बोर्ड अध्यक्ष हमालले भने 'अदालतबाट रिट खारेज हुनु स्वागतयोग्य, यो कोशेढुंगा सावित हुन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2023 | 04:40:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले स्टक एक्सचेन्ज र ब्रोकर लाईसेन्स वितरण विरुद्द परेको रिट खारेज हुनु स्वागत योग्य भएको बताएका छन्  ।नयाँ स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स वितरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि बिजपाटीसँग कुरा गर्दै अध्यक्ष हमालले यो स्वागत योग्य कुरा भएको र यसले धितोपत्र बजारको विकास विस्तार, र प्रबर्दनको बाटो खुलेको बताए ।

अदालतको यो आदेश नेपाली धितोपत्र बजारको इतिहासमा कोशेढुंगा सावित हुने र यसले नयाँ आयाम थप्ने बताएका छन्  । अध्यक्ष हमालले अदालतको आदेशको पूर्णपाठ आएपछि आदेशमा उल्लेख गरिए अनुसर नै लाईसेन्स वितरणको बाँकि कार्य अघि बढाउने उल्लेख गरेका छन् । 

लाइसेन्स वितरण गर्ने प्रक्रिया रोक्न माग गर्दै परेको रिट खारेज भएपछि नेपाल धितोपत्र बोर्डलाई लाईसेन्स वितरण गर्ने प्रक्रिया सुरु गर्ने बाटो खुलेको हो ।आज सर्वोच्च अदालतले लाइसेन्स वितरण गर्ने प्रक्रिया रोक्न माग गर्दै परेको रिट खारेज गरेको हो ।  आज न्यायधिशद्वय अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलाशले रिट खारेजीको आदेश दिएको हो ।

 रिट निवेदक अधिवक्ता दिपक विक्रम मिश्रले अधितोपत्र बोर्डले सुरु गरेको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै असोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट आजको इजलाशले खारेज गरेको हो ।  

उक्त रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै कार्तिक ४ गते न्यायधीश तिल प्रसाद श्रेष्ठको एकल इजलाशले  नयाँ स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। त्यस्तै कार्तिक २९ गते निर्णय फाइल झिकाउने आदेश भएको थियो भने पुस ५ गते पूर्ण सुनुवाईका लागी पेश गर्ने र अग्राधिकार दिने आदेश भएको थियो ।  फागुन १५ गते  संवैधानिक इजलाशमा यसै सम्बन्धी परेको मुद्दाको आदेशको मिसिल झिकाएर अर्को सुनुवाईको लागि पेश गर्नको लागि अदालतले आदेश दिएको थियो ।  त्यसपछि अस्ति बिहिबार सुनुवाई भई हेर्दा हेर्दैमा राखिएको मुद्दामा आज आइतबार पनि बहस भएको थियो । आज भएको बहस पछि अदालतले रिट खारेज गरेको हो ।   

बोर्डले असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो । बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो । तर कतिवटा ब्रोकरलाई लाइसेन्स दिने भन्नेबारे सूचनामा खुलाएको थिएन । ब्रोकर लाईसेन्सको लागि ४६ कम्पनीले आवेदन दिएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved