त्रिशुली जलविद्युतको आईपिओ रकम बुझाउने आज अन्तिम दिन, रकम नबुझाए शेयर जफत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2023 | 09:18:44 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका साविकका शेयरधनीले साधारण सेयर (आईपीओ)मा चुक्ता हुन बाँकी रकम भुक्तानी गर्ने आज फागुन १७ गते अन्तिम दिन रहेको छ । म्याद थपिएको यस अवधिमा १५ हजार बढी आवेदकले आवेदन दिएका छन् । बाँकि साविकका शेयरधनीहरुले आज फागुन १७ गतेसम्म आवेदन दिन सक्ने छन् ।


कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म आईपीओ जारी गरेको थियो । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको थियो। यो सेयरमा अंकित मूल्यको दश प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो। यो सेयर २०७५ साल चैत १४ गते बाँडफाँट गरिएको थियो।

 

यो सेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरूलाई ८ प्रतिशत ब्याज प्रदान गरी प्रतिसेयर ८७ रुपैयाँका दरले असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्ममा भुक्तानी गर्न माग गरेको थियो। यस अवधिमा आवेदन नदिएका ४६ हजार १७९ जना सर्वसाधारण सेयरधनीहरूलाई भुक्तानीका लागि म्याद थपिएको थियो । बाँकी ८७ रुपैयाँमा रकम बुझाउने ३ महिनाको अवधिको वार्षिक ८ प्रतिशतका दरले लाग्ने प्रतिसेयर ब्याजदर रकम १ रुपैयाँ ७४ पैसा थप गरी भुक्तानी हुन बाँकी रकम ८८ रुपैयाँ ७४ पैसा मंसिर १८ गतेदेखि फागुन १७ गतेसम्म भुक्तानी गर्न माग गरेको थियो।


यस अवधिसम्ममा रकम नबुझाउने साविक सेयरधनीहरूको हकमा उनीहरुले आफ्नो बाँडफाँटमा परेको शेयरको अग्रिम रुपमा भुक्तानी गरेको रकम र सो रकममा कम्पनीले प्रदान गरेको ब्याज रकमले खामेजति संख्याको सेयर कायम गरी सेयरधनीहरुको नाममा रहेको बाँकी शेयर जफत गरिने कम्पनीले जनाएको छ।

आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरुले रकम बुझाउन÷आवेदन दिन सक्नेछन् । शेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा  आश्वा शुल्क समेत तिर्नु पर्ने छैन । धितोपत्र  बोर्डले आश्वा शुल्क छुट दिएको छ  । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लि. रहेको छ । 


२०७५ सालमा कम्पनीले आईपिओ निष्काशन गर्दा  ६७ जनाको आवेदन रद्द भई  १ लाख ५४ हजार ५ सय ५९ जनाले मात्र शेयर पाएका थिए। अहिले तिनै   १ लाख ५४ हजार ५ सय ५९ जनाले मात्र बाँकि रकम भुक्तानी गर्न पाउने छन् ।  त्यस समय १ लाख ५४ हजार ५ सय ५९ आवेदकले २० कित्ता शेयर पाएका थिए भने गोलाप्रथाबाट ५० हजार २ सय ६७ आवेदकले थप १० कित्ता शेयर पाएका थिए । यस हिसाबमा ५० हजार २ सय ६७ आवेदकले ३० कित्ता शेयर र बाँकि रहेका १ लाख ४ हजार २ सय ९२ आवेदकले २० कित्ता शेयर पाएका थिए।  १९ जनाले दोहोरो आवेदन गरेका कारण, ३८ वटा आवेदन र संस्थागत आवेदन परेकोले २९ वटा गरी कुल ६७ वटा आवेदन रद्ध भएको थियो ।


तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता आवेदन दिएर कार्यक्रमको शुभारम्भ गरेका थिए।  १० हजार कित्ताको लागि आवेदन दिएका ओलीले २० कित्ता मात्र शेयर पाएका थिए। त्यस्तै १० हजार कित्ता कै लागि आवेदन दिएकी प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि २० कित्ता नै शेयर पाएकी थिइन्। तत्कालिन उर्जा मन्त्री बर्षमान पुन, उनकी  पत्नी ओनसरी घर्तिले पनि २० कित्ता नै शेयर पाएका थिए। मन्त्रालयका सचिवले पनि २० कित्ता नै शेयर पाएका थिए ।  

आयोजनाका प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । 

आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत ८ अर्व २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको । निर्माण अवधिको ब्याज बाहेकको आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ । 

आयोजनाको निर्माण फागुन २०७७ मा सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाइएको थियो । तर, नयाँवर्ष मनाउन माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन नसक्दा र लामो समयसम्म रसुवागढी नाका वन्द हुँदा चीनबाट निर्माण सामाग्री तथा उपकरण ल्याउन नसकिएकोले पूर्ण रुपमा भइरहेको आयोजना निर्माण करिब १५ महिना ठप्पप्रायः भएको थियो । 

आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनस् सुचारु भएकोमा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो । साथै, मुख्य सुरुङमा पूर्वानुमान गरिएभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । चिनियाँ ठेकेदार कम्पनी सुइफा आने ग्रुप कम्पनी, लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युतगृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ । 

इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका Shuifa ANHE Group Co.Ltd, China सँग २९ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल तर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा संचालन गर्ने छ । 

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशुली ३ बीले बाँध, बालुवा थिग्रायाउने पोखरी (डिसेन्डर) लगायतका संरचनाबनाउनु पर्ने छैन । माथिल्लो त्रिशुली ३ एको विद्युतगृहबाट विद्युत उत्पादन पश्चात निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । 

समग्र निर्माण प्रगति ६७ प्रतिशत रहेको आयोजनाको काम २०८० को असोजभित्रमा सक्ने लक्ष्य राखिएको छ । आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ । उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुन्द्रटार–त्रिशुली ३ वी हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved