सीकेवाईसी कार्यान्वयनमा, 'युनिक आईडी' लिएपछि पटक पटक केवाईसी भर्ने झन्झट अन्त्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2023 | 09:51:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियरिङ लिमिटेडले साउन १ देखि केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सीकेवाईसी) कार्यान्वयनमा लागेको छ । केन्द्रीकृत बिद्युतीय ग्राहक पहिचान विवरण (केवाइसी) सेवा सम्बन्धी कार्य संचालन निर्देशिका, २०७७ बमोजिम केन्द्रीकृत विद्युतीय केवाईसी प्रणाली संचालनमा आएको हो ।

 सीकेवाईसी कार्यान्वयनमा आएपछि अब अहिले जस्तो लगानीकर्ताले सेवा लिए नै पिच्छे केवाईसी भर्ने झन्झट बेहोर्नु पर्दैन । एक पटक केवाईसी भरेपछि लगानीकर्ताले एउटा युनिक कोड पाउने छन् । र अर्को कुनै संस्थामा सेवा लिनु परे फेरि केवाईसी भरिरहनु पर्दैन । सोहि कोडले नै काम गर्ने छ ।कोडले निक्षेप सदस्य, धितोपत्र दलाल, लगानी व्यवस्थापक, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष व्यवस्थापक, र धितोपत्र बोर्डले तोकेको अन्य संस्था माझ काम गर्ने छ । सुरुमा यी संस्थाले सिडीएससीसनाग सीकेवाईसी सेवा दिनको लागि सम्झौता गर्नु पर्ने हुन्छ । सम्झौता गरिसकेका संस्थामा केवाईसी भर्दा एक कोड प्राप्त हुन्छ । हरेक व्यक्तिलाई फरक फरक कोड प्राप्त हुन्छ । कोडको फर्म्याट NP0909090000001 तय गरिएको छ । जसमा NP ले नेपाल भन्ने बुझाउछ र बाँकी रहेका अंकले हरेक व्यक्तिको युनिक आईडीको रुपमा काम गर्छ । सोहि कोडले नै अर्को ठाउमा काम गर्छ र फेरि केवाईसी भरिरहनु पर्ने छैन । उदाहहरणको यदि कुनै लगानीकर्ताले निक्षेप सदस्यकोमा गई खाता खोल्दा उसले एउटा कोड पाउछ । अब ब्रोकर खाताको खोल्नको लागि ब्रोकर कार्यालयमा जाँदा फेरि केवाईसी भर्ने झन्झट हुदैन । सोहि कोडले नै काम गर्छ । लगानी व्यवस्थापन सेवा लिन चाहँदा पनि फेरि अर्को केवाईसी भरिरहनु पर्दैन, कोडले नै काम गर्छ ।

सिडीएसका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालको लागि सीकेवाईसीको परिक्षणमा सहभागी भएका संस्थाले मात्र सीकेवाईसी सेवा दिनको लागि सिडीएससंग सम्झौता गरेका छन् । क्रमसः अन्य संस्था पनि आउने उनले बताए ।  निक्षेप सदस्य, धितोपत्र दलाल, लगानी व्यवस्थापक, मर्चेन्ट बैंकर, तथा सामूहिक लगानी कोष व्यवस्थापकले सिडीएससँग सीकेवाईसी सेवा संचालनको लागि सम्झौता गरेपछि मात्र लगानीकर्ताले ति निक्षेप सदस्य, धितोपत्र दलाल, लगानी व्यवस्थापक, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष व्यवस्थापकमा गई केवाईसी भरेर युनिक कोड प्राप्त गर्न सक्ने छन् । सिडीएसका अनुसार हालको लागि अनलाइन मार्फत सीकेवाईसी प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छैन । लगानीकर्ताले एक पटकको लागि आफु स्वयं नै उपस्थित भएर केवाईसी अपडेट गराउनु पर्छ । त्यसपछि भने कोडले नै काम गर्ने छ । 

सिडीएसले यसलाई अनिवार्य भने गरेको छैन । यदी कोहि लगानीकर्ताले सीकेवाईसी अन्तर्गतको युनिक कोड लिन चाहेमा सुरुमा सेवा लिन चाहेको संस्थाले सिडीएससंग सम्झौता गरेको हुनु पर्छ । ति संस्थाले सिस्टम इन्स्टल गर्न एक पटकको लागि १० हजार इन्स्टलेसन चार्ज तिर्नु पर्छ । लगानीकर्तासँग भने शुल्क लिइने छैन । 

केन्द्रीकृत बिद्युतीय ग्राहक पहिचान विवरण (केवाइसी) सेवा सम्बन्धी कार्य संचालन निर्देशिका, २०७७ मा सिडीएसले सेवा उपलब्ध गराए वापत न्यून सेवा शुल्क लिन सक्ने उल्लेख छ । निर्देशिकामा भनिएको छ ' सिडीएससीले विद्युतीय ग्राहक पहिचान विवरण सेवा प्रदान गर्दा शुल्क सम्बन्धमा न्यून हुनेगरी गर्नु पर्नेछ ।'

सीकेवाईसीको फाइदा 

सीकेवाईसी कार्यान्वयनमा आएपछि अहिले जस्तो लगानीकर्ताले सेवा लिए नै पिच्छे केवाईसी भर्ने झन्झट बेहोर्नु पर्दैन । एक पटक केवाईसी भरेपछि लगानीकर्ताले एउटा युनिक कोड पाउने छन् । र अर्को कुनै संस्थामा सेवा लिनु परे फेरि केवाईसी भरिरहनु पर्दैन । नेपाल धितोपत्र बोर्डले लाईसेन्स दिएका संस्थाहरुको सेवा लिंदा एक पटक कुनै एउटा संस्थामा केवाईसी भरेपछि अर्को पटक अर्को संस्थामा केवाईसी भर्नु पर्दैन । हालको लागि बैंक तथा वित्तीय संस्थाको हकमा यो सेवा उपलब्ध हुने छैन । यद्यपि निकट भविष्यमा बैंक तथा वित्तीय संस्थालाई पनि समेट्न सकिने सिडीएसले जनाएको छ । 

केवाईसीको सिस्टम बनाउने ठेक्का प्रोफेसनल कम्प्युटर सिस्टम (पिसिएस) ले पाएको हो ।  ११ कम्पनीले आशयपत्र पेश गरेकोमा आशयपत्रको मुल्यांकनको आधारमा ३ कम्पनीलाई सर्टलिस्ट गरि ति ३ मध्येबाट पिसिएसलाई छनौट गरिएको थियो । सर्टलिस्टमा प्रोफेसनल कम्प्युटर सिस्टम, वाईको प्रालि, र रेडीयन्ट इन्फोटेक नेपाल परेका थिए ।  

नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका,२०७७ स्वीकृत गरेपछि सोहि अनुसार  सीकेवाईसी तयार गरिएको हो । यसले लगानीकर्ताहरुलाई धितोपत्र बजार मार्फत प्राप्त हुने सेवा सुविधा तथा सोसंग सम्वन्धित प्रक्रियामा समसामयिक सुधार गरी थप सहज एवं छरितो बनाउने बोर्डको विश्वास छ।

सेवा सुरु भएपछि धितोपत्र वजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले एकै खालको विवरण धेरै ठाउँमा पेश गर्नु पर्ने झण्झटिलो व्यवस्थामा सुधार आई लगानीकर्तालाई धितोपत्र कारोवार प्रक्रियामा थप सहज एवं सरल हुने तथा समग्र धितोपत्र वजार प्रविधिमैत्री हँुदै गई बजार विकासमा समेत थप टेवा पुग्ने विश्वास रहेको छ । यो लागु भएपछि हाल भईरहेका मल्टीपल डिम्याट एकाउन्टको विवरण स्पष्ट खुल्ने छन्। साथै धितोपत्र बजारमा जहाँ जहाँ केवाईसी भर्नु पर्छ ति स्थानमा एउटै कोड अर्थात् आइडीले नै केवाईसीको काम गर्ने छ । 

प्रणालीको विशेषता 

१. प्रणालीमा ग्राहकको विद्युतीय व्यक्तिगत परिचय तथा विवरण, फोटो, औंठा छापको छायाचित्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि लगायतका ग्राहकको परिचय खुल्ने प्रमाणपत्र सहितको केवाइसी विवरण विद्युतीय रुपमा प्रविष्टि हुनेछ ।

२.  बिद्युतीय केवाइसी प्रणालीमा ग्राहक आफैँ वा घरैबाट केवाइसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत् विद्युतीय विवरण प्रविष्टि गर्न सकिनेछ ।

३. ग्राहकको व्यक्तिगत परिचय सहितको विवरण प्रमाणित गरे पश्चात् प्रणालीबाट पृथक केवाइसी आइडी प्राप्त हुनेछ ।

४. ग्राहकको नागरिकता प्रमाणपत्र वा जन्मदर्ता प्रमाणपत्रको आधारमा ग्राहकको विवरण दोहोरो प्रविष्टि नहुने गरी प्रणालीले प्रमाणिकरण गर्नेछ ।

५. ग्राहकको हितग्राही खाता खोल्नको लागि विद्युतीय केवाइसी प्रणालीलाई केन्द्रीय निक्षेप प्रणालीमा आवद्ध गरिनेछ ।

६. ग्राहकले धितोपत्र बजारमा कारोबार गर्न विद्युतीय केवाइसी प्रणालीलाई कारोबार प्रणाली लगायत अन्य निकायसंग आवद्ध गर्न सक्नेछ ।

७. विद्युतीय केवाइसीमा अभिलेख भएका विवरण आवश्यक प्रकृया पूरा गरी अन्य निकायले समेत प्रयोग गर्न सक्नेछ ।

८. हितग्राही खाताको विवरणको तथ्यांक शुद्धीकरण गरी एक व्यक्तिको एक भन्दा बढी हितग्राही खाता समेत यकीन हुने गरी पृथक केवाइसी आइडीप्रदान गर्न सक्नेछ ।

९. सिडिएससिले केवाइसी प्रविष्टि, केवाइसी संसोधन, केवाइसी डाउनलोडको अडिट लग तयार गर्नु पर्नेछ ।

१०. हितग्राही खातालाई केवाइसी आइडीसंग आवद्ध गर्न सक्नेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved