सरकारले ‘भर्जिन हिमाल’ आरोहण गर्नेहरुलाई रोयल्टी छुट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले आरोहण खुल्ला भएपनि हालसम्म मानव पाइला नपुगेका ३३ हिमालका लागि रोयल्टी छुटको सिफारिस गरेको छ ।
‘आरोहण खुल्ला गरिएपनि आरोहण नभएका हिमालमा शत प्रतिशत रोयल्टी छूटको व्यवस्था गर्नका लागि मन्त्रालयमा सिफारिस पठाएका छौं’, विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने । पर्यटन विभागका अनुसार हाल ४१४ हिमाल आरोहणका लागि खुला छन् । यीमध्ये ८५ वटा हिमालमा अझै मानव पाइला पुगेको छैन भने ३२९ हिमालका चुचुरोमा मानव पाईला पुगेको छ ।
हालसम्म सबैभन्दा धेरै मानव पाइला पुगेको चुचुरो सगरमाथा हो । सगरमाथामा हालसम्म ५ हजार ८६४ जना आरोहीले चुचुरोमा पाइला राखिसकेका छन् ।