शिवम् सिमेन्टले लियो धितोपत्र बोर्डको कमजोरीको फाइदा, हालीमुहाली कायम राख्न विशेष साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2022 | 10:27:51 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय शेयर बजारमा शिवम सिमेन्टको अत्याधिक चर्चा छ । शिवम सिमेन्ट कै कारण बजार प्रभावित भएको बजारका ठूला लगानीकर्ताले बताउने थालेका छन् । यसलाई पुष्टि गर्ने आधार पनि बजारले नै दिएको छ । विगत केहि महिनादेखि हरेक दिन जसो बढी शेयर कारोबार हुनेको शिर्ष स्थानमा शिवम सिमेन्ट पर्दै आएको छ । यसको कारण हो कम्पनीका प्रमोटरहरुले भटाभट शेयर बेचेर बाहिरिनु ।

२०७८ फागुन २२ गतेबाट प्रमोटर शेयरको लकईन पिरियड खुला भएको छ। कम्पनीको आईपिओ २०७५ फागुन २२ मा बाँडफांड भएको थियो। सोहि अनुसार ३ वर्षको लकइन पिरियड सकेर २०७८ फागुन २२ बाट कम्पनीको सबै शेयर कारोबार योग्य भएको हो।

शेयर कारोबार योग्य भएपछि कम्पनीका प्रमोटरले उच्च मूल्यमा कम्पनीको शेयर बिक्रि गरेर बाहिरिएका छन् । लकइन पिरियड खुलेको पहिलो दिन नै कम्पनीको शेयर मूल्य ७.११ प्रतिशतले घटेर १०८५ रुपैयाँ कायम भएको थियो । आज साउन २६ गते बिहिबारको शेयर कारोबार हुनु अगाडी कम्पनीको शेयर मूल्य ७४७ रुपैयाँ छ । अर्थात लकइन पिरियड खुलेको दिनको तुलनामा कम्पनीको शेयर मूल्य ३६ प्रतिशतले घटिसकेको छ । यस बीचमा कम्पनीका प्रमोटरहरुले ३० लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रि गरेर बाहिरिसकेका छन् ।

थप सप्लाई आउँदै

शिवम् सिमेन्टले भदौ १० गते अनामनगर स्थित आफ्नै कर्पोरेट कार्यालयमा विशेष सभा आह्वान गरेको छ । सभामा कम्पनीको स्वीकृत नियमावलीको नियम नं. २३ गणपुरक संख्या कूल शेयर संख्याको ६७ प्रतिशत रहेकोलाई संशोधन गरी ५१ प्रतिशत कायम गर्ने प्रस्ताव पेश हुने छ। साधारणसभामा कुनै पनि निर्णय गर्न ६७ प्रतिशत शेयर स्वामित्व भएका शेयरधनी आवश्यक पर्ने निर्णय संशोधन गरेर कम्पनीले त्यसलाई ५१ प्रतिशत मात्र कायम गर्न लागेको छ।

यसो हुँदा कम्पनीका प्रमोटरहरुलाई दोहोरो फाइदा देखिन्छ। एकातर्फ थप १६ प्रतिशत शेयर बिक्रि गर्ने बाटो खुल्नेछ भने अर्कोतर्फ १६ प्रतिशत शेयर बिक्रि गर्दा पनि आवश्यक पर्ने बहुमत उनीहरुसंग नै हुनेछ। यसले आम सर्वसाधारणको हातमा सेयर थुपार्दै जाने तर सँस्थामा मौजुदा हालीमुहाली नै कायम नै रहने भएकाले शिवमले बेमौसमी बिशेष साधारणसभा डाकेको देखिन्छ।

लकइन पिरियड खुलेपछि कम्पनीको ३० लाख कित्ता प्रमोटर शेयर बिक्रि भईसकेको छ भने अझै थप ७० लाख कित्ता शेयर बिक्रि भएर बाहिरिने अनुमान छ।

शेयर बिक्रि गर्न राजिनामा

कम्पनीका संचालकहरुले समेत शेयर बिक्रि गर्न कै लागि राजिनामा दिन थालेका छन् । घरायसी कारण देखाउदै पालैपालो संचालकबाट बाहिरिदै शेयर बिक्रिको लागि बाटो खुलाउने गरेका छन्। पछिल्लो समय कम्पनीका संचालक सन्दिप कुमार शारदाले राजिनामा दिएका छन् । उनका ठाउँमा गौरव कुमार शारदा आएका छन् । बजारका एक ठूला लगानीकर्ताले संचालक पद मै भएकाले पनि शेयर बिक्रि गरेको हुन सक्ने बताए। नियमन फितलो भएको र हाइड्रोहरुको हकमा प्रभावकारी नियमन हुन नसकेकोले त्यसको फाइदा उठाउदै संचालक हुँदा पनि शेयर बिक्रि गरेको हुन सक्ने उनको भनाई छ।

