'धितोपत्र बोर्डलाई पनि सोधौ' भनेपछि नेप्से ३० इन्डेक्स कार्यान्वयनमा ढिलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2023 | 04:09:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेप्से ३० इन्डेक्सको आन्तरिक परिक्षण सुरु गरेपनि कार्यान्वयनमा जान भने ढिलाई हुने देखिएको छ । नेप्सेको असार २० गते बसेको संचालक समितिको निर्णय बमोजिम ३० कम्पनी छनौट गरेर नेप्से ३० इन्डेक्सको परिक्षण सुरु गरेको हो ।

संचालक समितिको बैठकले आन्तरिक परिक्षण गरेर नेप्से३० कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । संचालकहरु यसबारे नेपाल धितोपत्र बोर्डको बैठकको पनि राय सुझाव लिनु पर्छ भन्ने पक्षमा पुगेका थिए । सोहि अनुसार नेप्सेले असार २८ मै बोर्डलाई राय सुझावको लागि पत्राचार गरेको छ ।

तर यसमा बोर्डलाई पनि सामेल गराईएपछि नेप्से ३० को कार्यान्वयनमा ढिलो हुने नेप्से स्रोत बताउछन् । स्रोतका अनुसार यदि आन्तरिक परिक्षणपछि कार्यान्वयन गर्ने भनिएको भए एक वा २ साताको परिक्षणपछि नेप्से ३० लाई कार्यान्वयनमा लान सकिने थियो । त्यसो हुँदा साउनको दोस्रो सातामा नेप्से ३० आईसक्ने थियो । 

अब संचालक समितिले धितोपत्र बोर्डको पनि राय सुझाव चाहेकोले यो प्रक्रिया लम्बिएको स्रोतले बताएको छ । नेप्सेले बनाउनै पर्ने नीति, नियम, कार्यविधि, बिनियमावलीमा राय सुझाव माग्दा बोर्डले महिनौ लगाउने गरेकोले नेप्से ३० मा बोर्डले छिटो प्रतिक्रिया दिन्छ भन्नेमा नेप्सेका उच्च तहका कर्मचारी विश्वस्त देखिदैनन् । स्रोत भन्छ ' बोर्डले भनेर गरिएको काम वा नेप्सेले गर्नै काम त धितोपत्र बोर्डले महिनौ अड्काएर राख्छ, नेप्से ३० नेप्से को आफ्नै योजना हो, बोर्डले गर्नुपर्छ भनेर गरेको होइन, बोर्डले कहिले राय सुझाव दिन्छ भन्न सकिदैन' ।

बोर्डले राय सुझाव दिने क्रममा केहि परिमार्जन गर्नको लागि निर्देशन दिए  पनि नेप्से ३० कार्यान्वयनमा ढिलाई हुने देखिन्छ । सबै तयारी अवस्थामा नै रहेकोले नेप्सेको संचालक समितिले कार्यान्वयनमा लैजाने मिति तोकिदिएको भए अहिलेसम्म कार्यान्वयनमा गईसकेको हुने नेप्सेका कर्मचारी बताउछन् । तर संचालक समितिले आन्तरिक परिक्षण गर्ने र बोर्डको पनि राय सुझाव लिने भएपछि नेप्से ३० कार्यान्वयनमा ढिलाई हुने देखिएको छ ।

के हो नेप्से ३० ?

 नेप्सेले दोस्रो बजार कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकांकहरुको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्य अनुरुप बजारमा तत्काल कारोबारयोग्य ( Free Float) सेयरहरुलाई समावेश गरी बजार पुँजीकरणमा आधारित ( Value Weighted) सूचकांकको रुपमा नेप्से ३० इन्डेक्स तर्जुमा गर्न लागेको हो । यस सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, Exchange Traded Fund सञ्चालन लगायतमा सघाउ पुऱ्याउने अपेक्षा नेप्सेले राखेको छ । यसबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुन जाने विश्वास नेप्सेको छ।

नेप्से ३० इन्डेक्सले ३० वटा कम्पनीलाई समावेश गरेर एउटा छुट्टै इन्डेक्स बनाउने छ । कम्पनी छनौटको लागि विभिनन मापदण्ड समेत तोकेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved