गभर्नरलाई गलाएको सीवाईसी अझै निमित्तको भरमा, आँखा छल्न सीइओको नाटक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 12:21:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको नीति नियमलाई ठाडै चुनौती दिएर गभर्नर महाप्रसाद अधिकारीको समेत ’निन्द्रा हराम’ बनाएको सीवाईसी लघुवित्त वित्तीय संस्था अझै पनि निमित्तकै भरमा चलेको पाइएको छ। तीन महिनाभन्दा बढी समय प्रमुख कार्यकारी अधिकृत(सीईओ) पद रिक्त राख्न नपाइने नियम विपरित उक्त कम्पनी चार महिनादेखि निमित्तको भरमा चल्दै आएको छ ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशानुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाले तीन महिनाभन्दा बढी समय निमित्तको भरमा संस्था चलाउन पाइदैन। तर कम्पनीले भने पछिल्लो चार महिनादेखि निमित्तको भरमा संस्था चलाइरहेको छ।

सीईओ नपाएर नभई सीईओ नै नियुक्ति नगर्ने नियत रहेको स्रोतले बताएको छ । अहिले कानून विपरित लिन पाइएको सेवा सुविधा फेरि लिन नपाइने अवस्था सृजना हुने डरले कम्पनीको सञ्चालक समितिले नियतबश नै सीईओ नियुक्ति नगरेको स्रोतको दाबी छ। 

यद्यपित कम्पनीले नेपाल राष्ट्र बैंकको आँखामा छारो हाल्ने उद्धेष्यले २०८० पुस ७ गते सीईओको लागि आवेदन माग गरेको थियो। तर तोकिएको समयमा उचित आवेदन नपरेको भन्दै  कम्पनीले म्याद थप गरेर २०८० माघ ३ गते फेरि आवेदन माग गरेको थियो। 

दुई दुई पटक सीईओको लागि आवेदन माग गरेको ’नाटक’ गरेर कम्पनीले २०८० चैत १८ गते वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतसहित सिनियर पोजिसनका लागि विभिन्न ७ पदको लागि आवेदन माग गर्यो। 

तर अहिलेसम्म कम्पनीले न सीईओ नियुक्त गरेको छ नत नायव प्रमुख कार्यकारी अधिकृत नै । बरु उल्टै कम्पनीलाई चार महिनादेखि ’निमित्त कार्यालय प्रमुख’ को सहारामा चलाइएको छ। 

सीईओ नियुक्तिको नाटक किन ? 

स्रोतका अनुसार सीईओ नियुक्तिको नाटक भित्र केहि स्वार्थहरु लुकेका छन्। पहिलो, नेपाल राष्ट्र बैंकको निर्देशन विपरित लामोसमयदेखि प्रबन्ध निर्देशक अर्थात् एकै व्यक्ति सञ्चालक र प्रमुख कार्यकारीको रुपमा कम्पनी चलेको थियो। एकै व्यक्ति सञ्चालक र प्रमुख कार्यकारी हुन नपाउने व्यवस्था विपरित कम्पनी अघि बढिरहेको भन्नेबारे बिजपाटीलगायतका सञ्चारमाध्यमले समाचार प्रकाशित गरेपछि केन्द्रीय बैंकले सीईओ राख्ने शर्तमा वार्षिक साधारणसभा गर्न अनुमति दिएको थियो। सोहि शर्त पालना गरे जस्तो देखाउन कम्पनीले अहिलेसम्म सीईओ नियुक्तिको नाटक गर्दै आएको हो ।

दोस्रो, कम्पनीमा सञ्चालक र प्रमुख कार्यकारी दुबै हुने गरि प्रबन्ध निर्देशक पद सृजना गरेर लामोसमयदेखि डोलेन्द्र राज शर्माले नेतृत्व गरिरहेका थिए। 

अन्तत : राष्ट्र बैंकको निर्देशन बमोजिम शर्मा सीईओ पदबाट राजीनामा दिन बाध्य भए र सञ्चालक पदमा मात्रै रहे। यद्यपि यहाँ पनि राष्ट्र बैंकको निर्देशन नभई नेपाल आयल निगमलगायतका केहि सरकारी नियुक्ति लिनलाई उनले सीईओबाट राजीनामा दिएका थिए। 

जनक शिक्षा सामग्रीमा हुँदा विभिन्न विवादमा मुछिएको र लघुवित्तमा पनि नियम विपरित दर्जनांै काम गरेको खुलासा भएपछि शर्मा कुनै पनि सरकारी नियुक्ति पाउनबाट बन्चित भए। जसका  कारण फेरि  लघुवित्तमा सीईओको रुपमा फर्किने  उद्धेश्यले शर्माले माघ महिनादेखि लागू हुनेगरी फागुन २४ गते सञ्चालक समितिबाट पनि राजीनामा दिए। ६ महिनाको कुलिङ पिरियडमा पनि एक महिना छिटो आउन चाहने उनको उदेश्य पूर्ति हुनेगरी राजीनामा दिएपनि यसबीचमा उनले सञ्चालकको हैसियतमा काम कारवाही गरेका प्रमाण बिजपाटीसँग सुरक्षित छन् । 

यसरी कम्पनीले केहि समय शेयरहोल्डर, राष्ट्र बैंक र सरोकारवालालाई अलमल्याउने उद्धेष्यले सीईओ र सिनियर डेपुटी सीईओ नियुक्तिको नाटक गरेको प्रष्ट हुन्छ । यतिमात्र नभएर सञ्चालक र व्यवस्थापन कहींकतै नरहेका शर्माले अहिलेपनि कम्पनीबाट सेवा सुविधा उपभोग गरेर प्रमुख कार्यकारीकै रुपमा काम गरिरहेको विभिन्न प्रमाणहरु बिजपाटीसँग सुरक्षित छन्। साथै उनले कम्पनीका शाखा कार्यालयहरु भ्रमण गर्ने, त्यहाँका कर्मचारीलाई निर्देशन दिने, सरुवा बढुवा तथा नयाँ कर्मचारी भर्ना गर्ने कामहरु अहिले पनि गर्दै आएका छन्।

 यस अघि पनि उनी सपथ नलिई काम गरेर, तथा राष्ट्र बैंकको निर्देशन विपरित संचालक र व्यवस्थापनमा बसेर राष्ट्र बैंकलाई चुनौती दिदै आएका थिए । राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागले सिफारिस नगर्दा यस बारे गभर्नर कार्यालयले पनि कारबाही गर्न सकेको थिएन ।  

किन हुँदैन कारबाही ?

नेपाल राष्ट्र बैंकले कारबाही गर्न चाहेपनि लघुवित्त सुपरिवेक्षण विभागका ’हाकिम’ ले  कम्पनीप्रति ’विशेष’ माया गरेर कुनै पनि कारबाहीको प्रस्ताव नगरिदिएकाले कारबाही हुन नसकेको स्रोतको भनाइ छ। 

’सकेसम्म सुपरिवेक्षण विभागबाट नै सिफारिस आवोस् भन्ने हो, अति नै भएपछि मात्र गभर्नर सचिवालयले चासो देखाउने हो’ गभर्नर सचिवालयका एक अधिकारीले बिजपाटीलाई बताए। 

राष्ट्र बैंकको निर्देशन विपरित काम हुँदा पनि विभिन्न राजनीतिक दबाबमा कम्पनीमाथि कुनै पनि किसिमको कारबाही हुन सकिरहेको थिएन। यद्यपि वार्षिक साधारणसभाको अनुमति लिने बेला गभर्नर सचिवालयको दबाबमा लघुवित्त सुपरिवेक्षण विभागले प्रबन्ध निर्देशक हटाएर सीईओ नियुक्ति गर्नलाई शर्त राखेको थियो। 

के भन्छ सीवाईसी ?

कम्पनीका अध्यक्ष पद्मनाथ शर्माले सीईओको आवश्यकता प्रकाशित गर्दा एउटा पनि आवेदन नपरेकाले निमित्तकै भरमा संस्था चलाउनु परेको जवाफ दिएका छन् । 

विद्यमान कानूनी व्यवस्थाअनुसार तीन महिनाभन्दा बढी समय निमित्तको भरमा संस्था चलाउन पाइदैन ।तर उनले केन्द्रीय बैंकको मौखिक सहमतिमा नै निमित्तको भरमा संस्था चलाउनु परेको छ बिजपाटीसँगको कुराकानीमा बताए। 

“सीईओको आवेदन नै परेन, त्यहि भएर निमित्तकै भरमा संस्था चलाएका छौं“ उनले भने, “अब हामीले यसअघिकै प्रबन्ध निर्देशक डोलेन्द्र शर्मालाई नै सीईओमा ल्याउनेगरी प्रक्रिया अगाडी बढाइरहेका छौं ।“

यस अघि : 

एउटा व्यक्तिका लागि राष्ट्र बैंकमा नाङ्गो नाच, कानुनको धज्जी उडाउनेलाई दण्डको साटो पुरस्कार

-नेष्डो र युनिक नेपालले पनि माने राष्ट्र बैंकको निर्देशन, सीवाईसीका शर्माको अटेरी अझैं कायम

५ महिनादेखि सीवाईसी लघुवित्तको अध्यक्ष र प्रबन्ध सञ्चालक गैरकानुनी, किन लाचार राष्ट्र बैंक ?

सिवाईसी नेपाल लघुवित्तमा राजा-महाराजा मोह, राष्ट्र बैंक नै चकित

कानुन मिचेको सीवाईसीसँग निरीह राष्ट्र बैंक, गभर्नरको छविमाथि प्रहार

- राष्ट्र बैंकका कारण विवादमा तानिए तीन लघुवित्त, संचालक समितिको वैधानिकतामा प्रश्न


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved