आरजु क्याम्पको त्यो दबाब थेग्न नसकेको भए सेयरबजारमै आउँन सक्थ्यो गम्भीर समस्या, अब हाईसन्चो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jan 09, 2023 | 10:55:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीलाई नयाँ सरकार बनेपछि केहि हाईसन्चो भएको छ । नयाँ सरकार बनेकै कारणले नभई नेपाली कांग्रेस बिनाको सरकार बनेकोले उनलाई हाईसन्चो भएको हो ।

कांग्रेस सरकार रहेको बेला कार्कीलाई दैनिक रुपमा एउटा कामको लागि थेगीनसक्नु दबाब आउने गरेको थियो । दबाब पनि चानचुने नभई सत्ताको आडमा हाईप्रोफाइल बाट नै हुने गरेको थियो । दबाब के थियो र कसले दियो भन्ने विषय थाहा पाउनु अगाडी शेयर बजारका ब्रोकरहरुको नयाँ टिएमएसको विषय बुझ्नु पर्ने हुन्छ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोवार सञ्चालन (तेस्रो संशोधन) विनियमावली, २०७९ मार्फत ब्रोकरहरुले आफ्नै कारोबार ब्यबस्थापन प्रणाली (टिएमएस) चलाउन सक्ने ब्यबस्था गर्यो । त्यो ब्यबस्था गरिनु अगाडी ब्रोकरहरुले ‘हामीलाई कानुनी ब्यबस्था गरिदेउ, हामी अहिलेको भन्दा राम्रो टिएमएस ल्याउछौ’ भन्दै धितोपत्र बोर्ड र नेप्सेलाई ताकेता गरिरहन्थे । त्यति मात्र होइन ब्रोकरहरुले आफ्नै टिएमएस चलाउने भन्दै २०७७ साल असोज ११ गते कम्पनी रजिष्ट्रार कार्यालयमा 'क्यापटेक नेपाल' नामक प्राइभेट कम्पनी दर्ता गरे । ब्रोकरहरुको संयुक्त लगानीमा १० करोड चुक्ता पुँजी कायम गरेर आफ्नै टिएमएस चलाउन छुट्टै कम्पनी उनीहरुले खडा गरेका थिए ।

अन्तत: धितोपत्र बोर्डको २०७९ बैशाख ८ गतेको बोर्ड बैठकले ब्रोकरले आफ्नै टिएमएस राख्न सक्ने ब्यबस्था सहित धितोपत्र कारोवार सञ्चालन (तेस्रो संशोधन) विनियमावली, २०७९ स्वीकृत गर्यो। सोहि अनुसार नेप्सेले आफ्नै टिएमएस चलाउन चाहने ब्रोकरलाई अनुमतको लागि माग गर्यो। ५० शेयर ब्रोकर मध्ये ३४ वटा शेयर ब्रोकरहरुले विदेशमा प्रयोग भईरहेको कारोबार ब्यबस्थापन प्रणाली (टिएमएस) प्रयोग गर्ने भन्दै नेप्सेमा निवेदन दिए । आफ्नै टिएमएस चलाउन निवेदन दिएका ३४ मध्ये ३२ ब्रोकरले श्रीलंकाको कम्पनी आईरन वान टेक्नोलोजी प्रालिले विकास गरेको टिएमएस ल्याउन चाहेको भन्दै नेप्सेमा निवेदन दिए। आईरन वान टेक्नोलोजी प्रालिले बनाएको एट्राड नामको टिएमएस ल्याउने उनीहरुले बताएका थिए।

तर यस बीचमा ब्रोकरहरुले खोलेको क्यापटेक कम्पनी एकाएक गायब भयो र  ३२ वटै ब्रोकरले डिजी हब प्रालिमार्फत विदेशी टिएमएस ल्याउन आवेदन थिए। यति हुँदासम्म पनि सबै प्रक्रिया मै थियो। ब्रोकरको निवेदन पछि नेप्सेले विनियमावलीमा भएको ब्यबस्था अनुसार एलओआई अर्थात्  ‘लेटर अफ इन्टेन्ट’ पनि दियो। अब ब्रोकरहरुले पूर्वाधार तयार पारेर नेप्सेबाट टिएमएसको निरीक्षण गराउनु पर्ने थियो। सोहि बीचमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयो । कुनै पनि दलले प्रष्ट बहुमत पाएनन् । अनि पुरानो सेटिंग अनुसार काम नहुने पो होकी भनेर नयाँ सरकार गठन अगाडी नै शक्ति केन्द्रबाट आफुले चाहेको काम गराउनको लागि नेप्सेका सीइओ कार्कीलाई दबाब आउँन थाल्यो।

नियमावलीअनुसार ब्रोकरलाई आफ्नै टिएमएस चलाउन दिनको लागि तोकिएको प्रकिया प्रष्ट छ । नेप्सेले सोहि अनुसार काम गरिरहेको थियो । तर अचानक नेप्सेका सीइओ कार्कीलाई ब्यापक दबाब आउँन थाल्यो  । स्रोतका अनुसार डिजीहबले ३२ वटै ब्रोकरलाई छिटोभन्दा छिटो टिएमएसको लागि कनेक्सन जोडीदिनको लागि ब्यापक दबाब थिएको थियो । 

नेप्सेका सीइओ कार्कीलाई यसरि दबाब दिने २ प्रमुख पात्र थिए। पहिलो पात्र थिए निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाका छोरा जयवीर देउवा । पहिलो पात्रको दबाब भन्दा दोस्रो पात्रको दबाब दिप्ती सिंह राणाको थियो। दिप्तीले आफुलाई शेर बहादुर देउवाकी पत्नी आरजु राणा देउवाकी बहिनि भनेर चिनाउदै जतिसक्दो छिटो टिएमएसको लागि कनेक्सन जोडीदिनलाइ दबाब दिन थालिन्। बिजपाटी डटकमले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स शंकर समुहलाई दिने गरि मुम्बईमा सहमति भएको र उक्त सहमतिको छलफलमा दिप्ती सिंह सहितको टोलिको उपस्थिति भएको समाचार यस अघि नै छापेको थियो। अर्थात् शेयरबजारमा उनको प्रत्यक्ष चासो थियो ।

स्रोतका अनुसार तिनै दिप्ती सिंहले नेप्सेका सीइओलाई दबाब दिएर तुरुन्तै ब्रोकरलाई नयाँ टिएमएसको कनेक्सन जोडिदिन भनेकी थिइन् । सिंहले नेप्सेका सीइओलाई मात्र  नभई धितोपत्र बोर्डका अध्यक्ष समेतलाई चाबहिल स्थित आफ्नो घरमा बोलाएर कागजी प्रक्रिया तत्काल सकाएर कनेक्सन जोडिदिनको लागि भनेको स्रोत बताउछ । स्रोतका अनुसार डिजीहबमा दिप्ती सिंह डिजीहबकी संचालक पनि हुन् । कम्पनीका अध्यक्ष भने लोकराज शर्मा हुन् । उनी केहि वर्ष अगाडीसम्म एनआरएनका रुपमा विदेशमा थिए । उनले एनआरएन लघुवित्त स्थापना गर्नमा महत्वपूर्ण भूमिका खेलेका थिए । एनआरएन लघुवित्त र किसान लघुवित्त मर्ज भएपछि हाल उनी किसान लघुवित्तका अध्यक्ष छन् । 

 सत्ताको आडमा दिप्तीले  तत्काल कनेक्सन जोडिदिन दबाब दिएकी थिईन्। ब्रोकरलाई कनेक्सन जोडीदिंदा, ३२ वटै ब्रोकर कम्पनीले डिजीहब मार्फत टिएमएस चलाउथे र उनलाई आर्थिक लाभ मात्र नभई शेयर बजारका हरेक सूचनामा पहुँच समेत हुने गरेको थियो। 

यता डिजीहबका अध्यक्ष लोकराज शर्मा भने आफुहरुले दबाब दिएको अस्विकार गर्छन् । बिजपाटीसँगको कुराकानीमा उनले भने 'हामीले दबाब दियौ भन्ने कुरा रहेछ, हामीले कुनै दबाब दिएका छैनौ, धितोपत्र बोर्डको नियम र नेप्सेले गरेको ब्यबस्था भित्र रहेर हामीले काम गर्न खोजेका हौ, प्रणाली भित्र रहेर हामीले काम गर्न खोजेको हो, दबाब दिएको छैन ।' 

नेप्सेका कर्मचारी भन्छन् ‘कनेक्सन जोडीदिएको भए टिएमएस नै चल्दैन थियो’ 

नेपाली कांग्रेस नेतृत्त्वको सरकार विघटनले नेप्सेका सीइओलाई मात्र नभई कर्मचारीलाई पनि अहिले हाईसन्चो भएको छ। दिप्ती सिंहको आडमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेप्सेका कर्मचारीलाई जेल हाल्ने चेतावनी समेत नदिएका होइनन्। यी सबै कुराले मात्र नभई पूर्वाधार निरीक्षणमा गएका नेप्सेका कर्मचारी पूर्वाधारसँग समेत  सन्तुष्ट थिएनन्। 

उनीहरुले स्थलगत निरीक्षणको क्रममा न्युनतम आवश्यक पूर्वाधार र सफ्टवेयर नै नभएको बताउने गरेका छन् । एक कर्मचारीले बिजपाटीसँग भने ‘केहि पनि तयार थिएँन , तर कनेक्सन जोड्न ब्यापक दबाब थियो, कनेक्सन जोडेको भए पनि चल्ने थिएँन , कारोबार हुन् सक्ने अवस्थै थिएँन ,  पुरै टिएमएस प्रणाली मै समस्या आउँन सक्थ्यो, धन्न नयाँ सरकार आयो र त्यो अवस्थामा पुग्नु परेन’ ।

यो प्रकरण आउँदा नेप्सेका कर्मचारी आउँदा नेप्सेले प्रयोगमा ल्याएको अनलाइन प्रणाली पनि सम्झन्छन् । एक कर्मचारी भन्छन् ' त्यत्रो परिक्षण गरेर अनलाइन प्रणाली ल्याउँदा त् अलि ठूलो कम्पनीको कारोबार हुँदा समस्या आउने गरेको थियो , यहाँ त परिक्षण समेत गरिएन, त्यो बेला तामाकोशीको कारोबार आउँदा धेरै समस्या आएको थियो , अहिले परिक्षण समेत नगरी कनेक्सन जोड्न दबाब थियो, जोडिएको भए अन्य टिमएमएसमा पनि समस्या आउँन सक्थ्यो'। अब भने प्रक्रिया पुर्याएर नै कनेक्सन दिनु पर्ने , त्यसो नगरे प्रणाली मै जटिल समस्या आउने नेप्सेका आइटी विभागका कर्मचारी बताउछन् ।

ब्रोकर भन्छन् ‘परिक्षण भईरहेको छ, छिट्टै नयाँ आफ्नै टिएमएस आउंछ’ 

स्टक ब्रोकर एसोसिएसनका निवर्तमान अध्यक्ष सन्तोष मैनाली भने नेप्सेले पूर्वाधार लगायतका विषयको परिक्षण गरिरहेकोले छिट्टै आफ्नै टिएमएस संचालनमा आउने बताउछन् । प्राविधिक काम भईरहेको र ति कार्य अन्तिम चरणमा पुगेकोले छिट्टै नै नेप्सेसँग कनेक्सन अग्रिमेन्ट हुने र आफ्नै टिएमएस चलाउन सकिने उनको विश्वास छ ।

ब्रोकरलाई नै थाहा छैन ‘क्यापटेक किन हरायो’

ब्रोकरहरुले आफ्नै टिएमएस चलाउने भनेर खोलेको क्यापटेक कम्पनीको ठाउँमा डिजीहब आएकोमा ब्रोकर कम्पनी आफै अच्चामित छन् । एक ब्रोकरले बिजपाटीसँग भने ‘क्यापटेक कहाँ गयो ,र डिजीहब कसरी आयो , मलाई पनि थाहा छैन, तर डिजीहब दिप्ती सिंहको भएको र ब्यापक दबाब दिएको मैले पनि सुनेको छु’ । 

कुन कुन ब्रोकर आफ्नै टिएमएस चलाउन चाहन्छन् ?

आफ्नै टिएमएस चलाउन निवेदन दिएका ३४ मध्ये ३२ ब्रोकरले श्रीलंकाको कम्पनी आईरन वान टेक्नोलोजी प्रालिले विकास गरेको टिएमएस  ल्याउन चाहेका हुन्  । आईरन वान टेक्नोलोजी प्रालिले बनाएको एट्राड नामको टिएमएस ल्याउन खोजेका हुन् । उक्त टिएमएस श्रीलंकाको कोलम्बो स्टक एक्सचेन्जका ब्रोकरहरुले चलाईरहेका छन् । त्यहाँका २६ ब्रोकर मध्ये १८ वटाले यो टिएमएस चलाई रहेका छन्। यो टिएमएस डेस्कटप, वेब, मोबाइल भर्जनमा उपलब्ध रहेको बताईएको छ । यसमा २४ सै घण्टा सपोर्टको ब्यबस्था रहेको बताईएको छ । 

एट्राड टिएमएस प्रयोग गर्न आवेदन दिएकाहरुमा सेक्युर्ड सेक्युरिटिज लि, एबीसि सेक्युरिटिज प्रा.लि, त्रिशक्ति सेक्युरिटिज पब्लिक लि., नेपाल स्टक हाउस प्रा.लि, डाइनामिक मनि मेनेजरस सेक्युरिटिज प्रा.लि, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि, सुन्धारा सेक्युरिटिज लि, निभ सेक्युरिटिज प्रा.लि, दिपशिखा धित्तोपत्र कारोबार कं.प्रा. लि, स्वेता सेक्युरिटिज प्रा.लि, क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रा.लि, साउथ एशियन बुल्स प्रा.लि, क्रियटिभ सेक्युरिटिज प्रा.लि, कालिका सेक्युरिटिज प्रा.लि, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (प्रा).लि, इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रा.लि, अग्रवाल सेक्युरिटिज प्रा.लि, सेवा सेक्युरिटिज प्रा.लि, प्रज्ञान सेक्युरिटिज प्रा.लि, अनलाईन सेक्युरिटिज प्रा.लि, भृकुटी स्टक ब्रोकिङ्ग कं.प्रा.लि, अरुण सेक्युरिटिज प्रा.लि, स्टक ब्रोकर ओपल सेक्युरिटिज इन्भेष्टमेण्ट प्रा.लि, मार्केट सेक्युरिटिज एक्स्चेञ्ज कं.प्रा.लि, आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटिज प्रा.लि, स्वर्णलक्ष्मी सेक्युरिटिज प्रा. लि., नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ्ग प्रा.लि. , त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लि., सुमेरु सेक्युरिटिज प्रा.लि, लिन्च स्टक मार्केट लि., दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रा.लि, र अक्सफोर्ड सेक्युरिटिज प्रा.लि रहेका छन् । 

नासा सेक्युरिटिज कं.लि र कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लिले भने भारतको टिएमएस ल्याउन चाहेका छन् ।  उनीहरुले भारतको डिओन ग्लोबल सोलुसनले विकास गरेको टिएमएस ल्याउन खोजेका छन् । यो टिएमएस भारतका शेयर ब्रोकरहरुले प्रयोग गरिरहेका छन् ।

माथि उल्लेखित भन्दा बाहेक ब्रोकर र नागरिक स्टक डिलरले भने नेप्से कै टिएमएस प्रयोगको लागि आवेदन दिएका छन्  । हाल पनि उनीहरुले नेप्से कै टिएमएस प्रयोग गरिरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved