३ लघुवित्तले पालन गरेनन् राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2024 | 05:21:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन प्रकाशन गरेको छ ।  आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरणको आधारमा नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली २०७४ को परिच्छेद ५ बमोजिम गैर– स्थलगत सुपरिवेक्षण  गरी समग्र वित्तीय स्थितिको विश्लेषण तथा निर्देशन पालनाको अवस्था सहितको प्रतिवेदन सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदनमा २०८० पुस मसान्तमा संचालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरुको अपरिष्कृत वित्तीय विवरणहरु समावेश गरिएको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरु अन्तर्गत पुँजीकोष, वित्तीय स्रोत संकलन, अनिवार्य मौज्दात, कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्था, प्रति ग्राहक कर्जा सीमा, ब्याजदर सम्बन्धी व्यवस्था, लगानी सम्बन्धी व्यवस्था आदिको निर्देशन पालनाको स्थिति राष्ट्र बैंकले सर्वजनिक गरेको छ । जसमा ३ लघुवित्तले राष्ट्र बैंकको निर्देशन पालन नगरेको प्रतिवेदनमा उल्लेख छ  ।

हेर्नुस् प्रतिवेदनमा उल्लेख रहेको निर्देशन पालनाको स्थिति 

 पुँजीकोष अनुपात
राष्ट्र बैंकको निर्देशन बमोजिम लघुवित्त वित्तीय संस्थाहरूले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँंजी र ८ प्रतिशत पुंँजीकोष कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा सुपर लघुवित्त वित्तीय संस्था लि. र श्रृजनशिल लघुवित्त वित्तीय संस्था लि. को पुँजीकोष ८ प्रतिशत भन्दा कम रहेको देखिन्छ । सुपर लघुवित्त वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ बमोजिमको कारवाही गरिएको छ । अन्य ५५ वटा लघुवित्त वित्तीय संस्थाहरूले पुंँजीकोष सम्बन्धीे निर्देशनको पालना गरेको देखिन्छ ।

वित्तीय स्रोत संकलन

अघिल्लो त्रयमासमा कायम रहेको प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत संकलन गर्न पाउने विद्यमान व्यवस्था रहेकोमा २०८० पुस मसान्तमा सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरूले सो निर्देशनको पालना गरेको देखिन्छ । 

सक्रिय कर्जा नोक्सानी व्यवस्था
राष्ट्र बैंकको निर्देशन बमोजिम २०८० पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाले असल कर्जाका लागि १.३ प्रतिशत र सुक्ष्म निगरानी र पुनरसंरचना÷पुर्नतालीकिकरण कर्जाका लागि ५ प्रतिशत तथा बीमित कर्जाको हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेको देखिन्छ । साथै सक्रिय कर्जाका लागि कुल कर्जा रकमको १.६० प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेको देखिन्छ ।

निष्क्रिय कर्जा नोक्सानी व्यवस्था

राष्ट्र बैंकको निर्देशन बमोजिम २०८० पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाले निष्क्रिय कर्जालाई कमसल, शंकास्पद र खराब कर्जामा वर्गीकरण गरी क्रमश २५, ५० र १०० प्रतिशत तथा बीमित कर्जाको हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेको देखिन्छ । २०८० पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जामा निष्क्रिय कर्जा अनुपात ६.८५ प्रतिशत रहेको देखिन्छ । साथै निष्क्रिय कर्जाका लागि कुल कर्जा रकमको ३.३९ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेको देखिन्छ ।

२०८० पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुले रु २१ अर्ब ९० करोड बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेका छन् । उक्त रकम कुल बाँकी कर्जाको ४.९८ प्रतिशत र निष्कृय कर्जाको ७२.७४ प्रतिशत रहेको देखिन्छ ।

धितो कर्जा र कुल कर्जा अनुपात
लघुवित्त वित्तीय संस्थाहरुले आफूले प्रदान गरेको कुल कर्जाको एक–तिहाई (३३.३३ प्रतिशत) मा नबढ्ने गरी धितो लिई लघु उद्यम कर्जा प्रदान गर्नसक्नेव्यवस्था रहेकोमा २०८० पुस मसान्तमा धितो कर्जा कुल कर्जाको १७.३५ प्रतिशत रहेको देखिन्छ ।

अनिवार्य मौज्दात अनुपात
राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुले कुल बचत दायित्वको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०८० पुस मसान्तमा सुपर लघुवित्त वित्तीय संस्था लि. र समाज लघुवित्त वित्तीय संस्था लि. बाहेक अन्य सबै लघुवित्त वित्तीय संस्थाहरुले सो निर्देशनको पालना गरेकोदेखिन्छ ।

तरल सम्पत्ति अनुपात
राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन २०७९ अनुसार सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो कुल बचत दायित्वको २.५ प्रतिशत तरल सम्पत्ति अनुपात तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो कुल बचत तथा निक्षेप दायित्वको ४ प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०८० पुस मसान्तमा सुपर लघुवित्त वित्तीय संस्था लि. बाहेक अन्य सबै लघुवित्त वित्तीय संस्थाहरुले सो व्यवस्थाको पालना गरेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकमा पठाउनुपर्ने विवरण सम्बन्धमा
राष्ट्र बैंकबाट जारी भएको निर्देशन नं. ९ बमोजिम वित्तीय विवरणहरु राष्ट्र बैंकमा पठाउनु पर्ने व्यवस्थाको सम्बन्धमा २०८० पुस मसान्तसम्ममा सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुले आवश्यक कागजात तथा वित्तीय विवरणहरु पठाइरहेको देखिन्छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved