
सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आगामी बुधबारसम्ममा शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।
क्यापिटल स्रोतका अनुसार आगामी आइतबार आईपीओको प्रि अलोटमेन्ट गर्ने तयारी छ। त्यसपछि धितोपत्र बोर्डमा आईपीओ बाँडफाँडको लागि स्वीकृति माग गरिने र बोर्डले अनुमति दिएमा बुधबारसम्म आईपीओ बाँडफाँड गर्ने क्यापिटलको तयारी छ । यो मिति एक दुई दिन तलमाथि हुन सक्ने क्यापिटलले जनाएको छ । यद्यपि अर्को साताको अन्त्यसम्म शेयर बाँडफाँड गरिसक्ने क्यापिटलले उल्लेख गरेको छ ।
सर्वोत्तम सिमेन्टको आईपीओमा माग भन्दा १९.३२ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन बुधबार साँझ ५ बजेसम्ममा १० लाख १२ हजार ३ सय ८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपैयाँ बराबरको आवेदन हो ।
कम्पनीले फागुन १३ गतेदेखि आज फागुन १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावितलाई शेयर बिक्री गर्दा बिक्री नभएको ६,८१,५३० कित्ता समेत जोडेर सर्वसाधारणलाई शेयर निष्काशन गरेको हो।
कम्पनीले यस अघि नै योग्य संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित र खानी प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि शेयर बाँडफाँड गरिसके छ । सर्वोत्तम सिमेन्ट बुक विल्डिंग विधिबाट शेयर निष्काशन गर्ने पहिलो कम्पनी बनेको छ। कम्पनीले सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ।