सहयोग गर्नेछ । यस योजनामा लगानी गर्दा लगानीकर्ताहरुले हाम्रो प्रक्षेपण अनुसार २० प्रतिशत बराबरको औसत वार्षिक प्रतिफल पाउनुहुनेछ  ।

म्युचुअल फण्डलाई आईपीओमा दिइएको आरक्षण हटाउने तयारीमा धितोपत्र बोर्ड देखिन्छ, यदि हट्यो भने प्रक्षेपण गरेअनुसार कै लाभांश दिन सक्नुहुन्छ ?

पहिलो विषय, म्युचुअल फण्डले गर्ने आम्दानीमा अहिले दिएको आरक्षणबाट हुने लाभको धेरै ठुलो हिस्सा छैन, म्युचुअल फण्डलाई दिएको सुविधा हटाउने भन्दा पनि यसमा सुविधाहरु थप गरी धेरै भन्दा धेरै साना लगानीकर्ताहरुलाई आकर्षित गर्नुपर्ने आवश्यकता छ । म्युचुअल फण्डलाई हेर्ने दृष्टिकोण नै बदल्नु जरुरी छ । म्युचुअल फण्डलाई दिएको सुविधाको अन्तिम लाभ आम लगानीकर्ताले नै पाउने हो भन्ने बुझ्नुपर्छ । म्युचुअल फण्ड बजारको एक अत्यावश्यक उपकरण हो । इतिहास हेर्ने हो भने सन १७७० देखि म्युचुअल फण्डको अवधारणा सुरु भएको पाइन्छ । 

आजको दिनमाविश्वभर म्युचुअल फण्डको मार्केट लगभग ६६ खर्ब डलर बराबर  छ भने भारतमा लगभग ४६ खर्ब भारुको छ । बजारको हेल्थ र ग्रोथका लागि म्युचुअल फण्ड अनिवार्य छ । यस्तो अवस्थामा म्युच्युअल फण्डलाई दिएको सुबिधा थप्दै जानुपर्छ, आम लगानीकर्ताहरुलाई आकर्षित गर्नुपर्छ र म्युच्युअल फण्डलाई अझ प्रमोट गर्नुपर्ने अवस्थामा हामी छौँ । थप सुविधा सँगसँगै म्युच्युअल फण्डहरुले कस्तो भूमिका निभाउनु पर्ने हो, यस्ता विषयमा म्युचुअल फण्डलाई थप प्रभावकारी बनाउनेतर्फ बहस हुन जरुरी छ । 

अहिले बजारमा १० रुपैयाँभन्दा कम मूल्यमा अरु फण्ड पाइएको अवस्था छ, लाभांश घोषणा गरेर बुक क्लोज हुन बाँकी फण्ड पनि छन् । ति फण्ड छोडेर हिमालयन कै ८०–२० फण्ड किन खरिद गर्ने ?

सबै म्युच्युअल फण्ड योजनाहरुको आ–आफ्नो रणनीति हुन्छ । अहिले १० रुपैयाँभन्दा कममा पाइएका म्युच्युअल फण्ड योजनाको इकाईको एसेट भ्यालु पनि १० रुपैयाँभन्दा कम नै हुन्छ । १५ रुपैयाँ एसेट भ्यालु भएको योजनाको इकाई १० रुपैयाँभन्दा कममा पाइएको भए लाभ हुन्थ्यो । झट्ट हेर्दा १० रुपैयाँको योजनाको इकाई १० रुपैयाँभन्दा कममा पाइयो भन्ने एउटा साइकोलोजिकल सन्तुष्टि हुन सक्छ, तर कम रुपैयाँमा खरिद गरेको योजनाको इकाईको एसेट भ्यालु पनि लगभग त्यति नै हुन्छ ।  अहिले हामीले बिक्री गर्ने योजनाको इकाईको एसेट भ्यालु १० रुपैयाँ हो, र  मूल्य पनि १० रुपैयाँ हो । त्यस कारण आजको दिनमा हेर्दा १० रुपैयाँभन्दा कम मूल्यका योजनालाई सस्तो भनेर हेर्न मिल्दैन । 

अब लाभांश घोषणा भइसकेका योजना कति वर्ष चले र अब कतिवर्ष बाँकी छ भन्ने हेर्नुपर्ने हुन्छ ।  हामीले अहिले बजार तलहुँदा हिमालयन ८०–२० योजना  सुरु गरेका छौँ । १० वर्षको अवधिमा २ वटा बुल साइकल देख्न सकिन्छ भन्ने प्रक्षेपण गरेका छौँ । त्यसो हुँदा लगानीकर्तालाई २ पटकको बुलको लाभ दिन सकिन्छ, र औसतमा वार्षिक २० प्रतिशत प्रतिफल लगानीकर्ताले लिन सक्छन् ।  हामीले रिटेल इन्भेष्टर अर्थात व्यक्तिगत लगानीकर्तालाई यस योजनामा आबद्ध बनाउन प्रयास गरेका छौँ  । हाम्रो लगानी रणनीति परीक्षण भएर यसबाट राम्रो प्रतिफल सिर्जना गरेका छौँ, योजनाको सञ्चालन विभिन्न सूचकाङ्कको आधारमा गर्ने छौँ । तसर्थ  दीर्घकालीन लगानीकर्ताहरुलाई उचित प्रतिफल प्रदान गर्ने सक्ने हाम्रो बलियो आधार रहेको छ ।

कस्ता लगानीकर्तालाई म्युचुअल फण्ड बढी उपयुक्त हुन्छ ?

म्युचुअल फण्ड खरिद गर्नुपर्ने नै रिटेल इन्भेष्टर अर्थात व्यक्तिगत लगानीकर्ताहरुले हो । जो सँग ठूलो पुँजी छैन, लगानी गरेर त्यसको नियमितरुपले मुल्याङ्कन गर्ने समय पनि छैन, पुँजी बजारमा सहीरुपले लगानी गर्नुपर्ने ज्ञान पनि छैन तर जो पुँजी बजारमा लगानी गर्न इच्छुक हुनुहुन्छ, त्यस्ता लगानीकर्ताहरुका लागि म्युचुअल फण्ड सबैभन्दा उपयुक्त लगानीको साधन हो । 

जसले पहिले नै पुँजी बजार वा म्युचुअल फण्डमा लगानी गरिरहेको हुनुहुन्छ, उहाँहरुका लागि लगानीको थप एक अवसर यो हिमालयन ८०–२० योजना हुन सक्छ । लगानीलाई विविधिकरण गर्न यसले सहयोग गर्छ । हामीले एउटा रणनीति लिएका छौँ, यस योजनामा लगानी गर्ने सबैले सोही रणनीतिको प्रयोगले आफ्नो लगानी वा पोर्टफोलियोलाई विविधिकरण गर्न सक्ने भए ।

यो संस्थागत लगानीकर्ताहरुलाई पनि म्युचुअल फण्डमा लगानीको अवसर हो । संस्थागत लगानीकर्ताहरुले विभिन्न नियामकीय प्रावधानका कारणले बजारमा सहजरुपले लगानी गर्न असमर्थ भएको अवस्थामा यस हिमालयन ८०–२० योजनामार्फत सहजरुपले लगानी गर्न सक्नुहुनेछ ।

म्युचुअल फण्ड विज्ञले चलाएको भनिन्छ, तर न्याभ घटेर ७ रुपैयाँ पुगेको देखिन्छ, मार्केट मेकर भनिन्छ, तर व्यबहारमा मार्केट मेकरको भूमिका निभाउन सकेको देखिँदैन । समस्या कहाँ भएको होला?

म्युचुअल फण्डले आफ्नो भूमिका निभाइरहेको छ । आजको दिनमा बजारमा ४२ अर्ब भन्दा बढीको म्युचुअल फण्ड योजनाहरु सञ्चालनमा छन्  । सबैले सप्लाई होल्ड गरेर बसेकै छन् । यदि उनीहरुले बजार घट्न लाग्यो भनेर शेयर बेचेर क्यास लिएर बसेको भए त १० रुपैयाँबाट न्याभ तल नै आउने थिएन । १० रुपैयाँभन्दा तल न्याभ आउनु भनेकै उनीहरु एसेट होल्ड गरेर बसेका छन् भन्ने हो, बजार घट्न थालेका बेला बेचेर नगद लिएर बसेको भए त न्याभ १० रुपैयाँभन्दा बढी नै हुन्थ्यो होला । म्युचुअल फण्डहरुले ४२ अर्ब बढीको सपोर्ट दिएर बसेका छन, त्यसले केही न केहीरुपमा बजारलाई स्टेबल बनाउन सहयोग गरेको छ । 

म्युचुअल फण्डहरुले गर्नुपर्ने सबै गरेका छन् भनेर त म भन्दिन तर म्युचुअल फण्डहरुले पुरा गर्नुपर्ने  जिम्मेवारी चाहिँ पुरा गरेका छन् । बजारको विकाससँगै भोलिका दिनमा यो अझै सुधार हुँदै जाने छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने बजारमा बन्दमुखी योजना एकदमै न्युन र खुलामुखी योजना धेरै छन् । हामी अहिले म्युच्युअल फण्ड बजारको प्रारम्भिक विकासको चरणमै छौँ र म्युचुअल फण्डको भूमिका बढ्दै जाने नै छ ।

खुलामुखी फण्ड ल्याउने योजनामा हिमालयन क्यापिटल छ ?

समान प्रकृतिका धेरै म्युचुअल फण्ड योजनाहरु सञ्चालन गर्ने हाम्रो लक्ष्य छैन । विशिष्टकृत योजनाहरु भने मागअनुसार सञ्चालन गर्न सकिनेछ । हाम्रो दोस्रो योजना खुलामुखी ल्याउने लक्ष्य छ र त्यसैमा आधारित भएर हामीले रणनीतिहरु तजुर्मा गरिरहेका छौँ । हिमालयन क्यापिटलले हालका लागि २ वटाभन्दा बढी बन्दमुखी योजना सञ्चालन गर्ने लक्ष्य राखेको छैन । 

अन्त्यमा लगानीकर्तालाई के सन्देश दिन चाहनु हुन्छ ?

बजारमा उतारचढाव भइरहन्छ । कुनै वर्ष बजार बढ्छ , कुनै वर्ष घट्छ । पुँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई हरेक वर्ष लाभ नै हुन्छ भन्ने सोचेर हुँदैन । बजारमा जोखिम हुन्छ नै । जोखिम कम हुन्छ भनिएका मुद्दती निक्षेप वा सरकारको ऋणपत्रमा पनि केही न केही जोखिम त छ नि । आफूले कति जोखिम लिन सक्छु भनेर बजारमा लगानी गर्नुपर्छ ।  

हामीले रिटेल इन्भेष्टर तथा योग्य संस्थागत लगानीकर्ताहरुलाई लक्षित गरेर यो हिमालयन ८०–२० योजना ल्याएका छौँ । सबै व्यक्तिगत लगानीकर्ताहरुलाई योजनाका इकाईहरु  खरिद गर्नका लागि आग्रह गर्छौ । हामीले ४–५ वर्षदेखि गरेको अध्ययन र अभ्यासले देखाएको नतिजाको आधारमा योजना सञ्चालन गर्नेछौँ । टेस्ट भइसकेका रणनीतिमार्फत योजना चलाउने भएकाले भविष्यमा उचित प्रतिफल दिन हामी सक्षम छौँ  । त्यसकारण सबैलाई यस हिमालयन ८०–२० योजनामा लगानी गरेर आफ्नो पोर्टफोलियो विविधिकरण गर्नका लागि आग्रह गर्दछु । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved