सगरमाथा आरोहरणको सिजन सकिएको छ । बसन्त ऋतुका लागि खुला गरिएको आरोहणको सिजन सकिएको हो । वैशाख ३१ देखि जेठ १३ सम्म खुला रहेको आरोहण अवधिमा ४ सयभन्दा धेरै आरोहीले सगरमाथाको चुचुरोमा पाईला टेकेका छन् । यी आरोहीबाट ३६ करोड १५ लाख रोयल्टी संकलन भएको छ ।
सगरमाथा आरोहणको क्रममा यसवर्ष धेरैले ज्यान गुमाए । सगरमाथा आरोहणका क्रममा गत वर्ष ६ जनाले ज्यान गुमाएकोमा यो बर्ष १० जनाको मृत्यु भएको छ । पर्यटन विभागले बाटो फराकिलो बनाएको र ट्राफिक जाम हुन नदिन सर्तकता अपानाएको जनाएपनि यति धेरै आरोहीको मृत्यु हुदा के कारणले मृत्यु भएको हो भनेर छानबिनको सुरुवात भएको छैन ।
चौथो शिविरबाट एकैपटक धेरै आरोही उकालो लाग्दा ट्राफिक जाम भएका कारण धेरैको मृत्यु भएको भनिएपनि पर्यटन विभाग यो भनाईमा सहमत छैन । विभागले हाइअल्टिच्युडका कारण आरोहीको निधन भएको बताएको छ ।
विभागका महानिर्देशक डन्डुराज घिमिरे ट्राफिक जामका कारण आरोहीको मृत्यु भएको हो भन्ने तर्क गलत भएको बताउँछन् । उनले सगरमाथामा यसवर्ष ट्राफिक कम कम भएको बताएका छन् । ‘ट्राफिक जामका कारण आरोहीको मृत्यु भयो भन्नु गलत हो, यसवर्ष सगरमाथामा ट्राफिक जाम छैन, किनकी २०१७ मा भन्दा यो वर्ष जम्मा ९ जना मात्र बढीले अनुमति पाएका हुन्’ महानिर्देशक घिमिरेले भने ।
यसबर्ष बाटो समेत फराकिलो बनाईएको बताउँदै उनले विगतमा ५ सयको दरमा आरोही हुने भएपनि यसबर्ष ६ सयको दरमा बढेको कारण केही चाप भने बढेको बताए । मौसमका कारण मे २१, २२ र २३ मा आरोहणको प्रेसर खलि बढी नै परेको देखिन्छ ।
विभागका महानिर्देशक घिमिरेका अनुसार सगरमाथामा निधन भएका १० जना मध्ये ६ जनाको लेक लागेर मृत्यु भएको हो । एकजनाले सगरमाथाको बाल्कोनीबाट हाम्फालेको, एक जनाको टेन्टभित्रै सुतेको अवस्थामा मृत्यु भएको र अर्का एक भने बेहोस भएका थिए । बेहोस् भएका उनको पनि मृत्यु भएको हो ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामा पनि सगरमाथा चढ्न गएकाको संख्याको तुलनामा निधन भएकाको संख्या धेरे नभएको बताउँछन् । ट्राफिक जामका कारण मृत्यु भएको भन्ने प्रचार गलत भएको उनको दाबी छ । जति नै जाम भएपनि अक्सिजन साथमा बोकेको हुने हुँदा जामका कारण निधन नहुने उनको दाबी छ ।
‘तीन घण्टा चार घण्टाको लागि पुग्ने अक्सिजन त साथमा हुनुपर्यो नि’ उनले भने, ‘शारिरीक रुपमा कमजोर र आत्मबल पनि कमजोर भएकाहरुको मृत्यु भएको पाईन्छ ।’ उनले पहिलोपटक आरोहण गएका र हतोत्साहित भएकाहरुको मृत्यु हुने गरेको बताए ।