नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज जेठ २६ गतेदेखि आम सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो ।
संचार माध्यमको कम्पनीले आईपिओ निष्काशन गर्न लागेको यो पहिलो पटक हो । अर्थात् नेपाल रिपब्लिक मिडिया नेपालको पुंजीबजारमा सुचिकृत हुने संचार क्षेत्रको पहिलो कम्पनी हुने छ ।
कम्पनीले शेयर निष्काशनको लागि सार्वजनिक गरेको विवरणपत्रमा केहि अमिल्दा, केहि नियम विपरितका तथा केहि पत्याउनै नसकिने विषय पनि देखिन्छन् । सोहि कारण यस कम्पनीबारे प्रश्न उठिरहेको छ ।
यहाँ हामीले ति मध्ये केहि विषय उठान गरेका छौ :
१. छैनन् पर्याप्त संस्थापक
कम्पनी ऐनको दफा ३ को उपदफा २ मा पब्लिक कम्पनीको संस्थापनाको लागि कम्तीमा सातजना संस्थापक हुनु पर्ने व्यवस्था छ । तर कम्पनीले आफ्नो विवरणपत्र २ जना मात्र संस्थापक रहेको उल्लेख गरेको छ । कम्पनीको संस्थापकमा बिनोदराज ज्ञवाली र शोभा ज्ञवाली मात्र रहेको उल्लेख गरिएको छ।
२. शेयरधनी संख्या पनि छैनन् ७ जना
कम्पनी ऐनको दफा ९ मा पब्लिक कम्पनीको शेयरधनीहरुको सङ्ख्या कम्तीमा सातजना हुनु पर्ने भनिएको छ । तर कम्पनीमा हाल हाल विनोद ज्ञवालीको नाममा ९८.२१ प्रतिशत, र शोभा ज्ञवालीको नाममा १.७२ प्रतिशत शेयर छ l उनको छोरी समृद्धि ज्ञवालीको नाममा १ हजार कित्ता शेयर छ l कम्पनीमा शुभारम्भ होल्डिंगबाट संचालक रहेको देखिँदा केहि शेयर शुभारम्भसँग रहेको देखिन्छ l यति हुँदा शेयरधनी सङ्ख्या ४ मात्र हुन्छ l बाँकि शेयरधनी देखिदैन l
३. कम्पनी पुरै घाटामा, अचानक ३ करोड नाफा ?
आर्थिक वर्ष ७६/७७ मा कम्पनीको खुद नोक्सानी ६ करोड ७६ लाख, आर्थिक वर्ष ७७/७८ मा खुद नोक्सानी ४ करोड ९० लाख र आर्थिक वर्ष ७८/७९ मा कम्पनीको खुद घाटा ४ करोड ८२ लाख रहेको छ l आर्थिक वर्ष ७९/८० देखि भने कम्पनीले नफामा जाने प्रक्षेपण गरेको छ l कम्पनीले आर्थिक ७९/८० को तेस्रो त्रैमास मै कम्पनीले ३ करोड ८४ लाख खुद नाफा भएको विवरण राखेको छ र आर्थिक वर्षको अन्त्यसम्म भने ६५ लाख १७ हजार खुद नाफा गरेको प्रक्षेपण गरेको छ l घाटामा गएको कम्पनी अचानक ३ करोड नाफामा गएको कम्पनीले देखाएको छ l तर यो अपरिस्कृत विवरण हो l जुन अडिट गरिएको छैन l कम्पनीको आम्दानीमा खासै ठुलो परिवर्तन नहुँदा पनि कम्पनीको नाफा अचानक बढेर ३ करोड देखाउनु स्वभाविक देखिंदैन l यसमा कम्पनीले जग्गा बेचेर आएको आम्दानीले नफा गरेको देखाएको छ ।
कम्पनीको चुक्ता पुंजी र जगेडा कोषहरुको विवरण हेर्दा कम्पनीले ४६ करोड लगानी गर्दा ५१ करोड घाटा बेहोरेको छ l कम्पनीको नेटवर्थ १०० रुपैयाँ भन्दा कम छ l आर्थिक वर्ष ७८/७९ मा कम्पनीको प्रति शेयर नेटवर्थ ८४.४७ रुपैयाँ, तथा आर्थिक वर्ष ७८/७९ को तेस्रो त्रैमासमा कम्पनीको प्रति शेयर नेटवर्थ ८६ रुपैयाँ १३ पैसा रहेको छ l कम्पनीको विवरण पत्र हेर्दा प्रति शेयर नेटवर्थ घटेर ५० रुपैयाँ भन्दा कम हुन सक्थ्यो l तर कम्पनीले सम्पत्तिको पुनर्मूल्यांकनबाट सिर्जित कोषको रकम जोडेर प्रति शेयर नेटवर्थलाई बढाएको देखिन्छ l यसअघि सम्पत्तिको पुनर्मूल्यांकनबाट सिर्जित कोषलाई खुद सम्पत्ति (नेटवर्थ) मा गणना गर्न नपाइने व्यवस्था थियो । तर बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका ०७४ संशोधन गरेर पुनर्मूल्यांकनबाट सिर्जित कोषलाई खुद सम्पत्तिमा गणना गर्न पाइने व्यवस्था गरेको छ । कम्पनीले यसको फाइदा उठाएको छ ।
आर्थिक वर्ष २०८०/८१ सम्म पनि कम्पनी संचित घाटामै रहने देखिन्छ । विवरणपत्रमा उल्लेख भए अनुसार आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नोक्सानी ३१ करोड ६४ लाख रहने देखिन्छ ।
४. २०९२ सालसम्म ऋण कायम
कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा कम्पनीले २ वटा बैंकबाट ऋण लिएको उल्लेख छ । कम्पनीले साविकको मेगा बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) लाई २८ करोड २ लाख रुपैयाँ ऋण तिर्न बाँकि रहेको जनाएको छ । त्यस्तै साविकको नेपाल बंगलादेश बैंक (हाल नबिल बैंक) लाई ८ करोड ९२ लाख ऋण तिर्न बाँकि रहेको जनाएको छ । कम्पनीले यी २ बैंकलाई क्रमश १० करोड ९० लाख र ६ करोड १ लाख ऋण तिरिसकेको जनाएको छ । कम्पनीले आईपिओबाट उठाएको रकम मध्ये ३० करोड ८६ लाख रकम ऋण तिर्न प्रयोग गरिने उल्लेख गरेको छ । तर कम्पनीले आथिक वर्ष २०९१/९२ सम्म पनि ऋण तिरिरहने गरि कर्जा भुक्तानी तालिका बनाएको छ । अर्थात् २०९२ सम्म कम्पनी ऋण तिरेर नै बसिरहेको छ ।
५. नाफा जति बाउछोरीलाई , घाटा जति सर्वसाधारणलाई
कम्पनीले हाल नागरिक पत्रिका र रिपब्लिक पत्रिका छापिरहेको छ। पत्रिका छापेर कम्पनीले घाटा भएको उल्लेख गरिसकेको छ । नागरिकको अनलाइन भने नाफा मै रहेको छ। तर चलाखीपूर्ण तरिकाले विनोद ज्ञवालीले अनलाइन संचालन अर्कै कम्पनीबाट गरिरहेका छन्। अर्थात् रिपब्लिक कम्पनीको आईपिओ निकाल्न अगाडी बाट मात्र अनलाइन संचालन गर्ने कम्पनी परिवर्तन गरिएको छ।
अहिले नागरिकको अनलाइन अर्थात् न्युजपोर्टल रिपब्लिका न्यूज नेपाल प्रा. लि.मार्फत भईरहेको छ । तर यो कम्पनीको अध्यक्ष विनोद ज्ञवाली नै हुन् र उनकी छोरी यस कम्पनीको संचालक हुन्। अर्थात् घाटा भएको कम्पनीको शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागिएको छ भने अहिले र भविष्यमा नाफा हुन सक्ने अनलाइन नागरिक अनलाइन न्युजपोर्टल चलाउने कम्पनी भने बाबु छोरीको नाममा छ। यसले फेज आउटको पर्खाइमा रहेको र अहिले पनि घाटामामा रहेको पत्रिकामा सर्वसाधारणलाई भित्र्याएर त्यसबाट आएको पैसाले ऋण तिर्ने तर अर्को प्रविधि नभित्रिदासम्मको लागि अहिलेको जल्दो बल्दो समाचारको माध्यम अनलाइन पोर्टलको आम्दानी भने आफुहरुले मात्र लिने योजना देखिन्छ।
६. हरेक महिना पुंजी वृद्धि
कम्पनीको विवरण पत्रमा उल्लेख भए अनुसार कम्पनीले आर्थिक वर्ष २०७९/८० को सुरुमा छोटो अवधि मै ३ पटक पुंजी वृद्धिको निर्णय गरेको छ । कम्पनीको संचालक समितिको २०७९/०४/०३, २०७९/०५/१६, र २०७९/०६/११ मा बैठक बसेर पुंजी वृद्धिको निर्णय गरिएको उल्लेख छ । सोहि निर्णय अनुसार २०७९/०४/२०, २०७९/०६/०६ र २०७९/०६/२८ मा साधारणसभा वा विशेष साधारणसभा गरेर पुंजी बढाईएको उल्लेख गरिएको छ । अर्थात् कम्पनीले ३ महिनाको अवधिमा ३ पटक पुंजी वृद्धि गर्ने निर्णय गरेको छ , जुन स्वभाविक देखिदैन । कुन मितिमा कति पुंजी बढाईएको हो पनि प्रष्ट पारिएको छैन ।
७. कर्मचारीले नै पत्याएनन्
कम्पनीले कर्मचारीलाई १ लाख ७४ हजार १ सय २० कित्ता शेयर छुट्याएको थियो। तर कर्मचारीहरुले ८० हजार १ सय ५९ कित्ताको लागि मात्र आवेदन दिए । जुन ४६.०३ प्रतिशत हो । अर्थात् कर्मचारीलाई छुट्याएको मध्ये आधा शेयर पनि बिक्री भएन । कम्पनीले कम्पनीमा १२५ जना (ज्यालादारी, करार तथा संस्थापक शेयरधनीहरुका एकाघरको परिवार बाहेकका) कर्मचारीहरु रहेको जनाएको छ ।
८. कर्मचारीले नकिन्दा सर्वसाधारणलाई ९३ हजार कित्ता थप
कर्मचारीले नकिनेको शेयर सर्वसाधारणमा निष्काशन गरिएको छ । कर्मचारीले आवेदन नदिएको ९३ हजार ९ सय ६१ कित्ता शेयर थपेर सर्वसाधारणई निष्काशन भएको छ । कम्पनीले सुरुमा सर्वसाधारणलाई ३५ लाख २५ हजार ९ सय ३० कितात शेयर छुट्याएकोमा अब ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको छ ।
९. जोखिमयुक्त रेटिङ्ग
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडबाट रेटिङ्ग गराएको थियो । जस अनुसार कम्पनीले “IRN B+ (Is) [Single B Plus (Issuer) रेटिङ्ग प्राप्त गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम (High risk of default regarding timely servicing of financial obligations) / रहेको जनाउँदछ ।
१०. शेयर नबिके कसले किन्छ ?
कम्पनीको वित्तीय अवस्था जे जस्तो भए पनि विगतको स्थिति हेर्दा कम्पनीको शेयर पुरै बिक्री हुने अनुमान गर्न सकिन्छ । शेयर संख्या थोरै भएकोले कर्नरिङ भई उच्च मूल्य पाईने आशामा पनि सर्वसाधारणले शेयर भर्ने गर्छन् । तर यदि कम्पनीको शेयर पुरै बिक्री भएन भने लक्ष्मी क्यापिटल , प्रभु क्यापिटल र सिभिल क्यापिटलले शेयरको प्रत्याभूति सम्झौता गरेका छन् । जसमा लक्ष्मी क्यापिटलले ५० प्रतिशत शेयरको प्रत्याभूति गरेको छ भने प्रभु र सिभिललेसमान २५ प्रतिअशत शेयरको लागि प्रत्याभूति गरेका छन् । बिक्री नभएको शेयर सोहि अनुपातमा यी ३ क्यापिटलले सकार्ने छन् ।