स्थानीय तहका लागि नयाँ कर्मचारी माग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2017 | 03:10:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सङ्घीय संरचनाअनुसारका स्थानीय तहमा सञ्चालनका लागि सामान्य प्रशासन मन्त्रालयसँग ३९० कर्मचारी माग गरेको छ।

सङ्घीय संरचनाअनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कार्यालय प्रमुख भई कार्यालय सञ्चालन गर्नका लागि ३९० जना कर्मचारी माग गरिएको मन्त्रालयका सहप्रवक्ता मदन कोइरालाले जानकारी दिए।

उनले अहिले भएका कर्मचारीले कार्यालय प्रमुख भई कार्यालय सञ्चालन गर्न नपुग भएकाले सामान्यसँग माग गरिएको बताए। अहिले स्थानीय तहका लागि मन्त्रालयसँग एक सहसचिव, ६३ उपसचिव र २९० शाखा अधिकृत रहेका छन् ।

स्थानीय मन्त्रालयका उपसचिव भरतकुमार शर्माका अनुसार माग गरिएका कर्मचारीमा सहसचिव तीन, उपसचिव १९६ र शाखा अधिकृत १९१ रहेका छन्। स्थानीय तहका लागि महानगरपालिकामा सहसचिव, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत रहने व्यवस्था छ।

उनका अनुसार नयाँ माग गरिएका कर्मचारीले आगामी बिहीबारदेखि स्थानीय तहमा नयाँ कार्यकारी प्रमुख नियुक्त हुनेछन्। उपसचिव शर्माले कार्यालय प्रमुख नभएका कार्यालयमा जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारीले अहिले भएकामध्ये वरिष्ठ कर्मचारीलाई कार्यालय सञ्चालन गर्नका लागि निमित्त तोकिएको जानकारी दिए।

सामान्य मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेले तत्काल कार्यालय सञ्चालन गर्न र निर्वाचनका लागि ७५ उपसचिव र २९० शाखा अधिकृत स्थानीय मन्त्रालयलाई दिइसकेको जानकारी दिए। उनले बाँकी रहेका तीन सहसचिव र १२१ उपसचिवका पनि एक÷दुई दिनमा पठाउने बताए।

नयाँ संरचनाअनुसार चार महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिका रहेका छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved