‘नेप्से ५०’ इण्डेक्समार्फत डेरिभेटिभ प्रडक्ट विकास गर्ने नेप्सेको महत्वकांक्षी योजना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Feb 20, 2023 | 09:38:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ‘नेप्से ५०’ नामक इण्डेक्स निर्माण गरी डेरिभेटिभ प्रडक्ट विकास गर्ने महत्वकांक्षी योजना अघि सारेको छ । नेप्सेले त्यसलाई ट्रेडेबल अर्थात् कारोबार नै गर्न सकिने गरी प्रोडक्टको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । नेप्सेले आगामी वैशाख १ गते सार्वजनिक विदा परेकाले २ गतेबाट यसलाई कार्यन्वयनमा लैजाने तयारी गरेको छ ।

इण्डेक्स बनाउन कन्सल्ट्यान्ट समुहबाट नेप्सेअन्तरगत सञ्चालन हुने ‘सूचकाङ्कहरुको विकास, सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि, २०७९’को मस्यौदासमेत तयार पारिसकेको छ । प्रस्तावित कार्यविधि नेप्सेको सञ्चालक समितिमा एकपटक छलफलसमेत भइसकेको छ ।

नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुली ‘नेप्से ५०’ इण्डेक्स निर्माण गरेर अझै ‘एक्युरेट’ र समग्र मार्केटलाई प्रतिनिधित्व गर्ने खालको इण्डेक्स बनाउन खोजेको बताउँछन् । इण्डेक्समा कस्ता–कस्ता कम्पनी छनोट गर्ने भन्ने पनि कार्यविधि मै प्रस्ताव गरिने उनको भनाइ छ । 

त्यस्तै कार्यविधिमा ‘नेप्से ५०’ मात्र नभई नेप्से इण्डेक्स, सेन्सेटिभ इण्डेक्स, फ्लोट इण्डेक्स तथा सेन्सेटिभ फ्लोट इण्डेक्सलगायतका हाल भएका इण्डेक्सको गणनाविधिका साथै ति इण्डेक्समा समावेश हुने कम्पनीको मापदण्ड पनि कार्यविधि मै समावेश हुने प्रवक्ता पराजुलीले बताए । कार्यविधिमा बजार पूँजीकरणको आकारका आधारमा लार्ज क्याप, मिड क्याप, स्मल क्याप र माइक्रो क्याप इण्डेक्सको पनि प्रस्ताव गरिएको छ । 

‘नेप्से ५०’ इण्डेक्स कारोबार योग्य हुने गरी प्रोडक्टको रुपमा डिजाइन गर्न खोजिएको हो । यो केवल सूचकाङ्क मात्र नभइ लगानी गर्न सकिने प्रोडक्ट कै रुपमा विकास गर्न लागिएको जनाइन्छ । उक्त इण्डेक्सको उतारचढावबाट लगानीकर्ताले लाभ लिन सक्नेछन् । 

इण्डेक्स मै कारोबार हुने भएपछि यो डेरिभेटिभ मार्केट प्रडक्टअन्तर्गत हुनेछ । इण्डेक्स भित्र रहेर लगानी डेरिभेटिभ वा म्युचुअल फण्डमार्फत गर्न सकिन्छ । डेरिभेटिभअन्तर्गत पनि फ्युचर र अप्सन गरी दुई प्रकार रहेका हुन्छन् ।

कसरी छानिन्छ ‘नेप्से ५०’ मा कम्पनी ?

१. सबै कम्पनीहरुको सर्वसाधारणमा शेयर निष्काशन भई हाल सो कम्पनीको सूचिकृत शेयर संख्या मध्ये कम्पनीमा २५ प्रतिशत वा सो भन्दा बढि शेयर कारोबार तथा राफसाफ गर्न वा एक कारोबार पश्चात राफसाफ विनियमावलीमा तोकिएको अवधिभित्र सो कारोबारको राफसाफ गर्न सकिने कम्पनीहरु

२. कारोबार तथा राफसाफ गर्न मिल्ने शेयरहरुमा निम्नानसारका शेयरहरु समावेश गर्न नहुने

  • सर्वसाधारण समूहतर्फ परिवर्तित भइनसकेको संस्थापक तर्फको शेयर धनीले गरेको शेयर लगानी
  • लक इन अवधि उल्लेख भई तोकिएको लकइन अवधि समाप्त भई नसकेका विभिन्न प्रकारका शेयर लगानी (कर्मचारी तथा स्थानीयबासीले गरेको लगानी)
  • नेपाल सरकार तथा नेपाल सरकार अन्तरगतका सरकारी एवं विभिन्न सार्वजनिक निकाय, संस्थान वा कम्पनीहरुद्वारा गरिएको लगानी
  • वैदेशिक लगानी अन्तरगतका विदेशी लगानीकर्ताहरुले गरेको लगानी
  • कम्पनीको सञ्चालक तथा पदाधिकारीहरुले गरेको लगानी

३. यसरी आएको सूचीबाट बाँकी रहेका कम्पनीहरुको कारोबार रकम, कारोबार सङ्ख्या तथा कारोबार कित्ता र कारोबार दिनहरुको आधारमा मापदण्ड तय गरी कम्पनीहरुलाई पुनः वर्गीकरण गर्नुपर्ने हुन्छ ।

४. यसरी वर्गीकरण गर्न आवश्यक मापदण्ड निम्नानुसारले कायम गर्नुपर्नेछ

  • महिनाको अवधिमा दैनिक औषत रु २५ लाख वा सो भन्दा बढी रकमको कारोबार भएको हुनपर्ने
  • महिनाको अवधिमा दैनिक औषत ५००० कित्ता वा सो भन्दा बढी कित्ताको कारोबार भएको हुनपर्ने
  • महिनाको अवधिमा दैनिक औषत ४० वा सो भन्दा बढी पटक कारोबार भएको हुनपर्ने
  • महिनाको अवधिमा न्यूनतम उपलब्ध कारोबार दिनहरुमध्ये ७५ प्रतिशत भन्दा बढी दिनहरुमा कारोबार भएको हुनपर्ने

५. ती मापदण्डहरुबाट छनोट भएर आएका कम्पनीहरुको सूची तयार गरी सो सूचीबाट सबै नेप्से सूचकाङ्क गणना गर्न प्रयोग हुने सबै उपसूचकहरुबाट सबैभन्दा बढी रकम, कारोबार कित्ता, कारोबार सङ्ख्या तथा कारोबार भएको एक–एक वटा न्यूनतम कम्पनी लिनुपर्नेछ । यसरी यो सूचकाङ्कमा सबै क्षेत्रका कम्पनीहरुको उपस्थिति कायम गराउनुपर्नेछ । 

६. सबै क्षेत्रबाट कम्पनीहरु छनोटपश्चात बाँकी स्थानका लागि पुनः बाँकी कम्पनीहरुलाई माथिको सबै मापदण्डहरुको आधारमा ठूलोबाट सानोको क्रममा मिलाएर राख्नुपर्नेछ । यसरी मिलाउँदा बाँकी रहेको स्थानमा सो क्रमबाट कम्पनीहरु लिँदै बाँकी ५० वटा कम्पनीहरुको छनोट गर्नुपर्नेछ ।

७. यसरी आएका ५० वटा कम्पनीको कारोबार तथा राफसाफ योग्य शेयर सङ्ख्यालाई सो दिनको बजार मूल्यको आधारमा बजार पूँजीकरण निकालेर सो अनुसार को पूँजीकरणका आधारमा परिसूचक गणना गर्ने तथा बेलाबेलामा कम्पनीहरुमा आउने विभिन्न संस्थागत घटनाहरु जस्तै बोनश शेयर, हकप्रद शेयर तथा मर्जर एवं प्राप्तिलाई समायोजन र गणना गर्दै ‘नेप्से ५०’ परिसूचक सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने हुन्छ । 

इण्डेक्स गणना विधिः 

छनोट भएका ५० कम्पनीको फ्री फ्लोट बजार पुँजीकरणलाई ति कम्पनीको आधार पुँजीकरणले भाग गर्ने र भाग गरेपछि आएको योगफललाई १ हजारले गुणान गरेर इण्डेक्स गणना गर्न सकिने प्रस्ताव गरिएको छ । 

ट्रेडेबल हुनेमा शङ्का 

‘नेप्से ५०’ नामक इण्डेक्स बनाउन समस्या नभए पनि कारोबारयोग्य हुने गरी डेरिभेटिभ प्रडक्टको रुपमा विकास गर्न भने जटिल नै देखिन्छ ।  विश्वका धेरै बजारमा इण्डेक्स फण्ड सुरु गरिएको भए पनि सबै देशमा सफल भएका छैनन् । नेपालमा पनि अझै केही वर्ष डेरिभेटिभ प्रडक्ट आउनेमा नेप्सेका उच्च तहका कर्मचारीहरु नै विश्वस्त छैनन् ।

के के छन् चुनौती ?

पहिलो चुनौती– नेप्सेको सञ्चालक समितिलाई यस प्रडक्टको महत्व बुझाएर प्रडक्ट ल्याउने निर्णय गराउनका लागि कन्भिन्स गर्नु हो । यस अघि पनि पटकपटक लगानीका लागि नयाँ औजारहरु ल्याउन सञ्चालक समितिमा छलफल नभएको होइन तर सञ्चालक समिति नै पोजेटिभ नभएको कर्मचारीहरु बताउँछन् । 

एक कर्मचारीले भने ‘सञ्चालकहरुमा अहिले भएकै राम्रोसँग चलिरहेको छ, नयाँनयाँ चिज किन चाहियो भन्ने मानसिकता छ’,अर्थ मन्त्रालयका प्रतिनिधि सञ्चालक रहेसम्म यो अवस्था रहिरहने छ ।’

दोस्रो ठूलो चुनौती– कानूनी आधार तयार पार्नु हो । अहिलेको धितोपत्र ऐनले धितोपत्रको मात्र परिभाषा दिएको छ । धितोपत्रको परिभाषामा ‘धितोपत्र बजारमार्फत कारोबार हुन सक्ने वा हस्तान्तरण हुन सक्ने भनी धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र’ भन्ने शब्दावलीले मात्र डेरिभेटिभ प्रडक्टलाई सम्बोधन गर्छ वा गर्दैन भन्नेमा फरकफरक व्याख्या रहेको छ । त्यसकारण कारोबारदेखि राफसाफको लागि ऐनदेखि विभिन्न नियमावली, विनियमावली, निर्देशिकामार्फत कानूनी आधार तयार पार्नुपर्ने हुन्छ । त्यसको लागि प्रथमतः धितोपत्र बोर्ड कन्भिन्स हुनुपर्छ । नियमावली मन्त्रिपरिषद बैठकबाट पारित भई आउनु पर्ने हुन्छ । जसको लागि अर्थ मन्त्रालय र प्रधानमन्त्री पनि पोजेटिभ हुनु पर्छ ।

तेस्रो चुनौती– प्रणाली तयार पार्नु हो । डेरीभेटिभ प्रडक्ट कारोबार हुँदा शेयरको जस्तो आफ्नो खातामा आउने वा खाताबाट जाने हुँदैन। यसको लागि छुट्टै सेटलमेन्ट प्रणाली चाहिन्छ । यद्यपि कानुनी आधार तयार भईसकेपछि त्यसमा भने खासै समस्या नहुने नेप्सेका इन्जिनियरहरुको बुझाई छ ।

चौथो चुनौती– सरोकारवालाले बुझेर कन्भिन्स हुनु हो । त्यसको लागि आम लगानीकर्ताले डेरिभेटिभ प्रडक्टको महत्व बुझ्नुपर्ने हुन्छ । उनीहरुले त्यस्तो खालको प्रडक्ट कारोबार गर्दा हुने जोखिमबारे पनि बुझ्नुपर्ने हुन्छ । शेयर शिक्षा कै कमी भइरहेको अवस्थामा नेपालमा हालसम्म नरहेको प्रणालीबारे बुझाउन कठिन हुन्छ । लगानीकर्ता तयार नभइ प्रडक्ट ल्याए पनि त्यसको प्रभावकारिता खासै नहुने नेप्से कै कर्मचारीहरु स्वीकार गर्छन् । 

त्यस्तै यस विषयबारे बजारमा रहेका विज्ञहरु पनि नेप्सेले ल्याउने प्रडक्ट र कारोबार विधिबारे कन्भिन्स हुनु पर्छ । विभिन्न देशका पुँजीबजारमा काम गरि लामो अनुभव बटुलेका बजार विज्ञ अहिले उपलब्ध छन् । नेप्सेले कार्यविधि तयार पार्दा ति विज्ञहरु पर्याप्त छलफल गरेको देखिदैन ।  

यी ४ कारण नेप्सेले ‘नेप्से ५०’ नामक इण्डेक्स सुरु गरे पनि नेप्सेले तयारी गरे जस्तो वैशाख २ बाटै डेरिभेटिभ प्रडक्टको रुपमा कारोबार हुने सम्भावना भने अत्यन्तै न्यून छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved