
गत वर्ष मर्ज भएका जीवन बीमा कम्पनीहरुको नाफा बढेको छ । मर्ज भएर आएका कम्पनीहरुले सार्वजनिक गरेको आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणमा खुद नाफा बढेको देखिएको छ ।
गत वर्ष ९ वटा कम्पनी मर्ज भएर ४ वटा बनेका थिए । यी कम्पनीले सर्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार उनीहरुको खुद नाफा २८.१५ प्रतिशतले वृद्धि भएको हो । मर्ज भएर बनेका ४ कम्पनीमध्ये ३ वटाको नाफा बढ्दा १ कम्पनीको खुद नाफा घटेको छ ।
सबैभन्दा धेरै खुद नाफा वृद्धि सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सको बढेको छ । सानिमा रिलायन्सको दोस्रो त्रैमाससम्ममा ९६.५१ प्रतिशतले खुद नाफा बढेको हो । दोस्रो त्रैमाससम्मका सानिमा रिलायन्सले २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको यस्तो नाफा ११ करोड १८ लाख रुपैयाँ रहेको थियो ।
त्यसैगरी, सुर्यज्योति लाईफ ईन्स्योरेन्सको खुद नाफ ६२.९५ प्रतिशतले बढेको छ । चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले २३ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै, प्रभु महालक्ष्मी लाईफको खुद नाफा ३६.११ प्रतिशतले बढेको छ । चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले यस्तो नाफा १२ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको थियो ।
यो अवधिमा हिमालयन लाईफ ईन्स्योरेन्सको भने नाफा घटेको देखिएको छ । हिमालयन लाईफको खुद नाफा ८.२५ प्रतिशतले घटेको हो । चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले ३७ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
प्रति शेयर आम्दानी
यस अवधिमा सबैभन्दा धेरै प्रति शेयर आम्दानी सानिमा रिलायन्सको रहेको छ । सानिमा रिलायन्सको ईपीएस १०.४ रुपैयाँ कायम रहेको छ । त्यसैगरी, सूर्यज्योतिको १०.४, प्रभु महालक्ष्मीको ८.२१ र हिमालयनको ८.६३ रुपैयाँ रहेको छ ।
नेट वर्थ
प्रति शेयर नेट वर्थमा सबैभन्द अगाडी सूर्यज्योति रहेको छ । सूर्यज्योतिको नेट वर्थ १६५.१५ रुपैयाँ रहेको छ । यस्तै, सानिमा रिलायन्सको १२५.४४, हिमालयन लाईफको १२३.१३ र प्रभु महालक्ष्मीको १२०.१ रुपैयाँ रहेको छ ।
हेर्नुस् कुनको अवस्था कस्तो?