सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीले आज माघ ४ गतेदेखि पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आज माघ ४ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो।
कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ३३ लाख ३२ हजार कित्ता ५ सय कित्ता शेयर निष्काशन गरेको छ । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा मिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोवास गर्ने नेपाली नागरिकहरुलाई ४०% अर्थात १३,३३,००० कित्ता शेयर छुट्याईएको छ । आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाका बाँकि बासिन्दाहरुको लागि ६०% अर्थात १९,९९,५०० कित्ता शेयर छुट्याईएको छ । त्यस्तै ४,९९,८७५ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन हुने छ ।
स्थानीयलाई निष्काशन गरिएको शेयरमा छिटोमा माघ १८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन ४ गतेसम्म आवेदन दिन सकिने छ । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा माघ १८ गतेसम्म मात्र आवेदन दिन सकिने छ। स्थानीय र नेपाली श्रमिकले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमति लागत १३ अर्ब ३३ करोड रहेको छ । आगामी २९८० भदौ २६ गतेसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।