एनएमबि बैंकले बिक्रि खुला गरेको फर्दर पब्लिक अफरिंङ (एफपीओ) मा आठौँ दिनसम्म करिब ६० प्रतिशत आबेदन परेको छ। जेठ ३० देखि बिक्रि खुला भएको एफपीओमा बिहिबार बेलुकासम्म २ अर्ब २९ करोड रुपैयाँ बराबरको आबेदन परेको नागरिक लगानी कोषले जनाएको छ।
प्राप्त जानकारी अनुसार बैंकको एफपीओमा ५७ हजार ५०० आवेदकबाट २ अर्ब २९ करोडको आबेदन परेको छ। जसमा संस्थागत लगानीकर्ताबाट १ अर्ब ८३ करोड भन्दा बढीको आबेदन परेको छ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरि सार्वजनिक निष्काशनमा रहेको अधिकतम सिमा हटाउने निर्णय गरेसंगै बैंकले आबेदन दिन पाउने अधिकतम सिमा संसोधन गरेको हो।
बैंकले एफपीओमा आबेदन दिन पाउने कित्ताको सिमा ५७ हजार ७० बाट बढाएर ५० लाख पुर्याएको हो। यससंगै बैंकको एफपीओ किन्न इच्छुकले अधिकतम १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको ५० लाख कित्तासम्म आबेदन दिन पाउनेछन। न्युनतम १० कित्ताका लागि आबेदन दिन पाउनेछन।
बैंकले जेठ ३० गतेदेखि छिटोमा असार ३ गतेसम्म आवेदन दिन सकिने गरी सर्बसाधारणको लागि शेयर निष्काशन गरेको थियो। एफपीओ बिक्रि नभएपछी सोमबारदेखि संस्थागत लगानीकर्तालाई समेत एफपिओमा आवेदन खुला गरिएको हो। एफपिओमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २ सय ३३ रुपैया प्रिमियम थप गरी प्रति शेयर ३ सय ३३ रुपैयाँमा एफपिओ निष्काशन गरेको हो । बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरेको छ।
लगानीकर्ताले सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्ने छन्। त्यस्तै मेरो शेयरमार्फत अनलाइनबाट समेत आवेदन दिन सकिने छ।
असार २८ गतेसम्म बिक्रि नभएमा प्रत्याभूत गर्ने कम्पनीहरु नागरिक लगानी कोष, ग्लोबल आईएमई क्यापिटल, एनआईबिएल क्यापिटल, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ, प्रभु क्यापिटल, आरबीबी मर्चेन्ट बैंकिङले बैंकको एफपीओ किन्नु पर्ने हुन्छ।
हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ। एफपीओ निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्नेछ भने बैंकमा शेयर स्वामित्व हाल कायम संस्थापक ६० र साधारण शेयर स्वामित्व ५१ र ४९ प्रतिशत हुनेछ।
एफपिओ बिक्रिबाट बैंकले प्रिमियम वापत २ अर्ब ६५ करोड रुपैयाँ जम्मा गर्ने छ । हाल कायम भएको जगेडा कोषमा प्रिमियमबाट उठेको रकम थप गरी बोनस दिएर बैंकले चुक्ता पुंजी ८ अर्ब पुर्याउने छ। यसको लागि बैंकले करिब ६ प्रतिशत बोनस शेयर दिनु पर्ने छ।