सिवाईसी लघुवित्तमा सीईओ नियुक्त नहुनुमा गम्भीर षडयन्त्र भएको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2024 | 12:24:28 PM मा प्रकाशित

laxmi  sunrise bank

विवादको अर्को नाम बन्न पुगेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था पछिल्लो एक महिनादेखि सीइओबिहिन अवस्थामा रहेको छ। माघ २९ गतेको वार्षिक साधारणसभाबाट डोलराज प्रसाद प्रबन्ध निर्देशकबाट हटेर संचालकमा मात्रै सिमित भएपछि पछिल्लो एक महिनादेखि लघुवित्त सीइओ बिहिन बन्न पुगेको हो ।

नेपाल राष्ट्र बैंकले साधारणसभा स्वीकृतिको लागि लागि प्रबन्ध निर्देशक पदको साट्टो प्रमुख कार्यकारी अधिकृत राख्नुपर्ने सर्त राखेपछि शर्मा प्रबन्ध निर्देशक पदबाट संचालक सदस्यमा सिमित भएका हुन्। शर्मा संचालक समिति सदस्यमा सिमित भएपछि सिवाईसीले पौष ७ गते पहिलो पटक सीइओको लागि खुला दरखास्त आह्वान गरेको थियो। २२ दिन म्याद राखेर खुलाइएको आवेदनमा पर्याप्त आवेदन नपरेको भन्दै फेरि माघ ३ गते दोस्रो पटक आवेदन खुलाइएको थियो। 

दोस्रो पटक खुलाइएको आवेदनमा पनि चित्त बुझ्दो आवेदन नपरेकाले अबको एकाध दिनमा तेस्रो पटक सीइओको लागि आवेदन खुला गरिने सिवाईसीकाअध्यक्ष पद्मनाथ शर्माले बताए। उनकाअनुसार दोस्रो पटक खुलाइएको आवेदनमा ६ जनाको आवेदन परेपनि आवेदकको योग्यता नपुगेकाले तेस्रो पटक आवेदन खुलाउन लागिएको हो। यद्दपि को कसको आवेदन परेको भन्नेबारे सिवाईसीले खुलाएको छैन। 

स्रोतकाअनुसार सिवाईसीमा सीइओ नियुक्ति नहुनुमा गम्भीर षडयन्त्र भएको छ। अहिले संचालकमा सिमित रहेका डोलेन्द्र प्रसाद शर्मालाई फेरि प्रबन्ध निर्देशकमा ल्याउनलाई सिवाईसीमा सीइओ नियुक्तिको नाटक गरिएको हो। 

शर्माले खाद्य संस्थान, नेपाल आयल निगम, कृषि सामग्री कम्पनी र नेपाल दुरसंचार प्राधिकरणमा प्रमुखको लागि आवेदन दिएकाले यो बीचमा सीइओ नियुक्तिको नाटक मात्रै गरिएको हो। यी तिनै सरकारी निकायमा नियुक्ति नपाए शर्मालाई फेरि सिवाईसीमा प्रबन्ध निर्देशकमा ल्याउने बाटो खुलाउन यस्तो नाटक रचिएको स्रोतको दाबि छ। 

तर नेपाल राष्ट बैंकको निर्देशन विपरित दुई दुई पटक प्रबन्ध निर्देशक भईसकेका शर्मालाई तेस्रो पटक प्रबन्ध निर्देशक बन्न सहज नहुने नेपाल राष्ट्र बैंक उच्च स्रोतले जनाएको छ। 

"राष्ट्र  बैंकको लघुवित्त सुपरिवेक्षण विभागको साथ र उच्च राजनीतिक दबाबका कारण यस अघि निर्देशन विपरित प्रबन्ध निर्देशक भएपनि अब त्यो सम्भव छैन, राष्ट्र बैंकको गरिमामाथि नै आँच आउने काम हुँदा अब चुपचाप रमिता हेर्न सकिन्न" राष्ट्र बैंक उच्च स्रोतले भन्यो। 

एकै व्यक्ति दुई पद अर्थात संचालक र सीइओमा हुँदा संस्थामा सुशासन नहुने भन्दै नेपाल राष्ट्र बैंकले निर्देशन नै जारी गरेर प्रबन्ध निर्देशक पद नराख्न सबै संस्थालाई पत्राचार गरेको थियो। तर अरु सबै संस्थाले निर्देशनको पालना गरेपनि सिवाईसी लघुवित्तले अटेर गर्दै डोलेन्द्र शर्मालाई दुई कार्यकाल प्रबन्ध निर्देशकमा राखेको थियो। 

चौतर्फी राजनीतिक दबाबका कारण कारबाही नगरेको राष्ट्र बैंकले वार्षिक साधारण सभाको लागि स्वीकृति दिन अगाडी भने प्रबन्ध निर्देशक पद हटाएर प्रमुख कार्यकारी प्रमुख नियुक्ति गर्नुपर्ने सर्त राखेको थियो। सोहिअनुसार कम्पनीले सीइओको लागि आवेदन खुलाएको थियो। तर अहिले आएर सीइओ नियुक्तिको आह्वान नाटक मात्रै भएको खुलासा भएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved