
 2mb (1).gif)
इन्टरनेट सेवा प्रदायकहरुले अबदेखि सेवाअनुसार फरक फरक बिल काट्नुपर्ने भएको छ। इन्टरनेट, टिभी तथा राउटर लगायतका सुविधाहरु जोडेर एकमुष्ट प्याकेज बनाएर सेवा प्रदान गर्नु गैरकानुनी हुने भएकाले यस्तो निर्देशन दीइएको नेपाल दुरसंचार प्राधिकरणले जनाएको छ।
एकमुष्ट प्याकेज बनाएर केहि सेवा निशुल्क समेत प्रदान गर्नेगरि बन्डलिङ गर्नु गैरकानुनी हुने तथा यसरी बन्डलिङ तथा क्रस सब्सिडी गर्न नहुने अनुमति शर्तको मर्म विपरित हुने भएकाले यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दीइएको प्राधिकरणले जनाएको छ।
"इन्टरनेट सेवा प्रदायकले इन्टरनेट र टिभी सेवा समेत संयुक्त रुपमा संचालन तथा बिक्रि गरेको पाइएकाले कुनै सेवा प्रदायकले दुवै सेवा संयुक्त रुपमा संचालन गरिरहेको भए ग्राहकसंग शुल्क लिने क्रममा बिजक जारि गर्दा सेवा प्रकृतिको आधारमा इन्टरनेट र टिभी सेवा लगायत अन्य प्रकृतिको छुट्टाछुट्टै बिजक जारी गर्नुपर्ने छ" प्राधिकरणले दिएको निर्देशनमा उल्लेख छ।
यस निर्देशनअनुसार अबदेखि इन्टरनेट सेवा प्रदायकले इन्टरनेट, टिभी, राउटर जडान, मर्मत सम्भार लगायत ग्राहकलाई जुन जुन सेवा दिने हो त्यो स्पष्ट रुपमा खुलाउनुपर्ने र सेवा अनुसार अलग अलग रुपमा बिल काट्नुपर्ने भएको छ।
"सबै सेवालाई एउटा प्याकेज बनाएर एकै बिलमा त्यो शुल्क काट्ने गर्दा धेरै गोलमटोल भयो" प्राधिकरणका एक कर्मचारीले भने, "एकातर्फ सेवाग्राहीले आफुले के के सेवा पाइरहेको छु भन्ने स्पष्ट नहुने, अर्को तर्फ राज्यले कुन कुन सेवाबाट कति राजश्व उठाएको छ भन्ने तथ्यांक राख्न गाह्रो हुने, त्यहि भएर यो निर्देशन दीइएको हो।"
बजारमा आईपीटिभी र राउटर निःशुल्क दिन नपाउने भन्ने निर्देशन दियो भन्ने आएपछि त्यस्तो नभएको उनले बताए। "हामीले सबै सेवालाई एकै प्याकेज बनाएर नदेउ, जुन जुन सेवा हो त्यो सबै स्पष्ट खुलाउ र सेवा अनुसार अलग अलग बिल काट भनेको हो तर आईपीटिभी र राउटर निःशुल्क दिन नपाउने भनेका होइनौं। "