
नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेसँगै क्रिकेट समर्थकहरुले आफ्नो प्रतिक्रिया दिईरहेका छन् । प्रतिक्रिया दिने अधिकांश क्रिकेट समर्थकहरुले जर्सीमा रहेको झण्डालाई लिएर अशन्तुष्टी जनाईरहेका छन् ।
सोमबार खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ्ग, क्यानका सचिव समेत रहेका पूर्व कम्पतान पारस खड्काको उपस्थितिमा जर्सी सर्वजनिक भएको थियो। जर्सीमा प्रयोग गरिएको झण्डालाई लिएर आलोचकहरुले डिजाइन नै परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।
जर्सीमा नेपालको झण्डा गलत तरिकाले प्रयाग भएको क्रिकेट समर्थकहरु बताउछन्। नेपाली राष्ट्रिय झण्डालाई यसरी तल तिर झुकाएर राख्न नहुने उनीहरुको भनाई छ । अधिवक्ता स्वागत नेपाल पनि गलत प्रकारले झण्डाको चित्र प्रयोग गर्दा विश्वसामु हाम्रो झण्डाप्रति भ्रम फैलिने बताउछन्। 'सो जर्सी लगाएर नेपाली टिमले विश्वसामु खेल खेलिरहदा नेपालको असली झण्डा त्यस्तै हो भन्ने भ्रम फैलिन्छ ।’ उनी भन्छन् 'त्यसैले गलत ढगले झण्डाको चित्र प्रयोग गरिएको जर्सी प्रयोग गर्न हुँदैन ।’
उनले राष्ट्रिय गान, राष्ट्रिय झण्डाको प्रयोगका बारेमा स्पष्ट कानुनहरु भएको बताए । झण्डाको दूरुपयोग गर्नेलाई कारबाहीको व्यवस्था पनि कानुनले गरेको उनको भनाई छ । उनले अपराध संहिता १५१ मा राष्ट्रिय झण्डाको प्रयोग गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजार जरिवान समेत हुने व्यवस्था रहेको बताए ।
क्यानको प्रष्टीकरण
आलोचना भए पनि क्यानले भने झण्डाको सो जर्सीमा झण्डाको सहि ठाउँमा सहि तरिकाले राखिएको जिकिर गरेको छ । क्यानका सचिव पारस खड्काले विगतका जर्सीहरुमा भए जसरी नै यसपटक पनि झण्डा राखिएको बताए । उनले भने 'विगतका जर्सीहरुमा पनि त्यसैगरी झण्डा राखिएको छ । त्यसबेला कसैले केहि भन्नुभएन ।’
उनले अहिले भईरहेको आलोचनालाई फुर्सदको गफको संज्ञा दिएका छन् । खड्काले बिजपाटीसँग कुरा गर्दै भने 'यो सब फुर्सदको गफ हो । यो ठूलो इन्स्यु होइन । विगतमा पनि त्यसैगरी झण्डा राखिन्थ्यो ।’
उनले प्रश्न गर्दै भने 'खेलाडीले लगाउने क्यापमा झण्डा राखिएको हुन्छ, बल टिप्दा त्यो झण्डा तल झुक्यो भनेर आलोचना गर्न मिल्छ? यो पनि त्यस्तै हो । आलोचना गर्ने विषय होईन ।’
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि जर्सीमा त्यस्तो गुनासो गर्ने कुनै विषय नभएको बताए। खेलाडीहरूले काँधमा राष्ट्रको जिम्मेवारी बोकेर खेल्ने हो भन्ने सन्देश दिन खोजिएको उनले बताए । यसलाई अन्यथा नलिन पनि उनले आग्रह गरेका छन्।