कुनै बेला काठमाडौँ कोटेश्वरस्थित मदन भण्डारी पार्क नजिकैको एउटा इन्टरप्राइजेजले ६० दिन पछिको चेक लिएर बजारमा सामान पठाउँथ्यो । सामान लिएका व्यवसायीले दिएको चेक ६० दिन पछि अर्थात् जुन मितिमा साट्ने गरि काटेर दिएका हुन्थे त्यो मितिमा साट्न पुग्दा बैंकबाट साटिन्थ्यो । अथवा, सो इन्टरप्राइजेजका नाममा डिपोजिट हुन्थ्यो ।
तर, अहिले अवस्था फेरिएको छ । अहिले सामान लैजाने पसलवालाले दिने निश्चित समय पछिको चेक न साटिन्छ, न डिपोजिट हुन्छ, न ति व्यवसायी नै सम्पर्कमा हुन्छन् । आफ्नो कम्पनीबाट सामान लगेर विभिन्न बैंक र सहकारीका चेक दिएका ६० भन्दा बढी व्यवसायीहरु सम्पर्कविहीन बनेको उक्त इन्टरप्राइजेजका सञ्चालकको भनाइ छ । यतिसम्म कि नयाँ उधारो त उठेन उठेन, २०७५/०७६ देखिका उधारो नउठेर व्यवसायीहरु हैरान छन् ।
आयातकर्ताबाट सामान लिएर व्यवसायीमा डिष्ट्रीब्यूट गर्ने एक कम्पनीलाई योगेन्द्र सेन नामक व्यक्तिले चलाएको क्वालिटी सप्लायर्सले २०७६ साल कार्तिक १९ गते ५ लाख ५५ हजार ८०७ रुपैयाँको चेक दियो । एभरेष्ट बैंकको उक्त चेक बोकेर पटक पटक डिष्ट्रीब्यूट कम्पनीका कर्मचारी र सञ्चालक चेक बोकेर डिपोजिट गर्न बैंकमा धाए तर, चेकमा पैसा नभएपछि जम्मा भएन । केही दिन पछि खातामा पैसा आउँछ र म खबर गर्छु भन्दै टारेका सेन त्यसयता सम्पर्कविहीन छन् । न उनले चलाएको क्वालिटी सप्लायर्स नै छ ।
यसैगरि काठमाडौँकै एक वितरक कम्पनीबाट ए एण्ड एस ग्लोबल ट्रेडिङ नामक कम्पनी (व्यवसायी)ले ५ लाख ३४ हजार ३८० रुपैयाँको सामान लग्यो । २०७८ साल पौषमा सामान लगेको ए एण्ड एस ग्लोबल ट्रेडिङले ५ लाख ३४ हजार ३८० रुपैयाँलाई २ भाग लगाएर २ लाख ६७ हजार १९० रुपैयाँका २ वटा चेक दियो । एउटा चेक २०७८ पौष २१ गते र अर्को चेक २०७८ साल पौष २६ गते दिएको थियो । तर, यी दूबै चेक साटिएनन् । उक्त वितरक कम्पनीसँग यसरी पैसा नउठेका चेकको मुठो ठूलै छ ।
यस्तै, रामजी शर्मा नाम गरेका एक व्यवसायीले पनि कुनै एक वितरक कम्पनीमार्फत सामान लगेका थिए । फेन्सी र साबुन स्याम्पू लगायतका सामान लगेका उनले वितरक कम्पनीलाई रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाको चेक दिए । २०७५ साल असार ३१ गते शर्माले १ लाख ३३ हजार ७७० रुपैयाँको चेक दिए पनि यो चेक साटिएन । अहिले शर्मा सम्पर्कमा छैनन् । वितरक कम्पनीका सञ्चालक त्यहीँ चेक हेरेर बसिरहेका छन् ।
यस्तै, एक जना वीरेन्द्र प्रसाद भट्ट नाम गरेका व्यक्तिले पनि कुनै वितरकमार्फत सामान लगे । उनले ५० हजार रुपैयाँको सामान लगेर वितरकलाई ५० हजार बराबरको छलेश्वरी बचत तथा ऋण सहकारी संस्थाको चेक दिएका थिए । २०७७ साल असार २ गतेको मितिमा काटिएको यो चेक पनि वितरकको खातामा जम्मा भएन । सामान लैजाने भट्ट अहिले सम्पर्कमा छैनन् ।
‘नसाटिएका ५/६ हजारदेखि ५/६ लाख सम्मका चेकको बिटो नै बनिसक्यो’ एक जना वितरक भन्छन्, ‘हजारको कारोबार गर्नेलाई त्यहीँ हजार पनि बजारबाट नउठ्दा समस्या छ । लाखको कारोबार गर्नेको पनि हालत यस्तै हो, अर्बको कारोबार गर्नेको झन हालत के होला ?’
ति वितरकका अनुसार आयातकर्ता वा उत्पादनकर्ताले हजारौँ वितरकलाई हजार वा लाखका सामान दिएका हुन्छन् । वितरकले बिक्रेतालाई त्यस्तो सामान पुर्याउँछन् । तर, बिक्रेताको ब्यापार घटेपछि उसले वितरकलाई पैसा तिर्न सकेको छैन । वितरकले बिक्रेताबाट पैसा नपाउँदा आयातकर्ता वा उत्पादनकर्तालाई पैसा तिर्न सकेका छैनन् ।
‘बजारको यो चेन नै विथोलिएको छ, साना ठूला सबै उद्योगी व्यवसायीको अर्बौको उधारो उठेको छैन’ उद्योग वाणिज्य संघका एक जना पदाधिकरी भन्छन्, ‘बिक्रेता, वितरक, आयातकर्ता वा उत्पादनकर्ताबीच एक आपसमा अविश्वास बढ्दो छ । यसले बजारको चक्रमा प्रहार गरेको छ । जसका कारण समग्र अर्थतन्त्र नै दुर्घटनाको जोखिममा पुगेको छ ।’