आर्थिक वर्ष २०७९/८० मा नेपाल स्टक एक्सचेन्ज नेप्सेको ओटिसी प्लेटफर्म मार्फत ८४ कम्पनीको शेयर कारोबार भएको छ । नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुसार यस अवधिमा कुल ८४ कम्पनीको २ करोड १२ लाख ६४ हजार कित्ता शेयर कारोबार भएको हो ।
कुल २ अर्ब ८५ करोड ८४ लाख रुपैयाँको कारोबार भएको र यसबाट ५ करोड २९ लाख ५५ हजार ९ सय ८० रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ ।
यस अवधिमा नेप्से कै ५ लाख कित्ता बढी शेयर खरिद बिक्री भएको छ । नेपाल राष्ट्र बैंकले आफ्नो नाममा रहेको नेप्सेको ५ लाख ३ सय ४२ कित्ता शेयर राष्ट्रिय वाणिज्य बैंकलाई बेचेको हो ।
हालै आईपिओ जारी भएका शुभम पावर, र मेन्छियाम हाइड्रोको शेयर पनि ओटिसी बजार मार्फत कारोबार भएको छ । आईपिओ निष्काशन नहुँदै ति कम्पनीको शेयर कारोबार भएका हुन् ।
त्यस्तै हाल आईपिओ निष्काशन गरिरहेको हाथवे इन्भेष्टमेन्टको शेयर पनि ओटिसी बजारमा कारोबार भएको छ । कम्पनीको शेयर प्रति कित्ता ८६ रुपैयाँमा कारोबार भएको हो । कम्पनीको अंकित मूल्य ५० रुपैयाँ रहेको छ ।
त्यस्तै ओटिसी बजारमा प्रभु क्यापिटल, सिभिल क्यापिटल, र सिद्धार्थ क्यापिटलको पनि शेयर पनि कारोबार भएको छ ।
ओटिसी बजारमा कारोबार भएका मध्ये सबैभन्दा महँगो शेयर काठमाडौँ फोरेस्ट्री कलेजको रहेको छ । कम्पनीको शेयर प्रति कित्ता ११ सय २५ रुपैयाँमा कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेन्जले ओटिसीको अवधारणाको विकास गरी २०६४ साल देखी संचालनमा ल्याएको छ। २०७२ माघ १८ गते देखि कम्पनी रजिष्ट्रारको कार्यालयको सूचना अनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक शर्तहरु पुरा हुन नसकि सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको शेयरको कारोबार तथा नामसारी नेप्सेको ओटिसी बजार मार्फत कारोबार गर्न सकिने व्यवस्था रहेको छ । हाल सम्म जम्मा २०६ वटा कम्पनीहरु यस बजारमा दर्ता भइ कारोबार भएको छ ।
यहाँ क्लिक गरेर ओटिसी बजार मार्फत आ.व. २०७९/८० मा भएको कारोबार विवरण हेर्न सक्छ।