रिपब्लिक मिडिया जस्तो कमजोर कम्पनीले कसरी पायो आइपिओ निष्काशनको अनुमति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2023 | 03:09:06 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओमा जाने मिडिया क्षेत्रकै पहिलो संस्था भए पनि वित्तीय सूचकमा कमजोर देखिएपछि नेपाल रिपब्लिका मिडियाको साधारण सेयरमाथि प्रश्न उब्जिएको छ। आईपिओ पर्ने वित्तिकै घाटा हुने अवस्थामात्र नभइ नियत मै खोट देखिएको भन्दै जानकारहरुले रिपब्लिक मिडियामाथि प्रश्न उठाएका हुन्। 

यद्यपि सर्वसाधारणमा सेयर जारी गरेर पूँजी सङ्कलन गर्ने अधिकार सबै पब्लिक कम्पनीको हुन्छ । तर कस्तो कम्पनीलाई बजारमा ल्याउने वा नल्याउने निर्णय गर्ने अन्तिम अधिकारिक नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई हुने भएकाले रिपब्लिका भन्दा पनि धितोपत्र बोर्ड बढी जिम्मेवार हुनुपर्ने जानकारहरुको भनाइ छ। 

रिपब्लिकाको हकमा धितोपत्र बोर्ड बढी जिम्मेवार हुनुपर्ने शेयरबजारमा लामो समयदेखि कारोबार तथा लगानी गर्दै आएका तथा शेयरबजारबारे कलम चलाउने एक लगानीकर्ता बताउँछन्। 

'लगानीकर्ताको लगानी र हकहित संरक्षणको मुख्य जिम्मेवारी नै धितोपत्र बोर्डको हो, कस्तो कम्पनीलाई बजारमा ल्याउँदा लगानीकर्ताको लगानी सुरक्षित हुन्छ हुँदैन भन्ने कुरा स्वयम् धितोपत्र बोर्डले बुझ्नुपर्ने हुन्छ र त्यहीअनुसार अनुमति दिने नदिने निर्णय लिनुपर्छ', ती लगानीकर्ताले भने, 'अहिलेकै शैलीमा धितोपत्र बोर्ड अगाडि बढ्यो भने आर्इपीओको नाममा सर्वसाधारणलाई शेयर थमाएर यहाँ 'डब्बा' कम्पनीहरुले कमाउने र अन्तिममा सर्वसाधारण डुब्ने अवस्था आउनेछ।'

नेपाल धितोपत्र बोर्डले भने प्रक्रिया तथा मापदण्ड पुरा गरेका संस्थालाई सर्वसाधारणका लागि आईपिओ बिक्री गर्नबाट रोक लगाउने अधिकार बोर्डलाई नरहेको बताएको छ। बोर्ड अध्यक्ष रमेश हमालले अहिलेको विद्यमान मापदण्ड पुरा गरेर नै रिपब्लिक मिडियाले सर्वसाधारणका लागि आईपिओ बिक्रीमा ल्याएको बताए। यस्तो कम्पनीहरुलाई सेयर बजारमा आउन नदिने हो भने सरकारले त्यहीअनुसारको कानून बनाउनुपर्ने उनको भनाइ छ। 

'आईपिओ बिक्री गर्न पुरा गर्नुपर्ने मापदण्ड पुरा गरेपछि हामीले रोक्न मिल्दैन, हामीलाई पनि थाहा छ रिपब्लिका जस्तो कम्पनीमा लगानी अत्यधिक जोखिम छ, तर अहिलेको विद्यमान कानुनअनुसार हामीले रोक्न सक्दैनौ' अध्यक्ष हमालले भने, 'लगानीकर्तालाई यस्तो जोखिमपूर्ण कम्पनीमा लगानी नगर्नु भनेर सचेतना गर्न सकिन्छ, त्यो गरेका छौँ।'

आईपिओ ल्याउनका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा गरिएको व्यवस्था नै कमजोर रहेकाले यसको संसोधन अनिवार्य रहेको अध्यक्ष हमालको भनाइ छ। नेपाल रिपब्लिका मिडियाको आईपिओ हात लाग्ने व्यक्तिलाई आईपिओ पाएकै दिन प्रतिकित्ता ४ रुपैयाँ नोक्सानी हुने देखिन्छ। यद्यपि पुन:मूल्याङ्कनको व्यवस्था नभएको भए यस्तो नोक्सानी थप बढ्ने निश्चित थियो। तर नेपाल धितोपत्र बोर्डले दिएको पुन:मूल्याङ्कनको व्यवस्थामा टेकेर रिपब्लिकाले आफूसँग भएको सम्पतिलाई पुन:मूल्याङ्कन गरेर ९२ लाखबाट ४३ करोड पुर्याउँदा कागजी प्रतिशेयर नेटवर्थ माइनस ९ रुपैयाँबाट आर्थिक वर्ष २०७९/०८० मा ८६ रुपैयाँ पुगेको हो भने प्रतिशेयर आम्दानी पनि माइनस २४ रुपैयाँबाट ७ रुपैयाँ २२ पैसा पुगेको हो। 

बोर्डले दिएको सुविधा प्रयोग गर्दा पनि वर्षौंदेखि सञ्चालनमा रहेको रिपब्लिकामा आज गरिएको एक सय रुपैयाँको लगानी उठाउन लगानीकर्तालाई कम्तिमा ७ र बढीमा १४ वर्ष पर्खनुपर्छ, तर यो पनि उसले प्रक्षेपण गरेअनुसारको पत्रिकाको कारोबार भएको अवस्थामा मात्र हो।  

अहिले विश्वबजार मै अनलाइन मिडियाको जमाना छ । तर नागरिक दैनिक सञ्चालन गरिरहेको कम्पनीले नागरिकन्युज पोर्टल (अनलाइन) सञ्चालन गरिरहेको छैन । भोलि अनलाइनबाट हुने आम्दानीमा अहिले आईपिओ किन्ने वा पछि दोस्रो बजारबाट रिपब्लिकको शेयर किन्ने सर्वसाधारण लगानीकर्ताको अधिकार रहने छैन । नेपाल रिपब्लिक मिडियाको लगानीमा जम्मा पारिने समाचार तथा अन्य सामग्री बिक्री गरेर हुने अनलाइनको आम्दानीमा नेपाल रिपब्लिक मिडियाका अध्यक्ष र सञ्चालक रहेकाले उनकी छोरीको मात्र अधिकार रहनेछ। 

रिपब्लिकले आईपिओ बिक्री गरिरहेकै समयमा नेपाली बजारमा रहेको अर्को राष्ट्रिय दैनिक राजधानी बन्द भएको छ । राजधानी मात्र नभइ हिमाल म्यागेजिन पनि बन्द भइसकेको छ । ठूला भनिएका मिडियाहरुले पत्रकारलाई तलब दिन नसकेर निकालिरहेको भनेर समाचारहरु सार्वजनिक भइरहेका छन् । भोलि नागरिक दैनिकको नियति पनि यही नहोला भन्न सकिन्न । नागरिक दैनिकले आफूलाई तलब नदिएको बताउने पत्रकारहरु पनि उल्लेख्य छन् । 

नेपाल रिपब्लिकाले विदेशमा रहेका नेपाली कामदार तथा नेपालमा रहेका सर्वसाधारण नेपालीलाई आइपीओ बिक्री गरेर प्राप्त हुने ४३ करोड ५३ लाख मध्ये ३० करोड रुपैयाँ ऋण तिर्न प्रयोग गरिने भनिएको छ। त्यस्तै रिपब्लिका मिडियाले पब्लिक कम्पनी हुँदा संचालक समितिमा कायम हुनुपर्ने संख्या पनि पुरा गरेको छैन भने देखाएका सञ्चालक समिति सदस्यमा पनि एकै परिवारको अधिन देखिन्छ।

यस अघि : रिपब्लिक मिडियाको आईपिओ: घाटा सर्वसाधारणलाई, नाफा बाबुछोरीलाई

आईपिओको नाममा खाडीको पैसा खेर नजाओस, ८५ रुपैयाँको शेयरलाई १०० रुपैयाँ हाल्नेहरु होसियार ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved