मध्ये भोटेकोशी जलविद्युत कम्पनीले संचयकर्ताको लागि निष्कासन गरेको आईपिओमा तुलनात्मक रुपमा संचयकर्ताको कम सहभागिता देखिएको छ । हालसम्म रसुवागढी हाइड्रोपावर, सान्जेन हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर र मध्ये भोटेकोशी हाइड्रोले संचयकर्ताहरुको लागि छुट्टै आईपिओ निष्काशन गरेका छन् । यी मध्ये भोटेकोशीको आईपिओमा संचयकर्ताको कम आकर्षण देखिएको छ ।
तामाकोशीले संचयकर्तालाई शेयर निष्काशन गर्दा सबै भन्दा धेरै १ लाख ९१ हजारले आवेदन दिएका थिए । यी ४ कम्पनी मध्ये भोटेकोशीको आईपिओमा सबै भन्दा कम अर्थात् १ लाख ४० हजारले आवेदन दिएका हुन् । भोटेकोशीको आईपिओमा आवेदन दिन योग्य संचयकर्ता ६ लाखको संख्यामा रहेतापनि डेढ लाख भन्दा कमले आवेदन दिएका हुन् । यो २५ प्रतिशत भन्दा पनि कम हो ।
कर्मचारी संचय कोषका बरिष्ठ प्रबन्ध निर्देशक दामोदर सुबेदी स्वयं संचयकर्ताको सन्तोषजनक सहभागिता नदेखिएको स्वीकार गर्छन । यसको कारणबारे उनी ३ वटा तर्क दिन्छन। पहिलो आयोजनाको लागत बढ्ने कारण, दोस्रो तामाकोशी इफेक्ट र तेस्रो प्रचार प्रसारको कमी । आयोजनाको लागत बढ्ने हुँदा समय मै प्रतिफल नपाइने हो कि भन्ने चिन्ता संचयकर्तामा देखिएको उनको भनाई छ । त्यस्तै तामाकोशीले संचयकर्तालाई शेयर निष्काशन गरेको ४ बर्ष भईसकेको छ। ४ बर्ष भईसक्दा पनि कम्पनीको शेयर नेप्सेमा सुचिकृत हुन् सकेको छैन । शेयर सुचिकृत भएपछि पनि ३ बर्ष उनीहरुले यो शेयर बेच्न पाउने छैनन । यस हिसाबमा ७ बर्ष उनीहरुको रकम फ्रिज हुने पक्का छ । भोटेकोशीको हालत पनि त्यहि होला कि भन्ने डर पनि संचयकर्तामा देखिएर कम आवेदन परेको हुन् सक्ने सुबेदी बताउछन् । साथै प्रचार प्रसार पनि पर्याप्त रुपमा गर्न नसकेको सुबेदीको बुझाई छ ।
शेयरबजारबारे जानकार अधिबक्ता ज्योति दाहाल यी कारण बाहेक अन्य केहि कारण पनि रहेको बताउछन् । उनका अनुसार हाल कायम रहेका जलविद्युत कम्पनीले दिने प्रतिफल न्यून छ । अझै आगामी दिनमा हाइड्रोका कैयौ शेयर थपिने र आपूर्ति बढी भई मूल्य घट्ने विश्लेषण गरेर पनि संचयकर्ता केहि पछि हटेका हुन् । शेयर निष्काशन गर्दा लाभको साथ साथ जोखिम पनि बाडिने हुनाले संचयकर्ताले बढी जोखिम लिन नचाहेको अधिबक्ता दाहालको बुझाई छ । अहिले आएको आवेदन पनि उपत्यका र उपत्यका बाहिरका प्रमुख शहरबाट आएको उनी बताउछन् । यी बाहेक अन्य स्थानमा पनि ठुलो संख्यामा संचयकर्ता रहेको तर उनीहरुले पहुँच नपाएर शेयर भर्न नसकेको हुन् सक्ने उनि बताउछन् । आफु स्वयं पनि उपत्यका बाहिरका कतिपय बैंकमा जाँदा बैंकका कर्मचारीलाई नै सिआरन नम्बर लगायतको जानकारी नभएको पाईएको उनको तितो अनुभव छ । त्यस्तै आयोजनाको लागत बढ्ने, तामाकोशीको जस्तै लामो समय रकम फ्रिज हुने जस्ता कारण बाहेक प्रसारण लाइनको अनिश्चितता पनि हुन् सक्ने उनको भनाई छ ।
उता भोटेकोशी कम्पनीका सीइओ मनिराम काफ्ले आईपिओमा उत्साहजनक सहभागिता देखिएको दाबी गर्छन । उनी भन्छन् ' अन्य निष्काशनमा पनि संचयकर्ताको आवेदन पौने २ लाखको हाराहरीमा हुन्थियो, हाम्रोमा कारोब डेढ लाखले शेयर भरेका छन्, पौने ४ अर्बको आवेदन परेको छ' । यसलाई आफुले सकारात्मक रुपमा लिएको र तामाकोशीको अवस्थाको कारणले यो आईपिओलाई कुनै असर नगरेको उनी बताउछन् । साथै उनी चिलिमेको प्रगति उत्साहजनक रहेको र यो कम्पनी पनि चिलिमेको सहायक कम्पनी भएकोले थप संचयकर्ताको सहभागिता देखिएको उनको बुझाई छ ।
बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल पनि कम सहभागिता देखिएको ठानेको छ । क्यापिटलकी सहायक सीइओ नलिना श्रेष्ठ अहिले हाइड्रोको बजारमा त्यति उत्साह नदेखिएकोले कम संचयकर्ताले मात्र आवेदन दिएको बताउछिन् । दोस्रो कारण ३ बर्षे लकिंङ पिरियड रहेको उनको बुझाई छ । संचयकर्ताको तर्फबाट आवेदन दिंदा ३ बर्षसम्म बेच्न नपाइने र सर्वसाधारणलाई शेयर निष्काशन हुँदाको बखतमा पनि आवेदन दिन नपाइने नियमले संचयकर्तामा उत्साह नदेखिएको उनी बताउछिन् । आफु स्वयंले भेटेका केहि संचयकर्ताले अहिले शेयर नहालेर सर्वसाधारणलाई निष्काशन हुँदा मात्र हाल्ने तयारी गरेको उनले बताएकी छिन् । सर्वसाधारण कोटामा हाल्दा कारोबार सुरु हुना साथ् बिक्रि गर्न पाइने तर संचयकर्ताको रुपमा हाल्दा लकिंङ पिरियड नै लामो समय हुने हुनाले अधिकांशले चासो नदिएको पाईएको उनले बताएकी छिन् ।
कम्पनीले आगामी बुधबारदेखि संस्थापक शेयरधनी संस्थाका कर्मचारी र संचयकोषका कर्मचारीलाई शेयर निष्काशन गर्दै छ ।