
नेपाल धितोपत्र बोर्डले आगामी २०८१ जेठ १ गतेदेखि लागु हुने ब्रोकर कमिशन दर प्रकाशन गरेको छ । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूचीमा हेरफेर गरेर ब्रोकर कमिशन घटाएको हो ।
धितोपत्र बोर्डको वैशाख २३ गते आइतबार बसेको संचालक समितिको बैठकले २०८१ जेठ १ गतेदेखि साविकको ब्रोकर कमिशनमा १० प्रतिशत घटाएर नयाँ ब्रोकर कमिशन कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो। सोहि अनुसार बोर्डले ब्रोकर कमिशन दर प्रकाशन गरेको हो ।
अर्थ मन्त्रालयले ब्रोकर कमिशन घटाउनको लागि नेपाल धितोपत्र बोर्डलाई स्वीकृति प्रदान गरेपछि नयाँ ब्रोकर कमिशन लागु हुन लागेको हो । २०८१ वैशाख १२ गते मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वर्षमान पुनले बोर्डको प्रस्ताव बमोजिम ब्रोकर कमिशन घटाउन बोर्डलाई स्वीकृति प्रदान गरेका थिए ।
धितोपत्र बोर्डको २०८० कार्तिक १ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको ब्रोकर कमिशनमा समग्रमा १० प्रतिशत घटाउने निर्णय गरेर स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो। रमेश हमाल धितोपत्र बोर्डको अध्यक्ष हुँदै उनले कमिशन घटाउने निर्णय गरेर मन्त्रालयमा स्वीकृतिको लागि पठाउने निर्णय गरेका थिए।
लामो समयपछि अर्थ मन्त्रालयले घटेको ब्रोकर कमिशन कार्यान्वयनको लागि बाटो खोलिदिएको थियो। सोहि अनुसार धितोपत्र बोर्डले जेठ १ गतेदेखि नयाँ ब्रोकर कमिशन लागु गर्ने निर्णय गरेको हो ।
यस्तो छ २०८१ जेठ १ गतेदेखि लागु हुने नयाँ ब्रोकर कमिशन
१. रु. ५०,०००।– सम्मको कारोबारमा – ०.३६ प्रतिशत
२. रु. ५०,०००।– भन्दा माथि रु. ५,००,०००।–सम्मको कारोबारमा – ०.३३ प्रतिशत
३. रु. ५,००,०००।– भन्दा माथि रु. २०,००,०००।–सम्मको कारोबारमा– ०.३१ प्रतिशत
४. रु. २०,००,०००।– भन्दा माथि रु. १,००,००,०००।– सम्मको कारोबारमा – ०.२७ प्रतिशत
५. रु. १,००,००,०००।– भन्दा माथि जतिसुकैको कारोबारमा – ०.२४ प्रतिशत
हालको ब्रोकर कमिशन दर
१. रु. ५०,०००।– सम्मको कारोबारमा – ०.४० प्रतिशत
२. रु. ५०,०००।– भन्दा माथि रु. ५,००,०००।–सम्मको कारोबारमा– ०.३७ प्रतिशत
३. रु. ५,००,०००।– भन्दा माथि रु. २०,००,०००।– सम्मको कारोबारमा – ०.३४ प्रतिशत
४. रु. २०,००,०००।– भन्दा माथि रु. १,००,००,०००।– सम्मको कारोबारमा – ०.३० प्रतिशत
५. रु. १,००,००,०००।– भन्दा माथि जतिसुकैको कारोबारमा – ०.२७ प्रतिशत