बजारको प्रणालीबाट पैसा बाहिरिएको अनुमान

यसरी शिवमको ठूलो मात्रको शेयर एकै पटक बिर्कीमा आउँदा प्रमोटरहरुले सर्वसाधारणको पैसा बाहिर लगेको र सो पैसा बजारको प्रणालीबाट बाहिरिएको ठूला लगानीकर्ता बताउछन् । बजार मै रहेका लगानीकर्ताले शेयर बिक्रि गरेको भए त्यो पैसा बजार मै रहन्थ्यो, अहिले प्रमोटरहरुले त्यो पैसा पुंजीबजार भन्दा बाहिरको सेक्टरमा लगेकोले बजारमा प्रभाव देखिएको छ' एक ठूला लगानीकर्ताले बिजपाटीसँग भने।

पुँजी संरचना

कम्पनीको चुक्ता पुंजी ४ अर्ब ४० करोड हो । जसमा प्रमोटर शेयरको हिस्सा ८८ प्रतिशत अर्थात् ३ करोड ८७ लाख २० हजार कित्ता हो । आयोजना प्रभावितको २ प्रतिशत अर्थात् ८ लाख ८० हजार कित्ता र सर्वसाधारणको ४४ लाख कित्ता हो । आयोजना प्रभवितले खरिद नगरेको ९४ हजार ६ सय ९५ कित्ता सर्वसाधारणमा बिक्रि गरिएको थियो ।सर्वसाधारणको शेयरमा कम्पनीका कर्मचारी र म्युचुअल फण्डले लिएको शेयर पनि समावेश छ । अब भने स्थानीय र प्रमोटरको शेयरको लकइन पिरियड खुलेकोले सबै शेयर खरिद बिक्रि योग्य भएका छन् ।

को को हुन् कम्पनीका प्रमोटर ?

आईपिओ निष्काशन गर्दा कम्पनीले सार्वजनिक गरेको विवरणपत्र अनुसार कम्पनीको प्रमोटरहरुमा सुरेन्द्र कुमार गोयल, रघुनन्दन मारु, सन्दिप कुमार शारदा, अमित मोर, रोहित गुप्ता, निवाश शारदा, राधेश्याम शारदा, पवन कुमार शारदा, अन्जनी नन्दन मारु, पुनम गोयल, श्रवण कुमार मोर, राजकुमार मोर ,राजेन्द्र प्रसाद मुन्दडा, देवकिशन मन्ुदडा, बेनि गोपाल मुन्दडा, नन्द किशोर मुन्दडा, साक्षी कुमारी भिमसरीय, वनोद कुमार भिमसरीया, प्रभा भिमसरीया (गोयन्का) र सुशिल गुप्ता रहेका छन् । यहाँ उल्लेख प्रमोटरहरु एकाघर भित्रैका र पारिवारिक नाता पर्नेहरु रहेका छन्।

५८ बुँदेको एउटा बुँदा कार्यन्वयन नहुँदा समस्या

मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवम्लगानीका लागि स्रोत व्यवस्थापनसम्बन्धी सुझाव समितिको प्रतिवेदनको एउटा बुँदामा यस्तै खालको समस्या आउँन सक्छ भन्ने हिसाबमा एउटा बुँदा समावेश छ ।

५८ बुँदेको बुँदा नम्बर ३५ मा 'सर्वसाधारण लगानीकर्ताहरुको हित संरक्षण गर्न वास्तविक क्षेत्रका संगठित संस्थाका संस्थापकहरुले लिएको संस्थापक शेयरको Lock-in-Period लाई अन्य वित्तीय क्षेत्रको नियमनकारी निकायले गरेको | व्यवस्थासँग सामञ्जस्यता हने गरी पुनरावलोकन गर्ने' उल्लेख छ । सो काम २०७५ चैत्रसम्म नेपाल सरकार र धितोपत्र बोर्डले गर्ने भनिएको थियो । तर हालसम्म भएको छैन । प्रमोटर शेयर हरेक वर्ष केहि प्रतिशत मात्र साधारण सरह बिक्रि गर्न मिल्ने ब्यबस्था नभएसम्म वास्तविक क्षेत्रका कम्पनी तथा हाइड्रोपावर कम्पनीमा यो समस्या आइरहने बजार विश्लेषकहरु बताउछन् ।

के भन्छ धितोपत्र बोर्ड ?

शिवम सिमेन्टको विशेष साधारण सभा कानुन अनुसार नै भएको नेपाल धितोपत्र बोर्डको भनाई छ। "नियामकले कानुनको आधारमा काम गर्नुपर्छ, कानुनभित्र रहेर नै कसैले काम गर्छ भने त्यसमा नियामकले केहि गर्नुपर्ने हुदैन" धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसी भन्छन्, "तर नियमको छिद्र  खोजेर कसैले काम गर्छ भने त्यसमा नियामकले थप कानुनी कडाईको विकल्प रोज्नुपर्ने हुन सक्छ।" 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved