
राष्ट्र उत्थान लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले समयमा नै लाभांश बारेको जानकारी नगराएको भन्दै स्पष्टिकरण सोधेर कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो ।
जवाफमा कम्पनीले गलत बुझाईको कारण समयमा नै लाभांश बारेको जानकारी दिन नसकेको भन्दै क्षमायाचना गरेको छ । कम्पनीले क्षमायाचना गरेपछि आगामी दिनमा धितोपत्र सूचीकरण विनियमावलीका व्यवस्था र धितोपत्र सूचीकरण सम्झौताका सम्पूर्ण शर्त पालना गर्न निर्देशन दिंदै नेप्सेले कारोबार फुकुवा गरेको हो ।
कम्पनीको वैशाख १३ गते बेलुका ६ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको थियो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्तापुंजी २६ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
कम्पनीले वैशाख १३ गते लाभांशबारे निर्णय गरेर नेप्सेमा आज वैशाख १९ गतेको कारोबार समयमा मात्र जानकारी गराएपछि नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको थियो । लाभांश सम्बन्धि निर्णय सोहि दिन वा अर्को दिन कारोबार सुरु हुनु भन्दा अगाडी नेप्सेमा जानकारी गराउनु पर्ने व्यवस्था छ । तर कम्पनीले सो नियम उल्लघन गरेपछि नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्का गरेको थियो ।