एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज फागुन ३ गते अन्तिम दिन रहेको छ । कम्पनीले माघ २७ गतेदेखि आम सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको हो।
कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २ सय कित्ता शेयर निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली श्रमिकलाई र आयोजना प्रभावितलाई स्थानीयलाई आइपिओ निष्काशन गरिसकेको छ । त्यस्तै कम्पनीले सामुहिक लगानी कोष योजनाहरुलाई ४२ हजार कित्ता शेयर बाँडफाँड गरिसकेको छ । अब कम्पनीले कम्पनीमा कार्यरत स्थानीयलाई १६ हजार ८ सय कित्ता शेयर छुट्याएर बाँकि रहेको ६ लाख ९७ हजार २ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो ।
यस कम्पनीले इलाममा ६.२ मेगावाटको लोवर जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ कार्तिक १५ देखि व्यापारिक उत्पादन गरिरहेको छ ।